विद्यार्थी पढाउँदै ट्राफिक प्रहरी

0
417

अर्जुनधारा ।

ट्राफिक नियम उल्लंघन गरेर सवारी सञ्चालन गर्दा दुर्घटना बढेको भन्दै प्रहरीले विद्यार्थीलाई ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कक्षाहरु सञ्चालन गरेको छ ।

झापामा तिव्र गति, ओभरटेक, सडकको दुरावस्था, सवारी चालकले ट्राफिक नियमको उल्लंघन गर्दा दैनिकजसो दुर्घटना हुन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सचेतनामूलक कार्यक्रमलाई तिव्रता दिएको ट्राफिक प्रहरी प्रमुख अशोककुमार जवेगूले बताए । उनले भने–“झापामा दैनिकजसो ३–४ वटा दुर्घटना हुन्छ र अधिकांश दुर्घटनामा चालककै लापरवाही देखिन्छ ।”

दुर्घटना बढेसँगै ट्राफिक प्रहरीले जिल्लाका बिर्तामोड, दमक, काँकडभिट्टालगायतका क्षेत्रमा सवारी चेकजाँचलाई तिव्रता दिएको प्रहरी निरीक्षक जवेगूले बताए । उनले ट्राफिक नियम सम्बन्धी सचेतना जगाउने उद्देश्यले यात्रु, चालक, विद्यार्थीलगायतलाई ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कक्षाहरु सञ्चालन गरिरहेको जानकारी दिए ।

यसैबीच “ट्राफिक नियम सम्बन्धी विद्यालय प्रशिक्षण कार्यक्रम”अन्र्तगत झापाको बिर्तामोड–५स्थित देवी माध्यमिक विद्यालयमा बिहीबार एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

मारवाडी महिला मञ्च बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि मारवाडी सेवा समितिका अध्यक्ष मोहन मित्तलले उद्घाटन गरेका थिए ।

कक्षा–६ र ७ का २५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी नायव निरीक्षक जीवनकुमार कार्कीले ट्राफिकको परिचय, संकेत तथा ट्राफिक नियमहरु, दण्ड र सजायको विषयमा सहजिकरण गरेका थिए ।

मञ्चकी सचिव निर्मला अग्रवालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा कोषाध्यक्ष नीलम अग्रवाललगायतको सहभागिता रहेको थियो । मञ्चकी अध्यक्ष नीलम अग्रवालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक ज्ञानु बुढाथोकीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here