सिटौलाको एउटा निर्णयले फेरिएको राजनीति स्वरुप

0
353

अघिल्लो संसदीय निर्वाचनमा पार्टीले उम्मेदवार बनाउने सवालमा प्रतिनिधिको कुरा उठ्दा झापा जिल्लामा कांग्रेसका सबैभन्दा शक्तिशाली व्यक्ति कृष्णप्रसाद सिटौलालाई समानुपातिक सूचीको एक नम्बरमा राखेको समाचार व्याप्त भयो । हामी आममान्छेले समाचार सुन्ने नै हो, देख्ने गरीको सूचना हेर्ने पनि हो । त्यही हेरेर र देखेर आ–आफ्नो धारणा बनाउने पनि हो ।

दलीय प्रणालीमा दलले पठाएका प्रतिनिधिहरु मध्येबाट नै अधिकांश निर्वाचित हुन्छन् । त्यो हुनुमा अधिकांश व्यक्ति कुनै न कुनै दलसँग आवद्ध भएकाले हो । दलको विधि, प्रक्रिया स्वीकार गर्छु भनेर पार्टीको सदस्य भएर बसेको हुन्छ । त्यसैले दलले पठाएको प्रतिनिधि मन परे पनि नपरे पनि उसलाई विजयी गराउन लागि पर्छ । किनकि त्यहाँ त्यो प्रतिनिधि व्यक्तिभन्दा पर पार्टीको प्रतिनिधि भएर उभिएको हुन्छ ।

सिटौलाको बारेमा समाचार आउनुमा राष्ट्रिय राजनीतिमा दलीय ध्रुवीयकरणले भूमिका खेलेको थियो । त्यसबेला एमाले र माओवादीले पार्टी एकता गर्ने गरी एजेण्डा अघि सारेर चुनावी समिकरण गरेका थिए । देशको ठूलो पार्टी भएको कांग्रेस एकाएक दबावमा परेको थियो । कुनै साना दलसँग मिलेर भए पनि आफ्नो अस्तित्व बचाउने तर्फ ऊ केन्द्रित थियो । अर्थात् कांग्रेस रक्षात्मक अवस्थामा पुगेको थियो ।

त्यसै सिलसिलामा देशभरि नेपाली कांग्रेसले कमल थापाको नेतृत्व भएको राप्रपासँग पनि तालमेल गरेको थियो । त्यो तालमेलकै क्रममा झापाको ३ नम्बर क्षेत्र (जहाँ कृष्ण सिटौला त्यसअघि छ पटक चुनाव लडेका थिए, तीन पटक जितेका र तीन पटक हारेका पनि थिए) राप्रपाका राजेन्द्र लिङ्देनलाई छाड्नुपर्ने भयो । जहाँ राप्रपा कांग्रेसपछिको दोस्रो शक्तिको रुपमा उदाउँदै थियो ।

कृष्ण सिटौलाको नाम समानुपातिकको सूचीमा आएपछि उनी विदेशतिर गएको भन्ने समाचार सुनियो । उनी आएको समाचार पनि सुनियो । आफू समानुपातिकमा बस्ने कुरा मिथ्या हो भन्ने पनि सुनियो । त्यसअघि देउवासँगको सहमतिमा समानुपातिक बसेको भन्ने समाचारमा एकाएक उनको सहमति बेगर देउवाले राखेको भन्ने पनि सुनियो । हुँदाहुँदा झापा ३ नम्बरबाट कृष्ण सिटौला प्रत्यक्षतर्फ चुनाव लड्ने भन्ने सुनियो । त्यसपछि देशभरि तालमेल भएको राप्रपासँग झापामा तालमेल टुटेको समाचार सुनियो । अनि एकाएक नयाँ समिकरणको सूचना बाहिर आयो, झापा जिल्लामा राप्रपा समेत एमाले–माओवादीसँग तालमेल गरेर कांग्रेसका विरुद्ध चुनावी मैदान तयार भयो ।

आममान्छे समाचार हेर्ने र घटना–परिघटनाको विश्लेषण गर्ने मात्र हो । निर्णय प्रक्रियामा उसको कुनै हात हुँदैन । जनता के चाहन्छन् भन्ने नेताहरुले बुझ्दैनन् । उनीहरुको वरपरको एउटा साँधुरो घेरा सधैँ हुन्छ, जसले नेतालाई खुशी पार्न खुशी हुने विषय मात्र सुनाउँछ । झापामा एकाएक त्यस्तै भयो ।

समाचार फेरि पढियो, कृष्ण सिटौलाले– ‘जुन प्रणालीको विरुद्ध आन्दोलन गरेर गणतन्त्र स्थापना गरियो, त्यहीसँग साझेदारी गरेर ३ नम्बर क्षेत्रका कांग्रेसीहरुले राप्रपालाई भोट हालेर सिद्धान्तको खिल्ली नउडाउने भन्नुभयो ।’

बजारमा अर्को हल्ला आयो ।खासमा एमालेका केपी ओलीलाई जिताउन कृष्ण सिटौलाले झापामा राप्रपासँगको तालमेल तोडेका हुन् । विगतमा झापाका कुमाइहरुबीच भएको एकअर्कालाई जिताउने सहमति अनुसार यो भएको हो । झापामा कृष्ण सिटौला र केपी ओली दुबै हार्दैनन्, एकअर्कालाई जिताउँछन् ।

