बूढा र रोगी गाई लिँदै, लैनो गाई दिँदै

0
174

झापा ।

दूध दिएसम्म बालबच्चालाई जस्तै स्याहार गर्ने तर बूढो र रोगी भएपछि व्यापारीलाई गाई बेच्ने चलन हाम्रो गाउँघरमा छ । यसलाई रोक्न र गौमाताको संरक्षण गर्ने उद्देश्यले शिवसताक्षी नगरपालिका–११ स्थित सताक्षीधाममा २०७२ सालदेखि गोलोक गोवद्र्धन गौशाला सञ्चालनमा ल्याइएको छ ।

गौशाला स्थापनापछि व्यापारीले बेच्न भारततर्फ लैजाने क्रममा सीमा क्षेत्रबाट प्रहरीद्वारा पक्राउ गरिएका गाईदेखि जिल्लाका १५ वटै पालिकाका वृद्ध, रोगी र अशक्त गाईको संरक्षण भइरहेको छ । गौशाला समितिका संरक्षक नन्दकिशोर भारद्वाजले गौशालाले गाईको संरक्षणमात्र होइन, जिल्लाभित्रका गरिब, असहायलाई दूध खाने उन्नत जातको गाई दिन समेत थालेको बताए ।

हल्दिबारी गाउँपालिका बस्ने आफ्नै माता लक्ष्मीदेवी सुवेदी र छिमेकी माताले दिएका दुईवटा बूढी गाईबाट शुरु गरेको गौशालामा हाल छ सय ५० वटा गाई रहेको उनले जानकारी दिए । गौशाला त शुरु गरियो गाई भएनन्– भारद्वाजले भने– गाउँ बस्ती, टोल, सामुदायिक संघ–संस्थालगायतका स्थानमा पुगेर गाईलाई त्यसै मर्न दिनुहुन्न । बूढो, रोगी छ भने हामीलाई दिनुस्, नबेच्नुस् भन्दै प्रचार गरियो । अहिले गाउँवासीले आफैँ ल्याइदिनुहुन्छ ।

वि.सं. २०७५पछि मात्र गाई खोज्न जानु नपरेको र भक्तहरूले आफैँ ल्याइदिने गरेको भारद्वाजले बताए । हिजो बूढो गाई खोज्दै गाउँ पस्ने महाराज आज गरीब, दुःखीलाई दूध खाने उन्नत जातको गाई दिन थालेकामा खुशी व्यक्त गर्छन् । उनले गौशालामा भएका गाईबाटै भारतबाट उन्नत जातको बीऊ गोरु ल्याएर उन्नत जातकै बाछी, बहरहरु उत्पादन गरेको बताए ।

हालसम्ममा ७५ उन्नत जातका बीऊ गोरु र एक हजार छ सय दूध खाने गाई समुदायलाई हस्तान्तरण गरिएको बताइएको छ । कुनै किसानले बूढो गाई हामीलाई दिनुभयो भने आवश्यकता हेरेर हामी लैनो गाई दिएर पठाउँछौँ– उनले भने– गरीब, दुःखीलाई भने सम्बन्धित पालिकाले गरेको सिफारिसका आधारमा दिन्छौँ । भारद्वाजले गोठमा दैनिकजसो १५देखि २० वटा गाई दुहुने गरेको बताए ।

गाईको दूधबाट गौशाला समितिले हाल घिउ, पञ्चकव्यसमेत बनाउँदै आएको छ । दैनिक जङ्गल चरनमा रहेर आएका गाईको दूधबाट बनेको घिउ राम्रो हुने हुँदा धाममा आउने भक्तजनले नै प्रतिकिलो रु. एक हजार तीन सयमा खरिद गरेर लैजाने गरेका छन् । जङ्गलभित्र रहेको गौशालाका गाई भने बिहान छ बजेदेखि नै चर्न जाने गरेको भारद्वाज बताउँछन् । चरनमा गएका गाई अपरान्ह ४ बजेदेखि राति ८ बजेसम्ममा गोठमा आइसक्छन् । गाईको हेरचाहका लागि हाल २० गौसंरक्षक छन् ।

उनीहरु दैनिकजसो गाईको स्याहारमा खट्ने, गाईको गोबरबाट गड्यौलें मल, गोकाष्ठा बनाउनेलगायत काममा खटिन्छन् । यहाँ उत्पादित मल र गोकाष्ठा समेत बिक्री गरेर गौशालाका गाईलाई दाना, साइलेजलगायत वस्तु किनेर खुवाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here