सार्थक जीवन बाँचेका आचार्य

१ आश्विन २०७९, शनिबार मा प्रकाशित

क) पृष्ठभूमि :
कवि जीवन आचार्य थोरै बाँचे तर नेपाली साहित्य तथा कला क्षेत्रमा एउटा सिंगो युग नै दिएर गए । एउटै जीवनमा दुई सम्मानित व्यक्तित्व बोकेका थिए, प्रयोगधर्मी जीवन आचार्यले । मलाई लाग्छ उनका तत्कालीन कविताहरु नयाँ गणतान्त्रिक परिवेशमा पनि सान्दर्भिक छन्, समसामयिक छन् । त्यस्तै उनको अर्को व्यक्तित्व चित्रकलाले सामन्त व्यवस्थाको उच्छेदका लागि व्यङ्ग अभिव्यक्ति दिएका छन् । कविताले अभिव्यक्ति दिन अधुरो भए त्यसलाई रङ्गको लेपनद्वारा अभिव्यक्तिमा पूर्णता दिन चाहने कवि आचार्यले २०४६ साल चैत्रबाट शुरु भएको पहिलो जनआन्दोलन र निरंकुश राजतन्त्रको उच्छेदलाई आफ्नै आँखाले देख्नै नपाई २०४६ साल बैशाख २३ गते आफ्नो ३० बर्षको अल्पायुमा नै सम्भावित क्रान्तिलाई अधुरै छाडेर गए । त्यतिबेला पञ्चायती निरंकुशताको उत्कर्षकाल थियो र सचेत स्रष्टाहरु त्यसको प्रतिपक्षमा पंक्तिबद्ध हुँदै गइरहेका थिए । देश वैचारिकरुपले ‘देशान्तर’ तथा ‘दृष्टि’मा भङ्गालिएर मानव अधिकार, वाक्स्वतन्त्रता, सांस्कृतिक रुपान्तरण तथा प्रजातन्त्र खोजिरहेका थिए । प्रजातन्त्रवादीहरुको मुखपत्र ‘देशान्तर’बाट चर्चित स्तम्भ अर्थात्ले सामन्तवाद माथि धावा बोलिरहेका थिए । उनको अभिव्यक्तिमा निरंकुशताबिरुद्धको विप्लव थियो, विद्रोह थियो । उनको पहिलो कविता संग्रह ‘अन्तहीन शुरुवात (२०४०)’ निरन्तर क्रान्ति र परिवर्तनको यात्राको लागि विम्व बनेको छ र यो अहिले पनि ४० को दशकमा जत्तिकै सान्दर्भिक छ ।

नेपालमा राजनीतिक क्रान्ति हुने र फेरि प्रतिक्रान्तिमा बदलिने र त्यसपछि फेरि बलिदान र आत्मत्याग खाँचो भइरहने दुर्भाग्य नै ‘अन्त्यहीन शुरुवात’को भाव अहिले पनि हामीले भोगिरहेका छौं । यस संग्रहभित्रका अन्त्यहीन शुरुवात, लेउ, च्याउ र खिया, म नहारेको भए तिमीले कसरी जित्थ्यौ, जल्न बाँकी सिंहदरवारका फाइलहरु उनका बेजोड कविताहरु हुन् र यी नेपाली विद्रुप राज्यसत्ताबिरुद्ध लक्षित छन् । ‘जल्न बाँकी सिंहदरवारका फाइलहरु’ कविताले सिंहदरवारभित्रको भ्रष्टाचारलाई छोप्न चाहने बेइमानहरुको आगजनीको प्रपञ्चको विम्व बनेर उभिएको छ र यसले अहिलेको गणतन्त्रमा पनि सान्दर्भिक बनेर व्यङ्ग झोसिरहेको छ । उनी साँच्चै नै मोतीराम भट्ट र जनकवि गोकुल जोशी झैं ३० बर्षमै गए, अल्पायुमै गए, तर सिंगो युगकै व्यथा र पीडालाई शब्द र रंगले लिपेर गए । उनी आफू अन्त्य भए पनि लेखन र लेपन अहिले पनि फेरि यात्राको शुरुवातमा छ र सम्भावित नयाँ परिवर्तनको निरन्तर खोजीमा छ ।

ख) कवि जीवन आचार्यसगको परिचय :