अनुमान माथि भनिएको जस्तै थियो । किनभने राप्रपासँग तालमेल नगर्दा ५ नम्बर क्षेत्रबाट केपी शर्मा ओलीको विजयमाथि प्रश्नचिन्ह ठडिएको थियो । त्यहाँ एमाले पहिलो, राप्रपा दोस्रो, कांग्रेस तेस्रो र माओवादी चौथो मतभारमा थिए । कांग्रेसको राप्रपासँगको झापा समिकरण टुट्नु केपी ओलीको लागि हर्षको विषय थियो । राप्रपाले ५ नम्बर एमालेलेलाई सघाएर ३ नम्बरमा आफूले लियो । राप्रपाको तालमेल दुबै पार्टीलाई फाप्यो । केपी ओली र राजेन्द्र लिङ्देन दुबै विजयी भए । झापामा कांग्रेस शून्य भयो ।

कृष्ण सिटौलाको प्रत्यक्ष निर्वाचन लड्ने एउटा निर्णयले के–के भयो त ? प्रश्न यहाँनेर छ । पहिलो त राप्रपालाई सधैँको लागि एमाले नजिक पु¥याइ दियो । अहिलेको निर्वाचनमा पनि झापामा राप्रपा एमालेसँगको गठजोडमा व्यस्त छ । दोस्रो जीतको नजिक भएका झापाका १, २ र ५ नम्बर क्षेत्र हातबाट उम्किए गयो ।

त्यो भन्दा ठूलो कुरा, देशको राजनीतिमा नयाँ समिकरणको निर्माण ग¥यो । जितेपछि केपी ओली प्रधानमन्त्री भए । नेपाल कम्युनिष्ट पार्टी बन्यो, संसद झण्डै दुईतिहाइको नजिक पुग्यो । ठूलो दलभित्र संगठन र सरकार चलाउने गरी भएका सहमति पूरा नभएको भनेर द्वन्द्व शुरु भयो । पार्टी फुट्यो, संसद विगठन भयो, मुद्दा प¥यो । अपर्याप्त सांसद संख्या भएको कांग्रेसलाई कम्युनिष्टहरुले नै पुनः सरकारमा पु¥याए ।

अगाडि हेर्ने भएर पछाडिका कयौं घटनाहरु हामी बिर्सिन्छौं । तर, यसरी सोचौं, यदि त्यो निर्वाचनमा केपी ओली पराजित भएको भए देशको आजको राजनीतिक संरचना कुन प्रकारको हुन्थ्यो ? यो अवस्था आउनमा कृष्ण सिटौलाले पार्टीभित्र बसेरको निर्णय लत्याउँदाको परिणाम हो कि होइन । यदि पहिला हामीले सुनेका समाचार सत्य हुन् भने ।

कृष्ण सिटौलाले किन त्यसो गरे होलान् ? थुप्रै अनुमान र सत्यहरु छन् । एक दिन केशवकुमार बुढाथोकीले अनौपचारिक सम्वादका रुपमा मलाई भन्नुभयो– ‘‘र’ का एकजना एजेन्ट आएर कृष्णप्रसाद सिटौलालाई हराउनुपर्छ भनेर गएका थिए चुनावका बेलामा ।’ त्यसको कारणको रुपमा भारतको इच्छा विपरीत संविधान घोषणा गर्न सुशिल कोइरालालाई रोक्नुको सट्टा उनी समेत लागेर संविधान लागू गराएका थिए भन्ने भारतीयलाई परेको रहेछ ।

अर्को कुरा, गणतन्त्र स्थापनाको बेलामा कृष्ण सिटौला गृहमन्त्री थिए । राजा ज्ञानेन्द्रलाई गद्दीच्युत गर्न गृहमन्त्रीको हैसियतले उनी आफै पुगेका थिए । राजा ज्ञानेन्द्र उनीप्रति खुशी हुनपर्ने कुनै कारण छैन । उनलाई सधैँ डर रहन्छ, झापामा बसेर ज्ञानेन्द्रले उनको विरुद्धमा मान्छेहरु प्रयोग गर्नेछन् । त्यसमाथि पनि राप्रपासँग तालमेल सिटौला आफैले टुटाउनु उनीहरुका लागि अझ सजिलो बाटो बन्यो ।

यस विषयमा लामो बहस गर्न सकिन्छ । तर, मैले उठान गर्न खोजेको विषय यो होइन कि कसले जित्यो, कसले हा¥यो । मैले भन्न खोजेको एउटा मात्रै कुरा छ– शक्तिमा भएका एउटा नेताको गलत निर्णयले राज्यले कस्तो दुर्दशा भोग्नु पर्दोरहेछ । आज फेरि एउटा त्यस्तै जटिल मोडमा पुगेको छ देश । निर्वाचनको मुखमा छौं हामी । ज्यानमाराहरु, गुण्डा नाइकेहरु, भ्रष्टाचारीहरु, राजनीतिमा मार–काट भन्नेहरु, सेवाभावभन्दा बढी पैसाको अभिमान भएकाहरुलाई पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस भइरहेका छन् । दलका शिर्षनेताहरुलाई भोलि प्रधानमन्त्री हुनुछ । त्यसैले पैसा र शक्तिको जोहो गर्न लागेका छन् । हामी आममान्छेहरुले मात्र माटोको माया गरेर पुग्दैन । हाम्रा दैनिकीहरुमा तपाईहरुको निर्णयले ठूलो प्रभाव पार्छ । चारघेराबाट बाहिर निस्किएर सभ्य र भव्य समाज निर्माणमा नेताहरुले सही निर्णय गरिदिए पुग्थ्यो भन्ने मात्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here