चियामा देखिएको समस्याप्रति प्रदेश सरकार चिन्तित –मन्त्री सरावगी

0
365

बिर्तामोड ।

प्रदेश नम्बर १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीले चिया क्षेत्रमा देखिएका समस्याप्रति प्रदेश सरकार चिन्तित रहेको बताएका छन् ।

उनले प्रदेशकै प्रमुख नगदेवालीको रुपमा रहेको चियाको निकासीमा उत्पन्न अवरोध हटाउन प्रदेश सरकारले केन्द्र सरकारसँग आवश्यक समन्वय गरिरहेको बताए ।

शुक्रबार बिहान संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा भएको छलफल कार्यक्रममा मन्त्री सरावगीले चिया निकासीमा भारतीय पक्षबाट हुन खोजेको अवरोध गम्भीर चिन्ताको विषय भएको बताए । उनले उक्त अवरोध हुन नदिनेगरी केन्द्र सरकारमार्फत लविङको प्रयास भइरहेको बताए ।

उनले चियालाई प्रदेश नम्बर १ को प्रमुख बालीको रुपमा विकास गर्नेगरी योजना बनाउने काम पनि भइरहेको जानकारी दिए । भारतीय पक्षबाट नेपाली चियाको निकासीमा अवरोध पुग्नेगरी नीतिगत व्यवस्था गर्न लागेको छ ।

नेपाली चियामाथि गुणस्तरको प्रश्न उठाउँदै भारत सरकारको वाणिज्य संसदीय समितिले नेपाली चियामाथि ४० प्रतिशतसम्म कर लगाउन माग गर्दै संसदमा प्रतिवेदन बुझाएको छ ।

छलफलमा प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशी, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेलगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here