पार्थ मण्डल,
झापा।

भारतको बिहार तथा पश्चिम बंगाल जोडिएको भद्रपुर नाकाबाट सरसामान भित्रिन छाडेपछि आजकल भद्रपुर भन्सार कार्यालय सुनसान भएको छ ।
भन्सार नाकाबाट सामान आउन छाडेपछि राजश्व सङ्कलनमा भारी गिरावट आउनुका साथै अहिले भन्सार कर्मचारी फुर्सदिला बनेका छन् । दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी भद्रपुर नाकाबाट ठूलो परिमाणको लत्ताकपडा नेपाल भित्रिन्थ्यो । चार महिना (साउन, भदौ असोज र कात्तिक)मा भन्सार कर्मचारीलाई राजश्व उठाउन भ्याइ–नभ्याइ हुन्थ्यो ।
भन्सारमा सामान राख्ने दुई वटा मात्र गोदाम छन् । कारोबारी तथा व्यापारीले भन्सार ल्याउने लत्ताकपडाको पोकाहरू राख्न कर्मचारीलाई हम्मे–हम्मे नै पथ्र्याे । भारतबाट सामान बोकेर ल्याउने ट्याक्टर र पिकअप गाडीको लाइन पनि सडकमा त्यस्तै हुन्थ्यो । कारोबारी तथा व्यापारी आफ्नो पालो पर्खेर भए पनि राति ९ बजेसम्म सरसामान भन्सारमा ल्याउन व्यस्त हुन्थे ।
तर, यो वर्ष त्यस्तो कुनै गतिविधि भद्रपुर भन्सारमा देखिएको छैन । साउनको दुई साता वित्नै लाग्दा पनि भन्सार सुनसान छ । कसले सरसामान ल्याउँछ भनेर कर्मचारीले पर्खिरहनुपर्ने अवस्था छ । भन्सारको गोदाम लगभग खाली छ । भन्सारभित्रै बनाइएको ट्रष्टमा पनि कुनै सरसामान देखिँदैन । सरकारले आयातित वस्तुमा कडाइ गर्नुका साथै भारतबाट आउने वस्तुहरूमा प्रतीतपत्र लेटर अफ क्रेडिट (एलसी) लागू गरेपछि कारोबारी र व्यापारीहरूले सरसामान भन्सार ल्याउन छाडेका हुन् । त्यसैको असर यस भन्सार कार्यालयमा पनि परेको भद्रपुर भन्सार प्रमुख रामेश्वरकुमार मिश्रले बताए ।
नेपाल राष्ट्र बैङ्कले २०७८ माघ २६ गते सूचना प्रकाशन गर्दै ४७ प्रकारका हार्मोनिक कोड भएका वस्तुहरूमा अनिवार्य रुपमा मार्जिन लिई प्रतीतपत्रमार्फत मात्र आयात गर्न सकिने व्यवस्था लागू गरेको छ । सो व्यवस्था लागू भएकै महिनादेखि क्रमशः भन्सारको राजश्व ओरालो लाग्न थालेको तथ्याङ्कले देखाएको छ । गत माघमा ४१ दशमलव ३२ प्रतिशत राजश्व असुली भएकोमा फागुनदेखि घटन थालेको हो । फागुनमा २८ दशमलव २४ प्रतिशत, चैतमा १२ दशमलव ७७ प्रतिशत, वैशाखमा ७ दशमलव ३३ प्रतिशत, जेठमा ६ दशमलव ८५ प्रतिशत र असारमा १५ दशमलव १४ प्रतिशत राजश्व उठेको भन्सार प्रमुख मिश्रले जानकारी दिए । भन्सारको राजश्व असुलीको तथ्याङ्क हेर्दा अघिल्लो आर्थिक वर्षहरूमा यस्तो कहिले भएको थिएन ।
