बालबालिकाको पाखुरा नाप

0
2
कञ्चनपुर,
कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको छ ।  वैशाख ६ र ७ गते गरी दुई दिनसम्म सञ्चालन गरिएको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम(अभियान) अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइएको हो ।
अभियानअन्तर्गत ३७ हजार ३८२ बालबालिकालाई भिटामिन ‘ए’ र ३२ हजार ८९५ बालबालिकालाई जुकाको औषधि खुवाइएको छ ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्डचेन अधिकृत जनकबहादुर कुँवरका अनुसार अभियान सफल बनाउन जिल्लाका नौवटै पालिकामा ८१७ महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरिएको थियो ।
“दुई दिनको अभियानमा छुटेका बालबालिकालाई आउँदो शुक्रबारसम्म नजिकको स्वास्थ्य संस्थामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने व्यवस्था मिलाइएको छ”, उहाँले भन्नुभयो, “कुनै पनि बालबालिका छुट्न नदिन विशेष सतर्कता अपनाइएको छ ।”
अभियानअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई जुकाको औषधि तथा छदेखि २३ महिनासम्मका बालबालिकालाई ‘बालभिटा’ वितरण गरिएको थियो । साथै बालबालिकाको पोषण अवस्थाको मूल्याङ्कनका लागि पाखुराको नापसमेत लिइएको जनाइएको छ ।
सरकारले सन् १९९३ देखि भिटामिन ’ए’ र सन् २००१ देखि जुकाको औषधि खुवाउने कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ । हरेक वर्ष वैशाख र कात्तिक महिनामा सञ्चालन गरिने यो अभियानले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाउन, रतन्धो हुनबाट जोगाउन र कुपोषण कम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here