भक्तजन र पर्यटक लक्षित होटल सञ्चालन हुने

0
289

अर्जुनधारा ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धाममा आउने भक्तजन र पर्यटकहरुलाई लक्षित गरी होटल तथा लज सञ्चालन हुने भएको छ ।

मेची बहुमुखी क्याम्पसका पूर्व प्रमुख एवम् स्थानीय कमलप्रसाद गुरागाईंको लगानीमा धाम प्रवेश मार्गदेखि अनुमानित ५० मिटर पूर्व निर्माण सम्पन्न भएको व्यापारीक भवन ‘गुरागाईं कम्प्लेक्स’मा उक्त होटल तथा लज सञ्चालन हुने लगानीकर्ता गुरागाईंले जानकारी दिए ।

साँढे चार तलाको गुरागाईं कम्प्लेक्समा हालसम्म एक करोड २५ लाख रुपैयाँ लगानी भएको लगानीकर्ता गुरागाईंले बताए । अघिल्लो वर्ष फागुनमा निर्माण कार्य सुरु भई ११ महिना १५ दिनमा सम्पन्न भएको कम्प्लेक्समा १३ वटा कोठा, दुई वटा सभाहल, बाथरुम, शौचालय आदि रहेको बताइएको छ ।

शुद्ध शाकाहारी खाद्यान्न मात्र उपलब्ध हुने उक्त होटल आगामी महाशिवरात्रीदेखि सञ्चालनमा ल्याउने लगानीकर्ताको लक्ष्य रहेको छ । “अहिले हामी होटल तथा लज सञ्चालनको लागि व्यवसायीको खोजी गरिरहेका छौं ।”–उनले भने ।

२३.५ धुर क्षेत्रफलमा रहेको उक्त कम्प्लेक्ससँगै ‘गुरागाईं मार्केट’ पनि सञ्चालनको तयारीमा रहेको छ । मार्केटको १० वटा सटरमध्ये हाल ४ वटा सटर सञ्चालनरत् अवस्थामा रहेको छ । यसैबीच कुशे औंसीको अवसरमा शनिबार कम्प्लेक्स निर्माणमा संलग्न श्रमिकहरुलाई सम्मानित गरिएको छ ।

लगानीकर्ता परीवारका सदस्य एवम् समाजिक व्यक्तित्व धर्मानन्द गुरागाईंको अध्यक्षता र अर्जुनधारा–७ वडा समितिका अध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा १३ जना श्रमिकलाई क्याप र टिसर्टसहित रुद्राक्षको माला लगाउँदै सम्मानित गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा सञ्जयकुमार शाह, अर्जुन दनुवार, मनोज चौधरी, प्रकाश लिम्बू, भरत दनुवार, सीताराम चौधरी, भरत चौधरी, प्रदीप विश्वकर्मा, शान्तिदेवी दर्नाल, मोहन लिम्बू, शेरबहादुर भूजेल, विनोद ढकाल र विष्णु चौधरी रहेका छन् । सोही कार्यक्रममा नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन(क्युपेक) नेपालका केन्द्रीय सदस्य एवम् नगर सभा सदस्य देवकुमार राईलाई पनि सम्मानित गरिएको थियो ।

कार्यक्रममा अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्निप्रसाद सिग्देल, सम्मानित व्यक्तित्व राई, अम्बिकाप्रसाद खतिवडालगायतले मन्तव्य राखेका थिए । लगानीकर्ता गुरागाईंले कार्यक्रमको औचित्य माथि प्रकाशसँगै स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन कम्प्लेक्स निर्माणको जिम्मा पाएका मेदनीप्रसाद ढुङ्गेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here