भन्सारले आर्थिक वर्ष २०७८/०७९मा लक्ष्यको तुलनामा ५६ दशमलव ६७ प्रतिशत मात्र राजश्व असुली गरेको छ । एक वर्षमा ४२ करोड ५८ लाख ३३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सारले २४ करोड १३ लाख ३६ हजार ६०४ रुपैयाँ असुली गरेको भन्सार प्रमुख मिश्रले बताए । कार्यालयले भन्सार महशुलवापत दुई करोड ७५ लाख ८८ हजार, मूल्य अभिवृद्धि कर बापत १२ करोड १२ लाख १२ हजार, अन्त शुल्कमार्फत ८५ लाख ७० हजार, कृषि सुधार शुल्कवापत एक करोड ३२ लाख ४८ हजार, भन्सार सम्बन्धी अन्य आय ७७ लाख १० हजार, स्वास्थ्य जोखिम करवापत पाँच हजार राजश्व असुली गरेको उनको भनाइ छ ।
उनका अनुसार गत आर्थिक वर्षको साउनमा २ करोड ७२ लाख ४७ हजार, भदौमा ३ करोड ६६ लाख ९० हजार, असोजमा ५ करोड ७ लाख ३४ हजार, कार्तिकमा ३ करोड ७४ लाख ६१ हजार, मंसीरमा २ करोड ६९ लाख ४२ हजार, पुसमा २ करोड १५ लाख ९७ हजार राजश्व उठेको छ । त्यस्तै माघमा १ करोड ४६ लाख ४९ हजार, फागुनमा १ करोड ८ लाख ९२ हजार, चैतमा ५० लाख ५९ हजार, वैशाखमा २८ लाख ८० हजार, जेठमा २६ लाख ७९ हजार र असारमा ४५ हजार एक हजार राजश्व उठेको उनले जानकारी दिए । ‘असारमा ५ प्रतिशत भन्दा कम राजश्व उठ्ने सम्भावना थियो’– उनले भने– ‘असार अन्तिममा सुर्तीबाट ३९ लाख रुपैयाँ उठेकोले राजश्वको प्रतिशत केही बढ्यो ।’
मेची पुल बने पनि यस नाकाबाट सबैभन्दा बढी लत्ताकपडा, सुर्तीजन्य पदार्थ, चिया उद्योगका सामग्री, कृषिजन्य सामग्री, माछा र जुत्ता चप्पल, हार्डवेयरलगायतका सामग्री आयात हुन्छ । तेस्रो मुलुकबाट कुनै पनि सरसामान आयात हुँदैन । एलसी अनिवार्य लागू भएपछि अहिले चियासँगै कृषिजन्य सामग्री मात्र आयात भइरहेको छ । राजश्व उठ्ने बेलामा भन्सार परिसर सुनसान देखिएको बारेमा पूर्वाञ्चलकर्मीले जिज्ञासा राख्दा उनले भने– ‘पहिला के हुन्थ्यो थाह छैन, अहिलेका कर्मचारी कानूनभन्दा बाहिर गएर कुनै गतिविधि गर्दैनन् ।’ सरकारले आयातित वस्तुमा भन्सारलाई चाहिने आवश्यक कागजातमाथि कडाइ गरेको र सोही बमोजिम व्यापारीले एलसीसहितको आवश्यक कागजात ल्याउन नसक्दा ठूलो मात्रामा सरसामान आउन छाडेको हो’– उनले भने ।
२०७५ साउनबाट छोटी भन्सारबाट मूल भन्सार कार्यालयका रुपमा सञ्चालनमा आएको यस भन्सारको मातहतमा पाँच वटा छोटी भन्सार कार्यालय रहेका छन् । त्यसमा पाठामारी, पन्थपाडा, घेरावारी, केचना र झापा कुमरखोद छोटी भन्सार रहेका छन् । त्यसमध्ये झापा कुमरखोदको मात्र भन्सार सञ्चालनमा छ । अन्य भन्सार कार्यालय बन्द छन् । भद्रपुर भन्सारमा कार्यालय प्रमुखसहित ८ जना नायब सुब्बा, ८ जना कार्यालय सहयोगी, एक जना लेखापाल, एक जना कम्प्युटर अपरेटर, दुई जना सवारी चालक छन् ।






























