विष्णुप्रसाद पोखरेल
दमक ।

झापामा केही बर्ष अघिसम्म धान रोप्नका लागि खेताला नपाइने समस्या व्यहोर्दै आएका किसानहरु पछिल्लो समयमा धान खेतीमा आधुनिकीकरण र प्रविधिको प्रयोगप्रति उत्साहित बन्न थालेको पाइएको छ । हराउँदै गएको पर्म लगाउने परम्पराको विकल्पमा सामुहिक धान खेती शुरु भएपछि धान खेतीमा एक प्रकारको क्रान्ति आउन थालेको छ ।
जिल्लामा सहकारी तथा कृषि सम्बन्धी बिभिन्न फार्महरुले आधुनिक प्रकारका धान रोप्नेदेखि लिएर काट्ने र झार्नेसम्मका प्रविधिको प्रयोगलाई जोड दिन थालेपछि उत्पादन लागत घट्नुका साथै खेताला नपाइने समस्याको समाधान भएको हो ।
झापाको कमल गाउँपालिका वडा नं. ७मा लखनपुर साना किसान सहकारी संस्थाले आधुनिक धान रोप्ने मेसिनबाट धान रोपेर असार १५ मनाएको थियो । कार्यक्रममा सहभागी प्रदेश १का कृषि सचिव मेघनाथ तिम्सिनाका अनुसार पछिल्लो समयमा झापासहित प्रदेश १मा किसानहरुले धान खेतीमा आधुनिकीकरणसहितको प्रविधिको प्रयोग गर्न उत्साहित भएको बताए । प्रविधि तथा यान्त्रिकीकरणको प्रयोग र सामुहिक खेती प्रणालीबाट कृषिमा परिवर्तन सम्भव छ– उनले भने । उत्पादन लागत घट्ने र उत्पादन बढ्ने भएकाले यो सवैका लागि लाभदायी हुने पनि उनले बताए ।
किसानहरुको सहजताका लागि बिभिन्न सहकारी संस्था, कृषि फार्म र कृषि समूहहरुलाई सरकारले कस्टम हायरिङ्ग सेन्टरको सञ्चालनका लागि अनुदान एवम् सहयोग गर्न थालेपछि सामुहिक रुपमा खेती प्रणाली गर्ने क्रम बढेको पाइन्छ । प्रदेश सरकारले कृषिको आधुनिकीकरणका लागि यान्त्रिकीकरण र सामुहिक तथा चक्लाबन्दी खेतीलाई प्रवद्र्धनका लागि बजेटको ठूलो हिस्सा छुट्याएको छ– तिम्सिनाले भने ।
यसै आर्थिक बर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापा मार्फत कमल गाउँपालिकामा मात्र २ वटा आधुनिक र सुविधायुक्त चारपाङ्ग्रे धान रोप्ने मेसिन भित्रिएको छ । साना किसान सहकारी संस्था कमल गाउँपालिका लखनपुर र तीन वटा सहकारी संस्थाले एकैसाथ यो मेसिन भित्र्याएको हो ।
मेसिनको धान रोपाइँ देखेर किसानहरु पनि दंग परेका छन्– साना किसान सहकारी संस्था लखनपुरका व्यवस्थापक टंक पराजुलीले भने । उनका अनुसार किसानहरुले पनि सहकारीको यो मेसिन निश्चित भाडा तिरेर प्रयोग गर्न सक्ने भएकाले यस क्षेत्रमा कृषिमा नयाँ अध्याय शुरु हुने पराजुलीको भनाइ छ ।
कमल गाउँपालिका वडा नं. १मा इन्द्रेणी, नवोदय र पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्थाहरु संयुक्त रुपमा बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्म बनाएर त्यहाँ पनि आधुनिक मेसिन तथा उपकरणहरु राखेर अहिले सामुहिक खेती गर्दै आएका छन् । इन्द्रेणी बहुउेद्दश्यीय सहकारी संस्थाका ब्यवस्थापक खगेन्द्र भण्डारीका अनुसार वीऊ राख्न केही झञ्झटिलो भए पनि समयको बचत हुने देखिएको छ । धान रोप्ने मेसिन मात्र नभएर धान काटेपछि सुकाउने ड्रायर समेत ल्याएको भण्डारीले बताए । उत्पादन लागत घट्ने भएकाले यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष किसानलाई नै फाइदा पुग्छ– उनले भने ।
झापाकै गौरादह नगरपालिकाको महारानीझोडामा रहेको साना किसान सहकारी संस्थाले नेपालमै नमूना सामुहिक खेती गर्दै आएको छ । स्थानीय किसानहरुको खेत निश्चित रकम तिरेर लिजमा लिएर तिनै किसानहरु मार्फत सामुहिक खेती प्रणाली अवलम्बन गरेका कारण यो जिल्लामा नै नमूना मानिन्छ ।
झापामा यस वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । अहिलेसम्म करिब १८ प्रतिशत धान रोपाई सकिएको छ । निरन्तरको बर्षादका कारण पछिल्ला केहि दिन रोपाइँ हुन नसकेको पनि जनाइएको छ । पहिलाभन्दा अहिले उल्लेख्यमात्रामा प्रविधि र यान्त्रिकीकरणको सुविधा किसानहरुसम्म पुगेकाले रोपाइँका लागि त्यति धेरै समय नलाग्न सक्छ– उनले भने ।




