कवि जीवन आचार्य बुवा साहित्यकार कमल ‘जङ्गली’ तथा आमा जयकला आचार्यको जेठो छोरा थिए । उनको जन्म पाँचथर जिल्ला याशोक गाविस वडा नं. ७ चुचुरेमा वि.सं. २०१५ सालमा भएको थियो । उनका बुबा कमल ‘जङ्गली’ (आचार्य)ले आफ्नो आत्म–संस्मरण ‘मेरो जीवन यात्रा’मा भनेका छन्– ‘गर्भमा कुपोषण भएर होला जीवनको दाहिने खुट्टामा पोलियो थियो ।’ जन्मदै छोराको अपाङ्गताले बुवा, आमा तथा हजुरबुवा र सबैमा ठूलो पीडा थियो । त्यो बेलाको चलन अनुसार परम्परागत विधि धामी–झाँक्री सबैको प्रयोग भयो । वीपी स्वास्थ्य केन्द्र, धरानमा उनलाई तीन महिना उपचार गरियो तर सुधार भएन । त्यसपछि आफ्नै विकट गाउँ याशोकको चुचुरे गाउँमा कमल ‘जङ्गली’ निराश हुँदै अपाङ्ग छोरालाई लिएर फर्के । जेठा छोराको त्यो दुर्दशापूर्ण अवस्था परिवारमा सधैँको लागि मुटुको घाउ बनेर रह्यो ।
कमल ‘जङ्गली’ आचार्यको परिवार निम्न मध्यम वर्गीय थियो र पेटभर खान पनि धौ–धौ परिरहेको थियो । पहाडको ठाउँ खेतीपाती पउल नहुनाले उनीहरुको अवस्था कन्तविजोक थियो । पिता रामलाल र माता बसुन्धराबाट जन्मेका कमल ‘जङ्गली’ ११औं सन्तान थिए । उनी पाँच बर्षको नपुग्दै उनी मातृवात्सल्यबाट सदाको लागि विमुख हुन पुगे । आमा बसुन्धरा बित्दा उनका १४ सन्तान मध्ये दुई छोरा र तीन छोरीमात्र बचेका थिए । त्यो बेलाको अशिक्षाको अन्धकार समाजमा गाउँमा स्वास्थ्य केन्द्रको स्थापना र अवस्थिति सपनाको कुरा थियो । कोही सन्तान गर्भावस्थामा नै मरे त कोही विमारी परेर बिते । आमा बित्दा कमल ‘जङ्गली’ को ब्रतवन्ध नभएकोले उनका जेठा दाइले काजकिरिया गरे । उनका दुईवटी बहिनीहरु एउटी तीन महिना र अर्की बहिनी दुई बर्षका थिए र घरको दयनीय अवस्थाबाट संवेदित बनेर तीन महिने बहिनीलई काहिली फुपूले र दुई बर्षे बहिनीलाई ठूलीआमाले लालन पालन गर्न लगेका थिए । आमा बसुन्धराको निधनपछि घर अस्तव्यस्त बनेको थियो । सानोमा कमल आचार्य पाँच बर्ष नपुग्दै रानीवनतिर प्रायः घुम्न र खेल्न जान्थे । आमाले उनलाई खोज्न जाँदा एक्लै उनी जङ्गलतिर खेलिरहेका भेटिन्थे । उनलाई सन्त्रास थियो छोरालाई जङ्गलमा बाघ भालुले आक्रमण गर्ने त होइन ! आमाले सानामा आफूलाई ‘जङ्गली’ भन्ने गरेकाले कमल आचार्यले ‘जङ्गली’ उपनाम राखेको देखिन्छ ।

आर्थिक अवस्था कमजोर भएकाले आफ्नो परिवारको जीवन निर्वाहलाई सहज बनाउन कमल ‘जङ्गली’ आचार्य आफ्ना बृद्ध बुवा, श्रीमती, छोरा छोरीसहित २०२५ सालमा दमकमा बसाइ सरे । जेठा छोरा जीवन आचार्यले त्यो बेलासम्म पहाडको गाउले पाठशाला शिद्धिशरणमा कक्षा ५ को अध्ययन गरिसकेका थिए । कमल ‘जङ्गली’ का २ छोराहरु मध्ये कान्छाको नाम टंकराज आचार्य थियो र उनको जन्म वि.सं. २०१८ सालमै यासोकको चुचुरेमा नै भएको थियो । एकमात्र छोरी राधा आचार्यको जन्म २०२२ साल माघ १९ गते थुम्वेदिन (ताप्लेजुङ)मा भएको थियो । त्यो बेला कमल जङ्गली त्यहाँ शिक्षण पेशामा कार्यरत थिए । उनी युवा अवस्थादेखि नै भ्रष्टाचार विरोधी थिए र स्वस्थ समाजको निर्माणमा लागि पर्ने इमान्दार समाजसेवी थिए । यासोकको पञ्चे नेता पद्मसुन्दर लावतीले केन्द्रबाट विभिन्न शीर्षकमा ल्याएको अनुदान रकममा भएको भ्रष्टाचार बारे उनले राजा महेन्द्र र पछि वीरेन्द्र समक्ष पनि बिन्तीपत्र चढाए र कारवाहीको लागि माग गरे । तर, केन्द्रसम्मै पहुँच भएका लावतीको अगाडि उनको केही चलेन । उनी उल्टै लावतीको प्रपञ्चमा परे । २०२३ सालदेखि नेपाल औलो उन्मूलन संघमा गर्दै आएको जागिर लावतीको कोपभाजनमा प¥यो र २०४० सालमा आफ्नो ज्यानै बचाउन पनि उनले पेशाबाट राजीनामा दिनु प¥यो । युवा जीवन आचार्यले घरपरिवारको दयनीय अवस्था र गाउँका सामन्तको तथा प्रशासनिक निरंकुशतालाई नजिकबाट अध्ययन गरिरहेका थिए र उनीभित्र प्रतिशोध र विप्लवी चेतना जन्मिरहेको थियो उनले देशमा परिवर्तनको जरुरी महशुस गरिरहेका थिए ।

