नेपालमा नेताहरू किन जनताबाट छुट्टिन्छन् ?

0
314

श्रमप्रति सम्मान गर्ने र श्रमलाई जीवनको अभिन्न अङ्ग बनाउने जनशक्ति उत्पादन गर्ने हाम्रो देशको शिक्षाको राष्ट्रिय उद्देश्य रहेको छ, तर शारीरिक श्रमप्रति अहिले पनि नेपाली समाजमा अपेक्षित सम्मान र आदरभाव छैन । भन्न सकिन्छ– यसैकारण नयाँ पुस्तामा पनि श्रमबाट अलगथलग हुने र भरसक काम नगर्न पाए हुन्थ्यो भन्ने भावनाको विकास भइरहेको छ । हाम्रा विद्यालय, महाविद्यालय र विश्वविद्यालयले सैद्धान्तिक रूपमा सबै प्रकारका श्रमप्रति आस्थावान नागरिक तयार गर्ने वाचा गरेका छन्, तर यथार्थमा त्यसो हुन सकेको छैन । हामी ठूलो रुख देख्दछौं, तर रुख हुनका लागि त्यसले गरेको संघर्ष, आँधीहुरी, शीत र घामसँग जुधेको पृष्ठभूमि हामी सम्झन्नौं । मानिस शिखरमा पुगेको मात्र देखिन्छ, मानिसको सफलता मात्र देखाइन्छ, सुख प्राप्तिका लागि उसको पृष्ठभूमिको वर्णन कमै हुन्छ ।

सफलता प्राप्त गर्न मानिसले जीवनमा ठूलो संघर्ष गरेको हुन्छ । आमसञ्चार क्षेत्र र हाम्रो समाजले पनि सामुन्नेका मात्रै देख्ने गरेको छ । हामीले श्रम गरेर मात्र दुनियाँ बदल्न सकिन्छ भन्ने सच्चाइलाई आधारभूत रूपमै बुझाउन सकेका छैनौं । दोस्रो विश्वयुद्धको विभिषिकाको सबैभन्दा ठूलो मार खेपेको जापान आज विज्ञान र प्रविधिको क्षेत्रमा आश्चर्यजनक प्रगति गर्दै संसारकै सबभन्दा ठूलो दाताराष्ट्रको रूपमा स्थापित हुन सफल बनेकोे छ । यसमा सबभन्दा ठूलो भूमिका श्रमप्रतिको सम्मान रहेको छ । जापानीहरू सबैभन्दा बढी माया आफ्नो मातृभूमिलाई गर्छन् र आफ्नो कामलाई गर्छन् । श्रमप्रतिको सम्मान गर्नेमा सबैभन्दा अगाडि जापानीहरू नै पर्दछन् सायद । शताब्दियौंदेखि वैदेशिक प्रभुत्वको प्रत्यक्ष–परोक्ष शोषणमा रहेको चीन आज विश्वशक्ति हुने बाटोमा छ । राष्ट्रप्रतिको ममता र श्रमप्रतिको सम्मानका कारण यो प्रगति सम्भव भएको हो ।

नेपालको कुरा गर्दा आज ठूलो जनशक्ति श्रमको विश्वबजारमा छ र वैदेशिक रोजगारमा जानेलाई श्रमको महत्व थाह भइसकेको छ । नेपालका पढे÷लेखेका मानिसहरू उत्पादनका कामसँग गाँसिनु हुँदैन भन्ने सोचाइ छ । यो मानसिकतालाई खण्डन गर्न सक्नुपर्छ । श्रमप्रतिको सम्मानले नै आमजनतामा सकारात्मक सन्देश दिन सफल हुने निश्चित छ । हरेक सक्षम नागरिकले श्रमसँग गाँसिने नीतिको शुरुवात हुन आवश्यक छ । नेपालमा राजनीतिक दलका उपल्लो तहमा रहेका नेतागण हिजो जनताका बुकुरा र झोपडीमा बस्दा जनताका घरखेतका काम गरिदिने गर्दथे, तर ती नेता आज श्रमसँग गाँसिरहेक छन् ? राजनीति लगायत हरेक क्षेत्रका नेतृत्वले शारीरिक श्रमसँग जोडिनुपर्ने दिशामा कदम चालिनु आवश्यक छ ।

