मतदाताको विवेकको परीक्षा !

0
288

आउँदो मंसीर ४ गते हुन लागेको आम निर्वाचनको चर्चा, अनुमान उम्मेदवारीको आकांक्षा सार्वजनिक हुन थालेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि एकसाथ हुने निर्वाचनमा कुनै दलबाट कसले उम्मेदवारी पाउने छन् जिज्ञासा पनि त्यत्तिकै बढ्न थालेको छ । संविधान जारी भएपछिको दोस्रो आवधिक निर्वाचन शान्तिपूर्ण र निर्बिध्न सम्पन्न गर्ने एउटा मुख्य जिम्मेवार सरकारको हो । त्यही सरकारमा सामेल पाँच दलीय गठबन्धनभित्रका दलहरु आफ्नो सिट सुरक्षित गर्ने दाउमा उत्तिनै कसरत गर्दैछन् । गठबन्धन कै हिसाबले निर्वाचनको सामना गर्ने पाँच दलीय शीर्ष नेतृत्वको समान धारणा भए पनि सिटको बाँडफाँड उनीहरुका लागि टाउको दुखाइको विषय बनिरहेको छ । प्रतिपक्षमा रहेको नेकपा एमाले पनि निर्वाचनमा तालमेल गर्ने मनस्थितिमा देखिएको छ भने बहुदलीय प्रणालीभित्र एकदलीय चरित्र देखिन थाल्यो भनेर टिप्पणी भइरहेको छ ।

निर्वाचन लक्षित रणनीति बनाउनु राजनीतिक दलहरुको धर्म नै हो । त्यही धर्म निर्वाह गर्दै सकेसम्म आफ्नो बहुमत आओस् र आफ्नै नेतृत्वमा सरकार बनाउँछु भन्नु पनि स्वभाविक नै हो । तर, सरकारको नेतृत्व गर्ने वा सरकार बनाउने नाममा अपवित्र तालमेल वा साठगाँठ समाज एवम् राष्ट्रको समृद्धिमा सहायक हुन सक्दैन । यद्यपि राजनीतिमा स्थायी शत्रू वा स्थायी मित्र हुँदैन भनिन्छ । त्यसैले सत्ता प्राप्तिको दौड र प्रतिष्पर्धामा जो जहाँसुकै र जो कोहीसँग तालमेल गर्न तयार भएको विगतका उदाहरण छन् । त्यसैले पनि निर्वाचन स्वच्छ, पारदर्शी, निष्पक्ष, धाँधलीरहीत स्वतन्त्र ढंगले सम्पन्न हुन सकेका छैनन् ।

यो समय नै निर्वाचनको समय हो । त्यहीकारण प्रत्येक निर्वाचन क्षेत्रका सम्भावित उम्मेदवारहरुको चर्चा हुन थालेको छ । झापाको २ नम्बर क्षेत्रबाट विगतमा मन्त्री भइसकेका कांग्रेसका नेताहरु केशवकुमार बुढाथोकी र सरिता प्रसाईंले प्रतिनिधिसभा सदस्य पदको आकांक्षा प्रकट गरेका छन् । त्यस्तै संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी र चिया उद्योगी छत्र गिरीले आ–आफ्नो उम्मेदवारी घोषण गरेका छन् । त्यस्तै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी दलका तर्फबाट पनि बहस शुरु भए पनि आधिकारिक घोषणा भइसकेको छैन । उम्मेदवार बन्न आकांक्षा राख्नु सबैको अधिकार र स्वतन्त्रता हुनसक्छ, तर दलले कसलाई टिकट दिन्छ त्यो पछिको कुरा हो । तर, यसपटक मतदाताले भने विगतमा जस्तो लोभ, सपना र आश्वासनमा अलमलिनु हुँदैन । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा हुन सक्ने, आश लाग्दा र सम्भावना बोकेका युवाहरुबाट योग्यतम् उम्मेदवारको चयन गर्ने, मतदाता सचेत र सजग हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here