२०३६ सालको शिक्षक आन्दोलन तथा जनमत संग्रहको रापतापका संघर्ष र सभाहरुको गल्छेडाहरुतिर कमल दाइसँग मेरो परिचय भएको थियो । शिक्षक आन्दोलनको नेताको हैसियतले अभिभावकहरुको भूमिका र समर्थन खोज्ने क्रममा मैले भेटेका भरपर्दा मित्र थिए कमल दाइ । उनी पञ्चायती सत्ताको कडा प्रतिपक्षी थिए र हाम्रा असल समर्थक । शिक्षक मित्र उमाकान्त खतिवडा उनका जेठान संगठनको प्रतिबद्ध सदस्य भएकाले पनि म कमल दाइसँग नजिक हुन पुगेको थिएँ र परिवारसँग एकाकार । भाइ जीवनसँग पनि म परिचित थिएँ ।

ग) जीवन आचार्यका सिर्जनात्मक क्रियाकलाप

कवि, कथाकार, पत्रकार, स्तम्भकार तथा चित्रकार जीवन आचार्यका कथाहरु मैले वि.सं.२०३६ सालदेखि नै पढ्दै आइरहेको थिएँ । कविता जस्तै उनका कथाहरु पनि विम्वहरुसँग खेलेको पाएको थिएँ र दुई–तीन पटक दोहो¥याएर अध्ययन गर्नुपर्ने र अर्थ खोज्नु पर्ने । उनले २०३४ सालमा ललितकला क्याम्पसमा भर्ना लिई २०३९ सालमा स्नातक प्राप्त गरेपछि ‘चित्रकला’ उनको जीवनको अर्को महत्वपूर्ण व्यक्तित्व बन्न पुग्यो । घरको आर्थिक अवस्था कमजोर र बुवाको जागिर पञ्चायती चाटुकार लावतीले खाइदिएपछि जीवनले आफ्नो जीवन निर्वाह आफै खोज्नु थियो । काठमाडौंको भीडमा बाँच्न कसैसँग अनुनय विनय गर्नुभन्दा आफ्नै बल–वर्गतमा उभिन खोजिरहेका थिए । पञ्चायत व्यवस्थाको क्रुरतामाथि प्रहार गर्ने प्रजातन्त्रवादी कित्तामा उनी जोडिएकाले उनलाई सजिलै जागिर दिने अवस्था थिएन । २०३६ सालको विद्यार्थी आन्दोलनले एउटा नयाँ परिवेशको जन्म भएको थियो र जनवर्गीय संगठनहरु उन्मुक्तिको लागि देशभर आन्दोलित थिए । गुरुकुलको डवलीमा कवि जीवन आचार्यले पाइला राखिसकेका थिए र काठमाडौंमा सडक कविता क्रान्ति (२०३६)मा दिलोज्यान दिएर लागेका थिए । ‘कान्छा’ र ‘बहादुर’को हीनताबोधबाट माथि उठ्न खोजिरहेका थिए र उनलाई ‘अर्राष्ट्रिय’ शब्द नै प्रिय थियो । देशमा उपनिवेशको ज्यादतीको ग्रहण उनलाई मन परेको थिएन ।

