अमित खम्बू,
अर्जुनधारा ।
जलवायु परिवर्तनका असरहरुलाई न्यूनिकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीले शनिबारदेखि वृहत वृक्षरोपण अभियान शुरु गरेको छ ।
अर्जुनधारा–१ स्थित निर्माणाधीन शहीद टेक–मान रंगशालाको परिसर क्षेत्रमा अमला, खयर, मसला आदिको बिरुवा रोपेर उक्त अभियानको उद्घाटन गरिएको आयोजक कमिटीका अध्यक्ष धीरज मोक्तानले जानकारी दिए ।
“एक युवा पाँच बिरुवा” भन्ने मुख्य नारासहित आगामी भदौ १ गते सम्म नगरपालिकाभित्रका सबै ११ वटा वडाका विभिन्न स्थानमा सञ्चालन हुने अभियान अन्र्तगत पाँच हजार बढी बिरुवा रोप्ने आयोजकको लक्ष्य रहेको कमिटीका उपाध्यक्ष सुशिल भूजेलले जानकारी दिए ।
कमिटीका अध्यक्ष मोक्तानको अध्यक्षता र संघका केन्द्रीय सदस्य एवम् झापाका इञ्चार्ज खगेन्द्रराज आङदेम्बेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेकपा एमाले पार्टी झापाकी सदस्य तुलसा पोखरेल, संघ झापाका सचिवलाय सदस्य मेरुन योङहाङ, नगर सभा सदस्य मदन लिमेल मगर, वडाका निवर्तमान वडाध्यक्ष गजाधर खतिवडा, संघका पूर्व केन्द्रीय सदस्य कर्म गोम्देनलगायतले बिरुवा रोपेका थिए ।
कार्यक्रममा नेकपा एमाले नगर कमिटी अर्जुनधाराका सचिव श्रीप्रसाद नेपाल, अखिल नेपाल महिला संघ अर्जुनधाराकी अध्यक्ष चन्द्रकला राई, युवा नेता तारा खतिवडालगायतले आफ्नो धारणा राखेका थिए । कमिटीका उपाध्यक्ष भूजेलले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उपसचिव युकेश फूँयेलले गरेका थिए ।
सिसौ, खयर र सिमलको बिरुवा काटिएको अवस्थामाः
झापाको अर्जुनधारा–१ स्थित निर्माणाधीन शहीद टेक–मान रंगशाला पश्चिमतर्फ सिसौ, खयर र सिमलको तीन वटा बिरुवा काटिएको अवस्थामा फेला परेको छ ।
बिरुवा काटिएको विषय बारे आफूहरुले शुक्रबार विहान मात्र जानकारी पाएको र काट्नेहरुको पहिचान नभएको हुँदा त्यस क्षेत्रको निगरानीसँगै खोजी गर्ने कार्य भइरहेको हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्र प्रसाईंले जानकारी दिए ।