भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोह सक्रिय, सचेत रहन झापा प्रशासनको आग्रह

0
321

 झापा,

जिल्ला प्रशासन कार्यालय, झापाले ‘भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने’ भन्दै रकम असुल्ने गिरोहबाट सचेत रहन र यस्तो गैरकानुनी कार्यमा संलग्न नहुन पुनः सूचना जारी गरेको छ ।

‘हालैका दिनमा नेपाली नागरिकलाई शरणार्थी परिचयपत्र बनाएर अमेरिका, अस्ट्रेलियालगायत विभिन्न मुलुकमा पठाउने झुटा आश्वासन दिई विभिन्न गैर शरणार्थीबाट मोटो रकम असुल्ने गरेको भन्ने विषयमा ध्यानाकर्षण भएको’ जनाउ दिँदै प्रशासन कार्यालयले यस्तो दण्डनीय कार्यमा नफस्न आग्रह गरेको छ ।

झापा–मोरङमा रहेका केही शरणार्थी र केही स्थानीयवासी समेतलाई नक्कली शरणार्थी परिचयपत्र बनाएर अमेरिका लगिने भन्दै एउटा गिरोहले करोडौँ रुपैयाँ असुल गरिरहेको बारे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन गरिरहेको छ ।

प्रलोभन देखाएर गैर शरणार्थीलाई अमेरिका वा तेस्रो मुलुक लैजाने भन्दै गिरोहले बढीमा ५० लाख रुपैयाँसम्म उठाउने गरेको प्रमाण बाहिर आइसकेको छ । राष्ट्रसङ्घीय शरणार्थी उच्चा योगले पनि भुटानी शरणार्थीलाई पुनः बसोबास गर्ने कार्यक्रम पूर्ण रुपमा स्थगित भइसकेकाले कुनै रूपका प्रलोभनमा नपर्न अनुरोध गर्दै आएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सूचना अनुसार सन् २०२२ भित्र आफ्नो परिचयपत्रको म्याद पूरा हुने वा यस अवधिमा १६ वर्ष उमेर नाघेका भुटानी शरणार्थीलाई परिचयपत्र नवीकरण वा प्राप्तिका लागि शिविरमै आवश्यक प्रक्रिया सुरु गरेको छ । हाल झापाको दमक र मोरङको पथरी शरणार्थी शिविरमा गरी ६ हजार ३ सय ६५ शरणार्थी दर्तामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here