गृहमन्त्री गुरुङको राजीनामा, छानबिनको माग

0
1

झापा । गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको आरोप खेपिरहेका उनले बुधबार प्रधानमन्त्री बालेन्द्र शाह समक्ष राजीनामा बुझाएका हुन्।

गुरुङले सामाजिक सञ्जालमार्फत राजीनामाको जानकारी सार्वजनिक गर्दै आफूमाथि उठेका प्रश्नलाई गम्भीर रूपमा लिएको बताएका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो,” उनले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पदबाट अलग भएको हुँ।”

उनी नियुक्त भएको दिनमै मन्त्रिपरिषद्मा गृहमन्त्री बनेका थिए। प्रारम्भिक चरणमा उच्च पदस्थ कर्मचारीमाथि कारबाही गरेर चर्चा कमाएका गुरुङ पछिल्ला दिनमा भने आलोचनाको घेरामा परेका थिए।

उच्च राजनीतिक स्रोतका अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँगको छलफलपछि गुरुङले राजीनामाको निर्णय लिएका हुन्। यद्यपि यसबारे औपचारिक पुष्टि भने भएको छैन।

राजीनामा पत्रमा गुरुङले पछिल्लो समय उठेका सेयरसम्बन्धी प्रश्न, टिप्पणी र जनचासोलाई आफूले गम्भीर रूपमा लिएको उल्लेख गरेका छन्। पदमा रहँदा छानबिन प्रक्रियामा स्वार्थको द्वन्द्व नहोस् भन्ने कारणले नै आफूले पद त्यागेको उनको भनाइ छ।

“सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ,” उनले लेखेका छन्, “त्यसैले निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न मैले आजकै मितिदेखि लागू हुने गरी राजीनामा दिएको छु।”

गुरुङले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारी निर्वाहको रूपमा प्रस्तुत गरेका छन्। साथै, सञ्चारमाध्यम र नागरिकलाई सत्य र इमानदारीको पक्षमा उभिन आग्रह गर्दै उनले सार्वजनिक जीवनमा पारदर्शिता आवश्यक रहेको बताएका छन्।

उनको राजीनामापछि सरकारभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक समीकरणबारे नयाँ बहस सुरु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here