बिर्तामोड क्षेत्रका फुटपाथ खाली गरिने

0
538

बिर्तामोड ।

झापाको बिर्तामोड बजार क्षेत्रभित्र सडकपेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ ।

बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रवार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकले बिर्तामोडमा फुटपाथ व्यवसायका कारण पार्किङको समस्या र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ खाली गर्ने निर्णय गरेको हो ।

बैठकले बजार क्षेत्रभित्र सटर लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले पनि व्यवसाय फुटपाथसम्म विस्तार गरेको पाइएकाले यसप्रकारको कार्यलाई पनि हटाउने निर्णय गरेको छ । फुटपाथ व्यवसाय हटाउनका लागि नगरपालिकाले ७ दिनको म्याद राखेर सूचना सार्वजनिक गर्ने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

सर्वदलीय बैठकले फुटपाथ खाली भए÷नभएको र स्थानीय वस्तुस्थितिको अध्ययन, अनुगमन, समन्वय तथा सुझावका लागि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा १६ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

बिर्तामोडको भद्रपुर रोड, शनिश्चरे रोड, कृषिथोक बजार वरिपरि र बजार क्षेत्रभित्र पर्ने पूूर्वपश्चिम महेन्द्र राजमार्गको पेटीमा आधिकारिक रुपमा दर्ता नभई मापदण्ड विपरीत फुटपाथ व्यवसाय सञ्चालन हुँदै आएका कारण बिर्तामोड बजार अस्तव्यस्त बन्दै आएको छ ।

सर्वदलीय बैठकमा नगरप्रमुख प्रसाई, उपप्रमुख संग्रौला, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष मोहन सुव्वा, राप्रपा नगरसमिति उपाध्यक्ष किरणप्रसाद पौड्याल, नेकपा एकीकृत समाजवादीका नगरअध्यक्ष श्रीप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टीका नगरअध्यक्ष लखनलाल राजवंशी, वडा नम्बर १का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ३का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४का वडाध्यक्ष राहुलकुमार शर्मा, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, उद्योग वाणिज्य संघका उपाध्यक्ष सञ्जीव घिमिरे, नैनकला भट्टराई, राधिका चुडाल हुमागाँई, उपभोक्ता मञ्चका मदन गोपाल सुव्वा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवर लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here