दुर्घटना न्यूनीकरण नयाँ अभियान

0
437

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दुर्घटना न्यूनीकरणका लागि शुक्रबारबाट नयाँ अभियान शुरु गरेको छ । ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको पाइए चालकलाई ट्राफिक प्रहरीले दुई घण्टासम्म सचेतना कक्षा लिएर छाड्ने अभियानको लक्ष्य दुर्घटना न्यूनीकरण गर्नुरहेको बताइएको छ । त्यसो त झापामा यसअघि पनि दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गर्दै सवारी चालक, सडक प्रयोगकर्ता, विद्यार्थीहरुलाई विशेष सचेतना प्रदान गर्दै आइएको छ । यस बाहेक ट्राफिक प्रहरीले नियमित कार्यक्रम अनुसार मुख्य सडकमै छड्के चेकजाँच गरेर सडक नियम उल्लंघनकर्तालाई दण्डित गर्दै आएको छ । तर, पनि दुर्घटना न्यूनीकरण भइरहेको छैन । यसै सन्दर्भमा ट्राफिक प्रहरी कार्यालय झापाले शुरु गरेको अभियानको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी छवि रिजालले सानो लापरवाहीले अकालमा ज्यान गुमाउनु परिरहेको सन्दर्भप्रति सचेत हुन सबैलाई अनुरोध गरे ।

सवारी चाप हुने मुख्य सडकहरुमा ट्राफिक प्रहरीले नियमित चेकजाँच गरिरहेकै छ । आर्थिक दण्ड लिएर छाडिने गरेको विगतको परिपाटीभन्दा यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्दा दुई घण्टासम्म ट्राफिक प्रहरीको सचेतना कक्षामा अनिवार्य बस्नुपर्ने व्यवस्थाले राजधानी काठमाडौंमा दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याएको बताइन्छ । हुन त सवारी चालकले नै बढी सचेत र जिम्मेवार बन्नुपर्ने हो, तर हामीकहाँ कोही कसैको नियन्त्रणमा नरहने र पैसा, पद र पहुँचका भरमा जस्तोसुकै अपराध पनि क्षम्य हुने कुसंस्कृति बलियो बन्दै गएको छ । दुर्घटनाका कारण अमूल्य जीवन गुम्ने र त्यसको असर उसको परिवार, समाज र राष्ट्रलाई नै पर्छ भन्ने सत्य सबैले अनुभूत नगर्ने हो भने सवारी दुर्घटनाको भयावहता कम गर्न सकिन्नँ ।

नेपालमा सवारी दुर्घटनाबाट मात्रै वर्षेनि तीन अर्बभन्दा बढी आर्थिक क्षति हुने गरेको छ । यो क्षतिलाई कुनै माध्यम वा तरिकाले कम गर्न वा भरपाई गर्न सकिएला, तर कुनै व्यक्तिको मरणबाट हुने क्षतिलाई कुनै वस्तु, सेवा वा उपायले पूर्ण गर्न सकिँदैन । त्यसैले दुर्घटनाबाट हुने क्षतिलाई अनुभूत गरेर आत्मचिन्तन र सुरक्षित व्यवहार गर्नुको विकल्प छैन । होला सडक दुर्घटनाका पछि हाम्रा सडकको अवस्था जिम्मेवार होला, हाम्रो अज्ञानता वा अति आत्मविश्वास अथवा टार्न नसकिने भवितव्य पनि जिम्मेवार हुनसक्छ । तर, यी सबैभन्दा महत्वपूर्ण विषय हो स्वयम्को सचेतता । मादकपदार्थ सेवन गर्ने प्रवृत्ति, अनुमति पत्र बिनै चालक बन्ने र उमेर नपुगेकालाई सवारी दिने व्यवहार र भनसुनको कुसंस्कृतिले दुर्घटना न्यूनीकरण हुन सकिरहेको छैन । यस्तोमा कम जनशक्तिका बावजुद ट्राफिक प्रहरीको यो अभियान सडक सञ्जालको विकाससँगै ग्रामीण क्षेत्रसम्म पु¥याउन जरुरी छ । अहिलेलाई कम्तीमा मुख्य सडकहरु केन्द्रीत हुन सक्यो भने पनि सडकमा दिनहुँ भइरहेका सवारी दुर्घटना कम गर्न र अकाल मृत्युलाई रोक्न सहायक बन्न सक्छ । यसका लागि सरकारले ट्राफिक प्रहरीमा जनशक्ति समेत बढाउन ध्यान दिनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here