पाटाको सागमा ब्राउन सुगर लुकाएपछि…

0
2

झापा ।

लागूऔषध कारोबारीले अनेक उपाय अपनाएर भारतबाट नेपाल लागूऔषध भित्र्याउने गरेको तथ्य खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाले सिमावर्ती क्षेत्रमा निगरानी कडा बनाएसंगै लागूऔषध कारोबारीले लागू औषध नेपाल भित्र्याउन विभिन्न जुक्तिहरु अपनाएको पाइएको छ ।

यसैक्रममा भारतबाट पाटाको सागमा ब्राउन सुगर लुकाएर ल्याउने एक महिला भद्रपुर नाकामा पक्राउ परेकी छन् । उनी पक्राउ परेसंगै साग ब्यपारकाको नाममा लागू औषध भित्र्ने गरेको तथ्य खुलेको हो । भद्रपुर–५ मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी पैदलयात्री भद्रपुर–६ कृष्णा कम्प्लेक्स सिनेमा हलनजिक बस्ने ५० वर्षीया खैरुन खातुनलाई लागू औषधसहित पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा उनले हातमा बोकेको कालो प्लास्टिकको झोलामा पाटा सागको मुठाभित्र लुकाएर ल्याउँदै गरेको प्लास्टिकसहित चार ग्राम एक सय ४० मिलिग्राम र प्लास्टिकबाहेक तीन ग्राम सात सय ४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । प्रहरीले सिमावर्ती क्षेत्रमा निगरानी बढाएसंगै अवैध गतिविधि गर्नेहरु फन्दामा पर्न थालेका हुन् । यस अघि प्रहरी मोटरसाइकलको टयर, पेट्रोलको ट्याङ्की तथा लुकिङ ग्लास लगायतका स्थानमा लुकाएर नेपाल भित्र्यिाएका घटनाहरु सार्वजानिक गरेको थियो । तर, यस पटक भने प्रहरीले सागको मुठाभित्र लागूऔषध फेला पारेसंगै नयाँ घटना बाहिर आएको हो ।

यसैबीच दमक–८ किरात चोक बस्ने २२ वर्षीय एलिसराज खरेल ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले खरेलको घर खानतलासी गर्ने क्रममा उनी सुत्ने कोठाको खाटमुनि पोका पारी राखेको अवस्थामा प्लास्टिकसहित ६ ग्राम नौ सय ७०मिलिग्राम र प्लास्टिकबाहेक पाँच ग्राम सात सय ३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजुसमेत फेला परेको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here