झापा, बिर्तामोड नगरपालिका वडा नम्वर १० मा रहेको चमरधाप प्राथमिक विद्यालयमा २४ लाख रुपैयाँको लागतमा राउण्ड टेवल अफ बिर्तामोडले दुई कोठे पक्की भवन निर्माण गरेको छ ।
भौतिक संरचना अभावमा जीर्ण भवनमा राखेर विद्यार्थीलाई पठनपाठन गराउँदै आएको सो बिद्यालयलाई सामाजिक उत्तर दायित्व अन्तरगत राउण्ड टेवल अफ बिर्तामोडले पक्की भवन निर्माण गरिदिएको हो । निर्मित भवनको बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले संयुक्त रुपमा उद्घाटन गर्दै व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।
जीर्ण भएका भवनको स्तरोन्नति गर्ने दायित्व स्थानीय सरकारको भएपनि सामाजिक क्षेत्रमा क्रियाशील राउण्ड टेवल अफ बिर्तामोडले विद्यालयको भवन निर्माणमा सहयोग पु¥याएर उदाहरणीय कार्य गरेको नगरप्रमुख प्रसाईले बताउनुभयो ।
‘फेलोसिप प्रोग्राम’ मा केन्द्रीत रहेको राउण्ड टेबलले पछिल्लो समय शिक्षामा लगानी गर्न शुरु गरेको राउण्ड टेवल अफ बिर्तामोडका अध्यक्ष अमित बंशलले बताउनुभयो । विद्यालय भवन हस्तान्तरण कार्यक्रममा राउण्ड टेबलका केन्द्रीय अध्यक्ष आनन्द बाहेती , बिर्तामोड नगरपालिका १० का वडाध्यक्ष दूर्योधन गुरुङ, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रिमनध्वज लोक्ताम, बिद्यालयका प्रधान अध्यापक नरेन्द्र गुरुङ लगायतले राउण्ड टेवलले शिक्षाका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
राउण्ड टेवल अफ बिर्तामोडका सचिब मनोज गोयलले स्वागत गर्नु भएको कार्यक्रममा राउण्ड टेवलका पूर्व अध्यक्ष सुमित साहेवालाले औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।
राउण्ड टेवल अफ बिर्तामोडले सो बिद्यालयमा दुई वटा कक्षा कोठा निर्माणसंगै विद्यालयको पाँच कक्षा क्षेत्रफलमा घेरावेराका लागि कम्पाउण्डबाल समेत निर्माण गरेको सूचना अधिकारी दीपक मित्तलले बताउनुभयो । त्यस्तै यो वर्ष भित्रै दुईवटा छात्रामैत्री शौचालय र खानेपानीको धारा समेत जडान गर्ने कार्यक्रम रहेको मित्तलको भनाई छ ।
यस अघि राउण्ड टेवल अफ बिर्तामोडले अनारमनी आधारभूत विद्यालयमा कम्प्युटर ल्याव, खानेपानी र बिद्युत पङ्खा समेत जडान गरेको थियो भने तीन लाख रुपैयाँ बरावरको विभिन्न सामग्री प्रदान गरेको थियो । –––































