कति कमजोर रहेछ भाग्य मेरो संसदको !

0
453

‘कति कमजोर रहेछ भाग्य तिम्रो सिंउँदो कोर्न सकिनँ’ बोलको गीत दीप श्रेष्ठले गाएका र जमानामा अत्यधिक चर्चित रहेको सो गीतको याद आउँछ नेपालका एक संघीय सांसदज्यूलाई । यो गीत पुनः सुन्न मन लाग्छ उनलाई । यो गीतको याद यसरी आयो कि उनलाई जसरी कसैलाई भूतपूर्व मायालुको याद आउँछ । उनी कल्पन्छन्– भाग्य कमजोर भएपछि प्रेयसीको सिउँदो कोर्न नसकिने रहेछ । तर, भाग्य कस्को चाहिँ हुनुपर्ने हो ? प्रेमी को कि प्रेमीकाको कि दुबैको ? उनी यस्तै प्रश्न पनि गर्छन् आफैलाई ।

उहिले यो गीत बिहानै, दिउँसै, साँझ र राती पनि बजि नै रहन्थ्यो रेडियो नेपालमा । यस गीतलाई फर्माइस पठाउनेहरुले नै नन्स्टप बज्ने लिष्टमा पारिदिएका थिए । सांसदज्यूले पनि आफ्नो उमेरमा यो गीत सुनेनन् मात्र गुनगुनाएर कतिलाई पट्याए होलान् अनि भाग्य कमजोर भएकाले सिउँदो कोर्न नसकेको बहानामा कसैदेखि कोसौं भागे होलान् ।

यो गीतले दिएको सन्देश आफ्नै देशको संसदसँग मेल खाएको महशुस गर्छन् सांसदज्यू । अनि गम्छन् मनमनै, कति कमजोर रहेछ भाग्य मेरो संसदको भनेर । हुन सक्छ धेरै धेरैलाई पनि याद आइरहेको होला यो गीत । किनकि केही दिनअघि नेपालको संघीय संसदले सांसदहरुको अत्यन्तै झिनो उपस्थिति संख्यालाई गणपुरक संख्या मानि अत्यन्तै झिनो बहुमतले मात्र नेपालको नागरिकता ऐन (नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक) पास गरिदिए । जसले धेरै जनाको मुहारमा खुशीयाली ल्यायो, तर अधिकांश नेपालीहरुले कति कमजोर रहेछ आफ्ना भाग्य भनेर दुःख मनाउ गरेका छन् । अन्यौलपूर्ण आ–आफ्ना भविष्य र देशको सार्वभौमिकता खतरामा पर्ने सम्भावना सम्झेर ।

यहीँ सवाल नेपालको संघीय संसदको हो । सवाल नेपालको संघीय संसदको भाग्यको हो । संसदको पूर्ण सांसद संख्याको दुईतिहाई मतले मात्र यस्ता संवेदनशील ऐन पास गर्न सक्ने प्रावधान हुनुपर्ने थियो । तर, कहिले कहिले सजिला–सजिला प्रावधान घुसाइ सकिएछन् । जसले नेपालको संसद र करोडौंँ नेपालीहरुको भाग्य कमजोर पारिदियो । हो यस्तै ठान्छन् यहाँ संघीय संसदका एक सांसद । जायज स्थितिका व्यक्तिहरुले नियमानुसारको नेपाली नागरिकता पाउनुपर्छ । यो त सबैको चाहना हो । कुरो के पनि जायज हो भने यस्तो चाहना संसदको पूर्ण संख्याको दुईतिहार्ई मतले मात्र तोक्नुपर्ने हो । हो यसै विषयमा पिरलिएर एक सांसद आफ्नो संसदको भाग्य कति कमजोर रहेछ भन्ने निचोडमा पुग्छन् ।

उनी आफ्नो संसदभित्र प्रवेश गर्छन् । तर, संसदमा कोही सांसद देखिँदैनन् । उनी मनमनै प्रश्न गर्छन् के म एक्लो सांसद संसदको गणपूरक संख्या पुग्छु त ? हालको नियमले त ठ्याक्कै यही भन्छ । ए त्यसो हो भने म एक्लैले किन ऐन नियम पास नगर्ने ? उनी संसदको सभामुख कहाँ जान्छन् र भन्छन् लु संसद चालू गरुँ त सम्मानीय सभामुखज्यू ।

सभामुख भन्छन्– तपाई एकजना सांसदको लागि म कसरी संसद चालू गर्न सक्छु मान्यज्यू ? गणपुरक संख्या खोई ? ती एक्ला सांसद भन्छन्– म एक्लै सांसद गणपुरक संख्या हो कि होइन ? संसदमा उपस्थित सांसद संख्या गणपुरक संख्या मान्य हुने भएपछि नियमले त म एक्लै काफी छु । सभामुख अकमक्क पर्छन् । सांसद जोड दिँदै भन्छन्– छिटो चालू गर्नुहोस् संसद सभामुखज्यू । अब नियमले एक्लै सांसद पनि गुणपुरक पुग्ने भएपछि सभामुखले पनि सांसदज्यूको जिकिरलाई नाई भन्ने ठाउँ रहेन । सभामुख सोध्छन्– के चाहिँ प्रस्ताव पारित गर्नु र मान्य सांसदज्यू ? तपाई एक्लैले पास गर्ने प्रस्ताव त्यति भारी खालको पनि हुनु भएन । फेरि तपाई बेहोस हुनुहोला विषयको लोडले । सांसद भन्छन्– ए होइन यसो औपचारिकता मात्र पूरा गरौन एउटा महत्वपूर्ण प्रस्ताव पारित गरेर । सभामुख सोध्छन् के छ र त्यस्तो महत्वपूर्ण प्रस्ताव मान्यज्यू ? सांसद भन्छन्– खासमा हजुर सम्माननीय सभामुखज्यू र संसदकै गौरब बढाउने प्रस्ताव छ के ।