शारीरिक, मानसिक तथा बौद्धिक श्रमबाट अलग गरेर बौद्धिक बिलासितामा मात्र रम्ने हो भने कुलीन बुद्धिजीवी हुने बाटोमा लागिन्छ । आज धेरैजसो शिक्षित र चेतनशील नेपालीहरू श्रमबाट अलग बसेर कथनीमा मात्र श्रमप्रति आस्थावान देखिन चाहन्छन् । देखावटी मुखौटो लगाएर हाम्रा राजनीतिक दलका नेतृत्वहरू, सामाजिक संघ–संस्थाका अगुवाहरू, विद्यालय र महाविद्यालयका शिक्षक र प्राध्यापकहरूको ठूलो हिस्सा शारीरिक श्रमबाट पृथक रहेर कुरा मात्र गर्ने एकलकाँटे संस्कृतिको पक्षपोषण गरिरहेछन् । श्रम र श्रमिकप्रति अनादर र अपहेलना गर्ने संस्कृति सामन्तवादी दासताको संस्कृति हो । व्यक्ति, व्यक्तिहरूको समूह र समाजले परम्पराकालदेखि अभ्यास गर्दै आएका मूल्य–मान्यताहरूको समुच्च रुप नै संस्कृति हो । श्रमप्रतिको आस्था भन्नु नै काम गर्ने संस्कृतिप्रतिको सम्मान हो ।

व्यवसायिक संघ–संस्था तथा व्यापारिक प्रतिष्ठानमा काम गर्ने संस्कृतिको सार्थक प्रयोगबाट मात्रै ती संस्थाहरूको प्रगति सम्भव छ । समाज निरन्तर परिवर्तनशील छ । भौतिक वस्तु तथा समाजमा हुने परिवर्तनशीलता सार्वभौम सच्चाइ हो । स्थापित सकारात्मक मान्यताहरूलाई पुरै बिर्सने र परिवर्तनलाई पुरै नकार्ने दुबै प्रवृत्तिहरू गलत हुन् । काम गर्ने संस्कृतिको रक्षा र विकास गर्न विगत र वर्तमानका असल मूल्य–मान्यताहरूलाई निरन्तरता दिनुपर्छ भने श्रमप्रतिको अनादरभाव हटाउन समाजका अगुवाहरू नै उदाहरणीय बन्नुपर्छ । प्रश्न उठ्छ– हाम्रो देशका कति प्रतिशत नेतृत्वमा रहने अगुवाहरू शारीरिक श्रम गर्छन् ? यसको सोझो उत्तर छ– नेपालका अत्यन्तै न्यून प्रतिशत नेताहरू शारीरिक श्रम गर्छन् । शारीरिक श्रमप्रतिको उपेक्षाले उनीहरु क्रमशः श्रम विरोधी र श्रमिक विरोधी हुन्छन् । शक्तिकेन्द्रको चाकरी–चाप्लुसी गर्ने र अरुको पसिनामा ढलीमली गर्ने प्राडो–पजेरो र महल संस्कृतिको हिमायती बन्छन् ।

जनतासँगको सहकार्य र घनिष्ठताबाट टाढिँदै जान्छन् श्रमप्रति सम्मान नगर्ने नेताहरू । अरुको रगत पसिनामा रजाइँ गर्ने ठालु प्रवृत्तिमा बढोत्तरी हुँदै जान्छ समाजभित्र, दलहरूभित्र र राज्यका महत्वपूर्ण निकायहरूभित्र । हिलोमा भैंसी आहाल बसे झैं हाम्रा नेताहरू सदैव अर्काले गरिदिएर खाउँला भन्दै दलदले भासमा चुर्लुम्म डुबेका छन् । चे ग्वेभारा, अल्बर्ट आइन्स्टाइन, अब्राहम लिङ्कन, महात्मा गान्धी जस्ता श्रमप्रति उच्च सम्मान प्रकट गर्ने र आफ्नै जीवनमा समेत लागू गर्ने सादा जीवन र महान विचारका महामानवहरूका आदर्श पथ हामीले पछ्याउन जरुरी छ । श्रम गरेर मात्र खानुपर्छ भन्ने कुरा बुझ्ने हो भने आजको दुनियाँ स्वार्थी, अविवेकी र पापी हुने थिएन ।

