काठमाडौं कि काटमारौं ?

0
193

ए लक्षुमन तिमी त पढ्नमा निकै अब्बल छौ । कक्षामा जहिल्यै पहिला या दोस्रो हुन्छौ । यति राम्रो पढ्ने विद्यार्थी भएर के यो गाउँको स्कूलमा पढि बसेको ? जाऊ शहरतिर । भविष्यमा जागिरका लागि आवेदन गर्दा गाउँका स्कूललाई महत्व दिन्छन् कि शहरकालाई ? लक्ष्मणले सोच्यो निश्चय नै शहरकालाई महत्व दिन्छन् ।

लक्ष्मणका बाबु–आमा सन्तान र आफ्नो भविष्यका लागि शहर पस्ने निधो गर्दछन् । उनीहरुलाई गाउँ छाड्न सजिलै भयो किनकि गाउँमा उनीहरुको सम्पत्ति या जग्गा केही छैन । कोही धनीको खेतको कुनामा पैनीको डिलमा बाँसघारीनेर बाँसका भाटाका बेरा भएको र टिनको छाना भएको सानो टहरो छाडेर हिँडन कुनै लोभ भएन । शहर पसेर अरु धेरैले गरे जस्तै सानातिनो इलम गर्ने, थोरैतिनो आम्दानी गर्ने अरुले जस्तै सन्तानलाई शहरको स्कूलमा पढाउने । शहरमा पढेको छोराले पछि राम्रो जागिर पाएपछि बाबु–आमालाई हेर्ला । यस्तै सोचेर लक्ष्मणका परिवार शहर पस्छन् ।

लक्ष्मणहरुलाई समयले साथ दियो या भाग्यले । उनीहरुले फुटपाथमा पसल थापिरहनु परेन । पसल बेलुकी उठाइरहनु परेन । घाम र पानी, ट्राफिक प्रहरी र नगर प्रहरीहरुदेखि लुकामारी र भागारेभाग पनि गरिरहनु परेन । उनीहरुले शहरको सडकमा सटरमा त होइन कुनै पुरानो घरको आडमा टिनको एकपाखे पसल कबल भाडामा पाएका छन् । लक्ष्मणहरुले जानेको त केही होइन इलम गर्न तर भात तिहून, खाजा र चिया पकाएर खान त जानेकै छन् । हो त्यही सीप प्रयोग गरि चिया खाजा र भात तिहून पनि पाइने सानो होटल सञ्चालन गर्दछन् । साँझ परेपछि यसो सुरुप्प या टुइच्च चुस्की लगाउनेहरुका लागि पनि बन्दबस्त गरेका छन् ।

महिना दिनसम्म त गाउँको याद आएर हैरान लक्ष्मणहरुलाई अब शहर निकै राम्रो लाग्न थाल्छ । उनीहरुले निकै मान्छेहरु चिन्छन् । दैनिक कुराकानी, भलाकुसारी, ठट्टा हँसिमजाकले शहरी जीवन रहमाइलै लाग्छ । जिन्दगी सुध्रिन्छ कि क्या हो भन्ने आशाका किरण देख्दा उनीहरु त्यो शहरका मानिसहरुलाई धन्यवाद दिन्छन् । शहरको पालिकालाई पनि धन्यवाद दिन्छन् । किनकि एउटा गरीब परिवारलाई आश्रय दिएको छ, जीवन गुजारा गर्न दिएको छ र लक्ष्मण जस्तो पढ्न चाहने बालकलाई पढ्नका लागि महँगा पुस्तक, कापी, कलम, ड्रेस किन्न र स्कूल फिस तिर्न केही आम्दानी गर्ने अवसर प्रदान गरेको छ । लक्ष्मणहरु सोच्दछन्, आहा शहरका मानिसहरु कति राम्रा र गुणी हुँदारहेछन् ।

लक्ष्मण स्कूल जाँदा र आउँदा शहरका सडकका पसलहरु, व्यवसायहरु नियाल्ने गर्दछ । उसको परिवारको जस्तै हैसियत भएका मानिसहरुबारे बुझ्दछ । शहरका बिल्डिङ्गमा, सटरहरुमा पसल गर्नेहरु, ती बिल्डिङ्गमा आड लागेर पसल गर्नेहरु र फुटपाथमा सानातिना पसल गर्नेहरुका अवस्था र ग्राहकहरुबारे अवलोकन गर्दछ । लक्ष्मणले स्कूलमा पढेको इकोसिस्टमसँग यी कुराहरु दाँज्दछ । वास्तवमा शहरका यी गतिविधिहरु पनि इकोसिस्टम जस्तै पाउँछ लक्ष्मण ।

