झापाका गाउँपालिकामा कस्तो बजेट बन्दैछ ?

0
270

बिर्तामोड ।

स्थानीय तहको निर्वाचन सम्पन्नसँगै नवनिर्वाचित जनप्रतिनिधिलाई बजेट बनाउन भ्याइनभ्याई छ । आर्थिक वर्ष २०७९/०८०का लागि नवनिर्वाचित जनप्रतिनिधिले बजेटको सिलिङ बनाइरहेका छन् । वडागत रुपमा त्यहाँका समस्या र प्राथमिकतालाई पहिचान गर्दै बजेटको सिलिङ तयार गरिरहेको गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

टोलबाट वडा हुँदै पालिकासम्म कार्यक्रमको सिलिङ आउने क्रम भइरहेको छ– बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले भने– वडाले पठाएको सिलिङका आधारमा बजेट बनाउँछौं । स्थानीय तहले असार १० गते बजेट ल्याउनैपर्ने कानूनी प्रावधान रहेको छ । सोही अनुसार झापाका १५ वटै स्थानीय तहले बजेटको खाका तयार गरिरहेका छन् ।

झापाका १५ वटा स्थानीय तहमध्ये ७ गाँउपालिकाका अध्यक्षलाई बजेटको विषयमा पूर्वाञ्चलकर्मीले सोधेको प्रश्नमा उनीहरु भन्छन्– अब आउने बजेट जनप्रिय र किसान लक्षित हुनेछ । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष प्रसाईंले बुद्धशान्ति गाउँपालिकामा प्राविधिक कलेज स्थापना गर्ने बताएका छन् । बहुवर्षीय योजनामा समावेश हुने गरी प्राविधिक कलेज स्थापनाका लागि छलफल भइरहेको छ– प्रसाईले भने– कृषि, स्वास्थ्य र शिक्षालाई समेत विशेष महत्वका साथ हामीले हेरेका छौं । बुद्धशान्ति–३मा निर्माण भइरहेको भगीरथा अस्पताललाई भेन्टिलेटरसहितको सुविधासम्पन्न अस्पताल बनाउँछौं ।

उता कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्र्रसाद सिंह राजवंशीले कृषिलाई प्राथमिकता दिँदै बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । यो बजेटमा कृषि विमालाई प्राथमिकतामा राखिएको छ– अध्यक्ष राजवंशीले भने– कृषि बिमा गाँउपालिकाले निःशुल्क गरिदिन्छ । बिमाको पहुँच सबैमा पु¥याउन हामीले यो अभियान शुरु गर्न लागेका हौं ।

कृषिसँगै स्वास्थ्य बिमालाई पनि प्राथमिकतामा राखिएको अध्यक्ष राजवंशीको भनाइ छ । विपन्न सबै नागरिकको बिमा गर्ने यानेजनाका साथ बजेट बनाउँदैछौं । अध्यक्ष राजवंशीले भने– यहाँका स्वास्थ्य संस्थाको स्तरोन्नतिसँगै पालिकाको आवश्यकतालाई हेर्दै अघि बढेका छौं ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले किसानलाई राहतसहितका कार्यक्रम सञ्चालन गरिने बताएका छन् । झापा गाउँपालिकामा पनि कृषिलाई नै प्राथमिकतामा राखेर बजेटको तयारी गरिएको छ । कृषकलाई अनुदानका कार्यक्रमसँगै युवा र महिलालाई स्वरोजगार बनाउने अध्यक्ष साहले बताए । पुराना कार्यक्रमले निरन्तरता पाउँछन्–अध्यक्ष साहले भने– सातवटै वडामा मुख्य सडक जोड्ने गरिको शाखा सडक कालोपत्रे गर्छौं । विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय भर्ना गर्दै शैक्षिक सुधारका कार्यक्रम ल्याउँछौं– अध्यक्ष साहले भने ।

बाह्रदशी गाँउपालिकाले कक्षा १२ सम्म निःशुल्क पढाउने तयारी थालेको छ । साउन १ गतेदेखि गाउँपालिकामा एमबीबीएस डाक्टरको सुविधा रहने ब्यवस्था मिलाउँछौं– गाउँपालिकाका अध्यक्ष देबिन्द्र चौलागाँईले भने– कृषि, स्वास्थ्य र शिक्षा नै गाउँपालिकाको पहिलो प्राथमिकता हो ।

सबै गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गर्छाैं । सुत्केरी महिलालाई पोषणयुक्त आहारको व्यवस्था गर्छाैं, स्वास्थ्य संस्थामा एक्स–रेको ब्यवस्थापन गर्छौं– अध्यक्ष चौलागाँईले भने अशक्त, ज्येष्ठ नागरिक र वृद्धवृद्धाको उपचारमा विशेष ध्यान दिन्छौं । यसै आर्थिक वर्षबाट गाउँपालिकाको छुट्टै भवन बनाउनका लागि बजेटको तयारी गरिरहेका छौं ।

यता गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलमती राजवंशीले गौरीगञ्जबासीको आवश्यकतालाई मध्यनजर गर्दै बजेट ल्याउने बताएकी छन् । गाउँपालिकाको सीमित स्रोत र साधनमा रहेर बजेट ल्याउने तयारी भइरहेको उनको भनाइ छ । उनले पुराना कार्यक्रमले निरन्तरता पाउने बताइन् ।

हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले पुरानै कार्यक्रमले निरन्तरता पाउने बताएका छन् । उनले पूर्वाधारको विकाससँगै यसपटक घरभेट कार्यक्रमलाई जोड्ने बताएका छन् । घरभेट कार्यक्रम अन्तर्गत रोगी, अशक्त र ज्येष्ठ नागरिकलाई घर–घरमै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमभित्र पर्छन्– अध्यक्ष लिङ्देनले भने– सुत्केरी महिलालाई भत्ताको व्यवस्था गर्छाैं ।

अध्यक्ष लिङ्देनले कक्षा १२ सम्म निःशुल्क व्यवस्थाले निरन्तरता पाउने, जनता उपचार कोषमार्फत पु¥याइँदै आएको स्वास्थ्य सेवालाई निरन्तरता दिइने, पशु सुत्ेकरी भत्ता कार्यक्रमले निरन्तरता पाउने, प्राविधिक शिक्षा अध्ययनका लागि अघिल्लोपटक नै ल्याइएको कार्यक्रमले निरन्तरता पाउने बताए ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईले किसानमुखी कार्यक्रम सञ्चालनका लागि बजेटको तयारी गरिरहेको बताए । उनले समृद्ध कमल निर्माणमा सबै जनप्रतिनिधि एक हुने र पूर्वाधारको विकासलाई समेत निरन्तरता दिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here