सभामुख अनुमति दिन्छन् । सांसद अनुरोध गर्छन्, लु सम्माननीय सभामुखज्यू, यसमा मैले सही गरिँसकेँ अब हजुरले पनि सही गरिस्यो त । सभामुख भन्छन्– पढ्दै नपढी सही गर्ने र ? सांसद भन्छन्– अहिले अरु सांसद आइपुग्छन् अनि लफडा हुन्छ । हजुरको महत्वपूर्ण भलाई अर्थात दीगो पद, मनग्य पारिश्रमिक र पेन्सनको व्यवस्थाबारे प्रस्ताव छ क्या यसमा । सभामुख यता र उता पालाकपुलुक गर्दै सही गरिहाल्छन् र भन्छन्– सांसदज्यू लौ पढेर सुनाउनु न त प्रस्ताव । सांसद भन्छन्– एकैछिन् है यस पारित प्रस्तावमा हजुरको पदको छाप र गरिमामय संसदको छाप ठोकी हालुँ अनि मात्र पढ्न योग्य हुन्छ अर्थात् यो पारित प्रस्ताव तुरुन्तै लागू हुन्छ ।

सभामुख आफ्नो कुर्सीमा गजक्क परेर बसिरहन्छन् भविष्यको मीठो कल्पना गर्दै । सांसदज्यूले सम्मानीय सभामुखज्यूको र सम्माननीय संसदको छाप लागेको संसदबाट पारित प्रस्तावको प्रतिलिपि हस्तान्तरण गर्दै भन्छन्– सम्मानीय सभामुखज्यू लौ लिनुहोस् महत्वपूर्ण पारित प्रस्ताव जसले सभामुख पदको र हाम्रो प्यारो देश नेपालको संघीय संसदको भविष्यको मार्गदर्शन गर्दछ । सभामुखज्यू खुशी हुँदै पारित प्रस्तावको प्रतिलिपि लिएर अध्ययन गर्न थाल्दछन् । उता एक्ला सांसद गम्भीर मुद्रामा उभिइरहन्छन् ।

केही क्षणपश्चात, एक्कासी सभामुख जङ्गिदै भन्छन्– यो के प्रस्ताव पारित गर्नु भयो मान्य सांसदज्यू ? सांसद भन्छन्– मैले मात्र होइन हजुरले पनि पारित गर्नु भइसक्यो प्रस्ताव, जसमा हजुरको सही छाप लागेको छ । सभामुख पुनः सांसद उपर खनिँदै भन्छन्– यो पारित प्रस्तावमा त नेपालको नागरिकता जस्तो संवेदनशील विषयमा नेपालको संघीय संसदको पूर्ण सांसद संख्याको दुईतिहाई मतले मात्र पास गर्न सक्ने लेखिएको छ । अनि लेखिएको छ, राष्ट्रघाती प्रस्ताव पास गर्ने हालको संसद र सभामुखको पदपनि खारेज भएको लेखिएको रहेछ । तपाईले डुबाई हाल्नुभो नि मलाई । अघि न मेरा लागि महत्वपूर्ण प्रस्ताव छ भनेको होइन ?

एक्ला सांसद भन्छन्– देशको संवेदनशिल विषयमा नेपालको गरिमामय संघीय संसद र सभामुखज्यू समेत हदैसम्मको जिम्मेवार हुुनुपर्छ । यस्ता गम्भीर विषयका प्रस्ताव सामान्य बहुमतले होइन संसदको पूरै सांसद संख्याको दुईतिहाईले मात्र पारित गर्नु पर्दछ । यो पास भएको प्रस्तावमा अस्ति न पास भएको नागरिकता ऐन पनि खारेज भएको बुँदा छ के । सांसद के–के भट्याइरहन्छन् । उता सभामुख पुर्पुरोमा दुबै हात राखेर घोप्टिएर घुँक्क…घुक्क… रोइरहन्छन् । केही क्षण पश्चात एक्ला सांसद चर्को स्वरमा कराउँछन्, ओ फलाना ? अब हामी सामान्य भइसक्यौँ, हामीलाई देशको गरिमामय संसद भवनमा बसिरहने कुनै अधिकार छैन । ल निस्कौँ हामी ।

नरुनुहोस् ए पूर्व सभामुखज्यू, हामीले देश बनाउने महान काम गरेका छौँ आज । उनी पुनः जोड दिँदै भन्छन्– हामीले देश बनाउने महान काम गरेका छौँ । उनीहरु संसद भवनबाट बाहिरिन्छन् । उनीहरुलाई नमस्ते गर्नेहरु कोही छैनन् र छैनन् त्यहाँ चिल्ला सरकारी कारहरु र सेवकहरु । उता क्षितिजमा घाम तल ओर्लदैछ र सन्ध्याकालमा आकाशमा चराहरु कावा खाँदै छन् । सडकमा मानिसहरु हतार–हतार घरतर्फ लम्कँदैछन् । पूर्व सभामुख र सांसद पनि हतारिएका मानिसहरु माझ मिसिएर कतै हराउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here