अमित खम्बू,
अर्जुनधारा ।

नेपाल सरकारको कार्यक्रम अन्र्तगत रक्षा र शिक्षा मन्त्रालयको समन्वयमा नेपाली सेनाले सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय सेवा दल(एनसीसी) कार्यक्रमको लागि चालु आर्थिक वर्ष ०७८/०७९मा झापाका पाँच वटा विद्यालय छनौट भएका छन् ।
एनसीसी कार्यक्रमका प्रशिक्षक जनक शिवाकोटीका अनुसार कार्यक्रमका लागि छनौट भएका पाँच वटा विद्यालयमा स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालय(अर्जुनधारा), इष्ट होराइजन इङलिस बोर्डीङ स्कूल(मेचीनगर), मेची जनसाधारण माध्यमिक विद्यालय (मेचीनगर), झापा मोडेल इङलिस सेकेन्डरी बोर्डीङ स्कूल(दमक) र वीरेन्द्र माध्यमिक विद्यालय(भद्रपुर) रहेका छन् ।
छनौट भएको पाँच वटा विद्यालयमध्ये उक्त कार्यक्रम अन्र्तगत इष्ट होराइजनमा सीनीयर डिभिजन र बाँकी चार वटा विद्यालयमा जुनियर डिभिजन तालिम सञ्चालन हुने बताइएको छ । आगामी साउन १ गतेदेखि सुरु हुने जुनीयर र भदौ देखि सुरु हुने सीनीयर डिभिजन तालिमका लागि छनौट भएका विद्यालयबाट १८ जना पुरुष र १८ जना महिला गरी जनही ३६ जना विद्यार्थी छनौट हुने छन् ।
जम्मा एक सय दिनको तालिमअन्र्तगत ७९ दिन संस्थागत तालिम(छनौट भएको विद्यालयमा) र २१ दिन मोरङको याङसिलास्थित पूर्वी तालिम शिक्षालयको सामूहिक क्याम्पमा सञ्चालन हुने छ ।

यसैबीच एनसीसी कार्यक्रमको लागि छनौट भएको झापाको अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयमा बिहीबार एनसीसी कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
एनसीसीको परिचय, जिम्मेवारी, लक्ष्य र तालिम सञ्चालनको प्रक्रिया बारे अभिभावक र विद्यार्थीहरुलाई जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयकी संस्थापक ईश्वरा श्रेष्ठले जानकारी दिइन् ।
कार्यक्रममा सहजकर्ता नयाँ श्रीनाथ गण चारआलीका उपसेनानी निरन्जन चौहनले एनसीसी कार्यक्रमको पृष्ठभूमि, तालिमको विस्तार, तालिमको महत्व र आवश्यकता, तालिमको लक्ष्य र जिम्मेवारी, तालिमको प्रकार तथा सञ्चालन प्रक्रियालगायतका विषयमा सहभागीहरुलाई सहजिकरण गरेका थिए ।
तालिमले विद्यार्थीहरुमा नेतृत्व क्षमताको विकास, अनुशासित, राष्ट्रिय एकताको भावना विकास, वफादारिता र इमानदारिता र स्वयंसेवक दस्ताकारुपमा आफूलाई विकास गर्ने हुँदा कार्यक्रम फलदायी हुने सहजकर्ता चौहनले दावी गरे ।
संस्थापक श्रेष्ठको अध्यक्षता र उपसेनानी चौहनको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन शिक्षक चन्द्रप्रसाद सुवेदीले गरेका थिए ।





