एकदिन लक्ष्मण स्कूलबाट खुशी हुँदै आएर बाबु आमालाई भन्छ– भोलि स्कूलमा रिजल्ट छ । प्रिन्सिपल सरले भन्नुभएको मैले कक्षाभरिकै उच्च स्थान ल्याएको छु रे तर स्कूलमा मेरो फिस तिरिसक्नु अनि मात्र रिजल्ट पाउँछस् भन्नुभएको छ । स्कूल गएर मेरो फिस तिरिदिनु न । लक्ष्मणका बाबु–आमा भन्छन्– ला बाबु भोलि नै त तेरो फिस तिर्ने पैसा कहाँबाट निकाल्नु ? हाम्रो पसलले कमाएछ भने केही दिनपछि अवश्यै तेरो फिस तिरेर रिजल ल्याउँला है । लक्ष्मण गह्रौँ गरि हुन्छ त, भन्छ ।

भोलिपल्ट बिहान, लक्ष्मणका आमा बाबु, लु अब पसल चाँडै खोल्नु पर्छ । बिहानै चिया खाजा बेचेर पैसा जोहो गरेर लक्षुमनको स्कूलको फिस तिर्नु पर्छ अनि रिजल ल्याउनुपर्छ । यसो भन्दै उनीहरु तीनै जना डेराबाट निस्केर पसल जान्छन् । तर, पसलनेर पुग्दा आफ्नो पसल गायब भएको पाउँछन् । पसलको छानाको टिन, बेरा, भाँडावर्तनहरु यत्रतत्र टुटेफुटेर छरिएका छन् । अलि राम्रा चिज जस्तै टेबल, कुर्सी, मेच, ग्यासका चुला, ट्याङ्की, बाल्टी र पानीका मग चाहिँ लगेछन् । बिहानै पालिकाको डोजर आएर लक्ष्मणहरुको पसलका साथै आसपासका घरमा आड लागेर बनेका पसल कबल, टहराहरु भत्काएर गएछ । त्यहाँ बाँकी थियो मानिसहरुका भिड अनि थियो समर्थन र आक्रोश ।

रोजीरोटी गुमाएका अरुसँगै पुर्पुरोमा हात लाएर रुन थाल्छन् लक्ष्मणहरु । भिडबाट कोही भन्छन्– गरीब दुःखीलाई सबैले हेप्दा रहेछन् । गरीबको हुर्मत लिएर कस्तो बहादुरी कमाए होलान् । अर्का भन्छन्– गरीबलाई शहरको शत्रु ठान्छन् क्यार । बीचैमा कोही भन्छन्– साना पसलेहरुले कति नै बाटो छेके र ? यो शहरमा हिँड्नेहरु के अमेरिका, जापान पुग्ने हुन् ? पक्कै होइन, यतै कतै घरमा या कतै नजिकै पुग्ने हुन् । अनि बिल्डिङ्ग र सटरहरुमा पसल गर्नेहरुको आम्दानी खोसे त साना पसलेहरुले ? त्यो पनि होइन । साना पसलमा सस्ता सामान पाइन्छन् । सटरहरुमा धेरै दामका सामान पाइन्छन् । सटरमा किन्ने ग्राहकका हैसियत त्यस्तै हुन्छन् र उनीहरु सटरहरुमै जान्छन् । साना पसलमा किन्ने ग्राहकहरु सटर र सुपर मार्केतिर किन्न जाँदैनन् ।

अर्का जना भन्छन्– पालिकाले सर्वप्रथम पालिका सम्बद्ध आफ्नै पदाधिकारी, कर्मचारी र पालिका क्षेत्रभित्र बस्ने सांसद, मन्त्री, उच्च पदस्त, धनीहरुको नक्सा बेगरका संरचना भत्काउनु चाहिँ सही कदम हुन्थ्यो । कहाँ गरीबहरुलाई बिचल्ली पार्न आइपुगेको ? कोही भन्छन्– धनी र उच्चहरुका संरचना पनि भत्काउँदैछ त पालिकाले । एकजना भन्छन्– तर पक्षपाती किसिमले । अर्का कोही भन्छन्– बाटो जाम हुने गरी बनेका, नक्सा बाहेकका र अनधिकृत संरचना हटाएर पालिकाले ठीकै काम गरेको हो त । मकै पिस्दा घुन पनि पिसिन्छ भने जस्तै धनी अतिक्रमणकारीको अनधिकृत संरचना हटाउने क्रममा गरीब–दुःखी पनि पर्नु स्वभाविकै हो । कानून सबैलाई बराबर हुन्छ भनेर पालिकाले भन्दै छ त ।

यत्तिकैमा कोही भन्छन्– यो प्राचीन, ऐतिहासिक, सांस्कृतिक र कलात्मक शहर हो भनेर अध्ययन मनन गर्न पालिकाका पदाधिकारीका क्षमताले भ्याएन । यो शहर यस्तै विशेषताकै रहनु पर्दछ । आधुनिक मात्र बनाउन खोज्नु मुर्खता हो । आधुनिक शहर अन्य कुनै ठाउँमा बनाउनुपर्छ यहाँ होइन । यो शहर त प्राचीन गुणले भरिपूर्ण छ । त्यही कुरा त हेर्न आउँछन् यहाँ पर्यटकहरु । शहरका सडकका किनारामा मेचमा बसेर विविध नेपाली परिकारका स्वाद लिँदै भलाकुसारी गर्दै, मठ, मन्दिर, चैत्य आदि कला हेर्दै रमाउन आउँछन् विश्वभरका पर्यटकहरु । अनि यस्तै कुरा भत्काएर के गर्न खोजेका हुन् मुर्खहरुले ? कुनै षडयन्त्रकारी डिजाइनको गन्ध आइरहेको थाहा पाउनु हुन्न तपइँहरुले ?

