मन्त्री आङ्बो उद्घाटनमा व्यस्त

९ आश्विन २०७९, आईतवार मा प्रकाशित

युद्धबहादुर बोहोरा,पाँचथर ।

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट निर्मित संरचनाको उद्घाटनमा व्यस्त छन् ।

गृह जिल्ला पाँचथरका विभिन्न स्थानीयतहमा प्रदेश सरकारको सहयोगमा सञ्चालित योजनाहरु कतिपय मन्त्री आङ्वोले शिलान्यास गरेका थिए । आफ्नै कार्यकालमा उनको पहलमा उपलब्ध बजेटका योजना निर्माण सम्पन्नपछि यतिबेला उद्घाटन गर्न उनलाई भ्याईनभ्याई छ ।

शुक्रबार फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ को घुर्बिसे पञ्चमी कभर्ड हल र सोही वडाको विद्यालयको भवन उनले एकैसाथ उद्घाटन गरे । २०७७ मंसीर १५ गते मन्त्री आङ्बोले शिलन्यास गरेको कभर्ड हल १ करोड ३४ लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको हो ।

पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री आङ्बोले उद्घाटन गरेका हुन् । हलभित्र २ वटा व्याडमिन्टन कोर्ट र एउटा सभाहल रहेको कभर्ड हल निर्माण गर्न स्थानीयले निःशुल्क तीन रोपनी जग्गा उपलब्ध गराएका थिए । जग्गादादाहरुलाई यसै अवसरमा प्रमुख र विशेष अतिथि तथा पालिकाका जनप्रतिनिधले सम्मान गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।

यसैबीच जनकल्याण माध्यमिक विद्यालय कोल्बुङको आठ कोठे पक्की दुई तले भवन पनि उद्घाटन भएको छ । प्रदेश सरकारको समपूरक ९४ लाख ५५ हजार रुपैयाँमा २०७७ साल माघमा निर्माण थालिएको भवन मन्त्री आङ्वोले उद्घाटन गरेका हुन् । विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क चेम्जोङको अध्यक्षतामा उद्घाटन गरिएको प्रधानध्यापक पूर्णकुमार सदेम्बाले जानकारी दिए । भवनसँगै विद्यालयको नवनिर्मित खेल मैदान पनि उद्घाटन भएको छ ।

धेरैजसो आयोजनाहरु शिलान्यास हुने तर निर्माण कार्य भने अलपत्र बन्ने कयौं उदाहरण बनिरहेको बेला स्थानीय तहमा भित्रिएका योजनाहरु निर्माण सम्पन्नपछि सञ्चालन गर्न पाउँदा अत्यन्तै खुशी लागेको पालिकाका जनप्रतिनिधि तथा आम नागरिकले बताएका छन् ।

विकाशप्रेमी नेताको रुपमा परिचित आङ्बो पाँचथर प्रदेश सभा ‘ख’ बाट तत्कालीन बामगठबन्धनको तर्फबाट प्रदेशसभा सांसद बनेपछि प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बनेका हुन् । बामगठबन्धन टुटेपश्चात् नेकपा माओवादी केन्द्रको प्रदेश १ संसदीय दलको नेता बन्दै उनी दोस्रो कार्यकाल अर्थमन्त्री बनेका हुन् । आगामी मंसीर ४ गते हुने निर्वाचनमा पुनः उनी पाँचथर प्रदेश सभा ‘ख’ बाट उम्मेदवार बनेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here