वि.सं. २०३७ सालपछि म शिक्षक संगठन, जनसांस्कृतिक मञ्च तथा बुद्धिजीवी संगठनको बैठकहरुमा सामेल हुन आवागमन गर्दा कवि जीवनसँग कहिले अनामनगरको सडकतिर त कहिले प्रदर्शनी मार्गतिर भेट्घाट हुन्थ्यो । उनीले अत्यन्त शालीन र नम्रभावमा कुराकानी गरेको अहिले पनि मेरो संस्मरणमा छ । उनी त्यो बेला अनामनगर तिर नै बसोबास गरे जस्तो लाग्छ । एउटा खुट्टा खोच्याएर आर्थिक अभावभित्र छट्पटाउँदै परिवर्तन खोज्ने उनी आफै एउटा बिम्व थिए । एउटा खुट्टाले राम्ररी काम नगर्ने विश्व प्रसिद्ध चाल्र्स डिकेन्स झैं लेखन र चित्रकलाको प्रौढताले उनी महान् छन् । डिकेन्स प्रसिद्ध उपन्यासकार थिए भने उनी प्रसिद्ध आधुनिक कवि, कथाकार र कुचीकार थिए ।

उनले ‘अकुञ्चन’ (२०३६) र आस्था (२०३६) जस्ता साहित्यिक पत्रिकाको सम्पादन गरेका थिए र आफ्नो लेखन क्षमताको विकास गर्दै थिए । उनी २२ बर्ष पुग्दा नपुग्दै २०४० सालमा ‘साहित्यिक पत्रकार महासंघ’बाट ‘व्यथित काव्य पुरस्कार’ प्राप्त गरेका थिए । २०४० साल पुष महिनादेखि २०४६ साल बैशाख २५ गतेसम्म ‘देशान्तर पत्रिका’ मा ‘अर्थात्’ स्तम्भमा व्यङ्गात्मक टिप्पणी लेखे र परिवर्तन खोजे । उनी निरंकुशताको विस्थापन र प्रजातन्त्रको स्थापना खोजी गरिरहेका थिए ।

कवि जीवन आचार्य मानवीय मूल्य स्थापना गर्न चाहने चेतनाका संवाहक थिए । परम्परागत रुपले घिसिँ्रदै आइरहेको सामाजिक, सांस्कृतिक, राजनीतिक रुढमाथि प्रहार गर्ने उनका कविताहरु साँच्चै नै वैचारिक क्रान्ति थिए । जीवनका कविताहरुलाई २०३५ देखि २०४१ साल र २०३६ देखि २०४६ सालसम्म दुई चरणमा छुट्याएर हेर्नुपर्ने हुन्छ । प्रसिद्ध नाटककार तथा कवि बालकृष्ण समले उनका कविताहरुलाई एउटा नयाँ मोडको रुपमा स्वीकारेका छन् र आधुनिकताको मोड मानेका छन् । त्यस्तै युगकवि सिद्धिचरण श्रेष्ठले आचार्यको कवितालाई विचारको दृष्टिले नयाँ फड्को मानेका छन् र उनका कवितामा यथार्थताको खोजी छ भनेर मूल्यांकन गरेका छन् । कवि आचार्यले पञ्चायती निरंकुशतालाई पर्दा मानेर अलिक विवश भएर भनेका छन्– ‘धूनहरु अभिमञ्चित गरेर पर्दाभित्र म, पर्दा उघ्रिने प्रतिक्षामा बसेको छु । पर्दा…उघ्रदैन ।’ तर, समीक्षक मदनमणि दीक्षितले उनलाई ढाढस दिँदै भन्छन्– ‘पर्दा उघ्रनै पर्छ जीवन…उघ्रनै पर्छ ।’

ईश्वर बल्लभ भन्छन्– ‘जीवन आचार्य प्रभावी भइसके । नेपाली दौतरी साहित्यमा उनको कवितामा नवीनतम सुन्दरताको जन्म भएको छ । त्यस्तै समालोचक तारानाथ शर्माले भनेका छन्– ‘उनले प्रयोग गरेका विम्व तथा प्रतीकहरुमा प्रभावोत्पादकता वा सजीवता पाइन्छ र ती ओजस्वी छन् ।’ त्यस्तै प्रसिद्ध कवि केदारमान व्यथितले उनका कविताहरुलाई सार्वभौमिक मूल्यका रुपमा लिएका छन् र उनले मानवताको धज्जी उडाउने विकृतिहरु प्रति लक्षित शिष्ट व्यङ्ग विम्वहरु प्रयोग गरेका छन् । उनका कवितामा सूर्य उत्पन्न गर्ने प्रयास पाइन्छ ।