कोही भन्छन्– सबै कुरा नक्साले मात्र समेटन सक्दैन । नक्सा त घरको एक खास संकेत हो । नक्सा अनुसारको मात्र घरको संरचना हुन्छ भन्नु अक्कलविहीन हुनु हो । नक्सा अनुसारका संरचनाले मात्र जनताका व्यवहारिक आवश्यकता पूर्ति हुँदैन । मूल घरको नक्सा हुन्छ, तर घरको आडको पाखे टहरा, पाली, भान्छाघर, गोठ, बाख्रा–कुख्राका खोर, गाडीको टहरा, रखनधरनको खोपी आदिको नक्सा हुँदैन । कोही भन्छन्– कि त पालिकाले घर–घरमै आएर नक्सा बनाएर दिनुपर्दछ । पालिकाको काम के ? जनतासँग पैसा असुल्नु र अनि जनतालाई नै थर्काउनु मात्र हो काम ? मात्तिएका पालिकाको अधिकार कटौती गर्नुपर्छ । कोही भन्छन्– जनताका सम्पती भत्काउने पालिकाका नयाँ पदाधिकारी सन्काहा, पागल र कोरा दिमागका हुन् । अर्का भन्छन्– सामन्ती हुन् पालिका पदाधिकारी । पार्किङ्ग स्थल भन्दै स्थानहरु खाली गराउनुको रहस्य कतै विदेशी मोटर कम्पनीहरुसँग आर्थिक साँठगाँठ त छैन ? शंका गर्ने ठाउँ छ कि छैन ?

अरु कोही भन्छन्– कतिपयले राम्रो काम गर्दैछ पालिकाले भन्दैछन् त । कोही भन्छन्– यी सब पहिल्यै लेखिएका नाटक मञ्चन गरिएका हुन् । अहिलेका पालिका पदाधिकारी सिर्जनाकार होइन रहेछन्, भत्काउने, बिगार्ने डिजास्टरस रहेछन् । बीचैमा अर्का भन्छन्– संविधानले दिएको सबै अधिकार प्रयोग गर्ने रे नि त । जवाफमा कोही भन्छन्– अरे संविधानले त रचनात्मक र सिर्जनात्मक अधिकार दिएको छ, कहाँ राक्षसले जस्तो क्षति गर्ने अधिकार दिएको छ ? अर्का जना भन्छन्– महानगरका नयाँ मेयरले सुन्दर राजधानी शहरलाई राजखानी शहर बनाउँदै छन् । कोही भन्छन– हैट त्यसो नभन्नु है पक्राउ पर्नु होला नि । मेयरले धेरै राम्रो काम गर्दैछन् भनेर धेरैले भन्दैछन् ।

यत्तिकैमा बालक लक्ष्मण भिडको बीचमा आएर भन्छ– कृपया केही नभन्नुहोस् कसैले पनि । कोही भन्छन्– अरे बाबु हामी तिमीहरुकै पक्षमा कुरा गरिरहेका छौँ अनि तिमी चाहिँ उल्टै ? लक्ष्मण भन्छ– हो थाहा छ, तर पनि केही नभनिदिनुहोस् । कसले कस्तो काम गरे भन्ने कुरा समयले बताउला । हामी गरीब त हद्दे भए कतै मरिजाऔँला । अनि त पालिकाहरुलाई सन्चै हुन्छ । लक्ष्मणले यति भने पछि भिड के–के भुतभुताउँदै तितरबितर हुन्छ ।

लक्ष्मणका बाबु भन्छन्– अब कहाँ जाने होला ? लक्ष्मण भन्छ– जाऔँ बाबा गाउँतिरै, यो राजधानी शहर महानगरले साह्रै रुवायो । मेरो बालअधिकार खोस्यो । मेरो पढाई र भविष्य अनिश्चित गरिदियो । बाबु सोध्छन्– कुन गाउँ जानु ? लक्ष्मण भन्छ– उही हाम्रै गाउँ, उही साहुको बारीमा, पैनीको डिलमा । यत्तिकैमा लक्षमणकी आमा भन्छिन्– जानु पर्दैन कतै । लक्ष्मणका बाबु सोध्छन्– अनि कहाँ अडिनु त ? लक्ष्मणकी आमा पुनः बोल्छिन्, यो काठमाडौं शहर होइन रहेछ, यो त काटमारौ शहर रहेछ । देशले देखिनसहेपछि ल हिडौँ सबै अब भीर तिर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here