हार्दिक श्रद्धाञ्जली समाजवादी चिन्तकप्रति

0
364

अत्यन्त अध्ययनशील, स्पष्ट वक्ता, समाजवादी चिन्तक प्रदीप गिरीको शनिबार बेलुका निधन भएको छ । विगत केही वर्षदेखि घाँटीमा समस्या भएर उपचार गरिरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य गिरीको उपचारकै क्रममा निधन भएको हो । विपक्षीहरुको समेत प्रिय, आदरणीय र शुभचिन्तक गिरीको निधनले राष्ट्रलाई अपूरणीय क्षति भएको छ । वि.सं. २००२ साल अर्थात् राण शासनकै समयमा सिरहाको बस्तीपुरमा जन्मिएका गिरीले दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । भारतमा रहँदा वीपी कोइराला लगायतका नेताहरुको संगत पाएका गिरी नेपाली राजनीतिमा बौद्धिक तथा विचारक नेताका रुपमा स्थापित थिए । नेपाली कांग्रेससँगै नेपाली राजनीतिको केन्द्रमा रहेका गिरीले जीवनकालमा पद, पैसा र ऐश्वर्यको मोह देखाएनन् । यसअर्थमा उनको जीवन भोगाइ आफ्नै आदर्श नेता कृष्णप्रसाद भट्टराई र भारतीय नेता महात्मा गान्धीबाट अनुप्रेरित थियो भन्न सकिन्छ ।

सानैदेखि कुशाग्र बुद्धि प्रदर्शन गर्दै आएका गिरीले साहित्यिक व्यक्तित्वको समेत पहिचान बनाएका थिए । लेनिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्र लगायतका बाह्र वटा कृतिका लेखक गिरी अति सामान्य जीवन भोग्न रुचाउने सन्त नेता भट्टराईपछिका सम्मानित र उदाहरणीय नेता हुन् । सम्भ्रान्त परिवारमा जन्मिएर पनि सादा जीवन बाँच्न रुचाउने, समाजवादी चिन्तक भएर पनि माक्र्सवादलाई आत्मसात गर्ने र माक्र्सवादीहरुलाई माक्र्सवाद सिकाउने उनी अद्भूत गुरु थिए । विचार, सिद्धान्त, निष्ठा र समर्पणले सबैको प्रिय बन्न सफल उनको अनन्त यात्रा पनि नेपाली मनमस्तिष्कमा सदा अविस्मरणीय रहने छ । स्वतन्त्रता, समानता र शान्तिका पक्षपाती गिरीको भौतिक अनुपस्थितिमा पनि उनको चिन्तन तथा दर्शनले उनलाई अजम्बरी बनाउने छ ।

औपचारिकताबाट टाढा रहन रुचाउने उनको स्वभावले नै उनलाई विशेष जिम्मेवारी लिनबाट रोक्यो । आजका नेता अथवा राजनीतिकर्मीको मूल अभीष्ट नै पद र पैसा आर्जन गर्ने रहन्छ । तर, उनले चार पटक सांसद भएर पनि कार्यकारी पदमा पुग्ने चाहना देखाएनन् मात्र होइन, त्यो प्रतिष्पर्धाको नजिक पनि जान चाहेनन् । मन्त्री जस्तो कुनै पदमा रहँदा व्यक्तिगत स्वतन्त्रता गुम्ने, साथीभाइ छुट्ने र जीवनशैली अनियमित हुने डरले उनले त्यसतर्फको आकांक्षा नै देखाएनन् । साहित्य, अध्यात्म र त्यसपछि मात्र राजनीतिलाई जीवन दर्शन र मान्यता ठान्ने स्वर्गीय गिरी निष्काम कर्मयोगी कै रुपमा जीवित रहनेछन् । शान्ति र अहिंसाको मार्गमा अविराम यात्रा गर्ने, लोकतन्त्र र समाजवादी चिन्तनलाई दृढतापूर्वक अनुशरण गर्ने, अन्याय, अत्याचारको बिरुद्ध आजीवन संघर्ष गर्ने अथकयात्री स्व. गिरीप्रति हार्दिक श्रद्धाञ्जली ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here