२०४५ सालको माघ÷फागुनतिर मलाई झापामा वारेण्ट भयो । ‘संकेत’ पत्रिकासँग जोडेर मलाई प्रशासनले पक्रने प्रयास गरिरहेको थियो र म केही महिना काठमाडौंमा भूमिगत बनें । त्यो बेला म दिनमा एकपटक बागबजारमा माथ्लोतलामा रहेको जीवन आचार्यको ‘कला केन्द्र’मा पुग्थें र त्यसको नाम ‘डिजाइन राइटर’ थियो । २०४३ सालदेखि आफ्नै प्रयासमा यसलाई विज्ञापन संस्थाको रुपमा विकास गरेका थिए र आफ्नो बिहान–बेलुकाको छाक टार्दै आएका थिए । विगतमा चित्रकार जीवनले २०३८ सालमा दमक र सिक्किममा आफ्नो चित्रकला प्रदर्शनी गरिसकेका थिए । दमकमा समाजसेवी रामबाबु प्रसाईंको प्रमुख आतिथ्यमा र सिक्किममा मुख्यमन्त्री नरबहादुर भण्डारीको प्रमुख आतिथ्यमा तीन दिने चित्रकला प्रदर्शनी गरेर प्रसिद्धी कमाएका थिए उनले । भनिन्छ उनका प्रकाशित÷अप्रकाशित गरी २० वटा कथाहरु रहेका छन् । भर्खरै उनको दोस्रो कविता संग्रह पनि प्रकाशित भएको छ, तर हेर्न पाइएको छैन ।

कवि आचार्यको विवाह २०३८ साल फागुन ७ गते काठमाण्डौंमा संगीता पराजुलीसँग भएको थियो र उनीहरुका दुई छोरीहरु ऋचा (२०४०) र ऋतु (२०४५) को जन्म भएको थियो । तर, दुःखको कुरा ठूली छोरी ६ बर्ष र कान्छी छोरी १ बर्ष पूरा हुँदा नहुँदै २०४६ साल वैशाख २३ गते जीवन आचार्यले घरपरिवार तथा साना छोरीहरुलाई अलपत्रै छोडेर धर्ती त्याग्न विवश भए । उनले साहित्य सिर्जना तथा चित्र लेपनबाट खोजेको जनताको प्रजातन्त्र देख्नै नपाई बितेर गए । उनी बितेको ११ महिनापछि शुरु भएको ‘पञ्चायती व्यवस्था मुर्दावाद’ ‘राजतन्त्र मुर्दावाद…! को आक्रोशित जुलुशमा उनले मुठी उठाउन पाएनन् । तर, मलाई लाग्छ उनका विप्लवी कविता, कथा तथा चित्रहरुका क्रान्तिकारी स्वरहरुले हामीलाई बल–वर्गत थपिरहेका थिए । उनले ‘अन्त्यहीन शुरुवात ः २०४१’ कविता संग्रहको ‘कमल जङ्गली’ शीर्षकमा लेखेका छन्– तत्कालीन नेपालको यथार्थचित्र ।

‘ऊ नेपाली शब्दको परम्परा ओडेर,
वंशानुगत क्रममा जन्म्यो !
बिना स्वीकृतिले ‘कान्छा’ वा ‘बहादुर’को उपाधिले
अधिकांश मध्यमवर्गी
परिवारको बाँच्ने जमातभित्र–घुस्यो

भित्रभित्रै बलेर खरानी बन्नु थियो
आगो नदेखिनु थियो– देखिएन जन्म्यो !

राष्ट्रको सडकमा प्ले–कार्ड बोक्नेहरु मध्ये
ऊ एउटा हुन सक्छ ।

अर्काकै मुठीमा कैद राष्ट्रलाई
–‘मेरो’ भन्ने बाध्यताको पीडा जुलुस भएर
हिँडेको देख्छ– ऊ !’

अहिलेको नेपालमा पनि ‘बहादुर’, ‘कान्छा’को हीनताबोधले लखेट्न छोडेको छैन बरु अरु बढोत्तरी भएको छ । ७० लाख युवायुवतीहरुको आँशु र पसिना खाडीमा बरिहेछ । मेरो गणतान्त्रिक नेपाल उपनिवेशको परम्परागत महामारीले आक्रान्त छ । अहिले प्रजातन्त्र माफिया र नवधनाढ्यको लागि मात्र छ र सडकमा सम्भावित जुलुस पुन तयारीमा छ । सम्भावित क्रान्ति तयारीमा छ । यसप्रकार जीवन आचार्यले जति लेखे परिवर्तनका लागि लेखे । उनले सिङ्गो युग लेखे । उनी थोरै बाँचे तर देश र जनताको लागि सार्थक जीवन बाँचे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here