दोष निरक्षर र अशिक्षितहरुको होइन, दोष त तथाकथित चेतनशील समाज हाँक्ने अगुवाहरुको हो । साँचो अर्थमा काम गर्ने संस्कृतिको बढोत्तरी हुनु भनेको श्रमप्रति आस्थावान हुनु र व्यवहारमा श्रमप्रति सम्मान बढ्दै जानु हो । एउटा सरकारी वा गैरसरकारी संस्थाका प्रमुख मितव्ययी छन् र मुखले श्रमप्रति सम्मान प्रकट गर्छन् । तर, आफू भने अल्छी र स्वार्थी छन् भने उनीबाट मातहतमा रहेकाहरुले के आशा गर्न सक्छन् ? मानसिक र बौद्धिकका साथसाथै शारीरिक श्रममा निरन्तर संलग्न हुँदै चालक शक्तिको रुपमा उभिन सकेमात्र आफू र समाज दुबै रुपान्तरण हुनसक्छ । श्रमसँग गाँसिने संस्कृति हामीले विकास गर्न जरुरी छ । श्रमप्रति आदरभाव राख्नु भनेको दासता होइन, यो न त आरामदायक सुरक्षित कोठामा बसेर स्वतन्त्रता प्राप्त गर्न लडेको कथाको वर्णन नै हो ।

हामी चाहन्छौं– सबै श्रमसँग जोडिउन् । सबैले काम गर्ने संस्कृतिको विकास हुन सकोस् । श्रम नगरी कसैले बाँच्ने कल्पनासम्म पनि नगरोस् । अरुको पसिनामा राज गर्ने चलनको अन्त्य होस् । तर, समाजका चालकहरुको ठूलो संख्या निरन्तर कामचोर र आत्मकेन्द्रित हुँदै गएको छ । सबभन्दा पहिलो कुरा समाज र राज्यका संवाहकहरु अरुको नजरमा उदाहरणीय बन्नुपर्छ । झुप्रो र कटेरोभित्र बसेर क्रान्तिका प्रशिक्षण दिने ठूला नेताहरु मन्त्री बनेपछि श्रमप्रति घृणा गर्दै राजधानीमा आलिसान महलमा बसेर आफ्नो विगतका दुःखका दिनहरु बिर्सन्छन् ।

श्रम र श्रमिकबाट कटेपछि उनीहरु क्रान्तिका यथार्थ सपनाबाट विचलित हुन्छन् । अनि शुरु हुन्छ प्रतिक्रान्ति । श्रमसँग जोडिएर र श्रमप्रति आदरसम्मानको भाव राखेपछि मात्र समाजले गति लिन्छ । मन्त्री भएपछि पनि निरन्तर आम मजदुरहरुसँगै शारीरिक श्रम गर्ने चे ग्वाभाराबाट हामीले शिक्षा लिन अत्यन्तै जरुरी छ । अनि जरुरी छ– नेपाली समाजलाई श्रमप्रति आदर गर्ने र काम गर्ने संस्कृति भएको सभ्य समाजको रुपमा विकास गर्न । विकास र सभ्यताको मूल आधार श्रमप्रतिको सम्मान हो र सदियौंदेखि जरा गाडेर बसेको श्रमलाई अनादर गर्ने परिपाटीको अन्त्य हुन आवश्यक छ । क्रान्ति र स्वतन्त्रताका उक्तिहरु घोकेर श्रमप्रति सम्मान गरेको ढोल पिट्नु जस्तो ढोंग के हुन सक्छ ?

आफ्नो श्रमको अर्थ बुझ्ने र अरुको श्रमको आदर गर्ने परिपाटीको विकास गर्नु अत्यावश्यक छ । सकारात्मक सोच र सो अनुसारका क्रियाकलापहरु व्यक्तिबाट समाज र समाजबाट देश हुँदै विश्वव्यापकतातर्फ उन्मुख हुन्छन् । हामीलाई गधा र भेडा जस्ता अन्धानुकरण गर्ने दास श्रमिकहरु होइन, जाग्रत चेतना बोकेका आलोचनात्मक दृष्टिकोण भएका श्रमिकहरु चाहिएको हो । हाम्रो नेतृत्व लम्पट सर्वहारा होइनन् । हामीलाई त निस्वार्थी र श्रमप्रति आस्थावान राजनीतिक अगुवाहरू चाहिएको छ । समाजमा विद्यमान तनाव र अस्थीरता हटाउने अचुक उपाय भनेको हरेकलाई श्रमसँग जोड्नु हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here