मतदाता शिक्षा दिँदै दलहरु

0
326

चितवन, 

दलहरु आफैँले मतदाता शिक्षा दिन थालेका छन् । जिल्लाका राजनीतिक दलले मतदाता शिक्षामा आफ्नै कार्यकर्तालाई परिचालन गर्दैछन् । निर्वाचन कार्यालयले यही कात्तिक २० गतेदेखि मतदाता शिक्षा सुरु गर्ने भएको छ । निर्वाचनको मितिभन्दा १५ दिन पहिला मतदाता शिक्षा दिन लागिएको हो ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता शिक्षलाई तीन तहमा विभाजन गर्न लागिएको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने मतदाता शिक्षा समिति, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र वडामा वडा सचिवको नेतृत्वमा रहने समितिले निर्वाचन शिक्षा दिनेछन् । वडा सचिवले मतदाता शिक्षाका लागि स्वयंसेविका नियुक्ति गरी निर्वाचन शिक्षा दिने उहाँले जानकारी दिनुभयो ।

वडा सचिव र स्वयंसेविकाले वडाको टोल तहमा पुगेर मतदाता शिक्षा दिनेछन् । उनीहरुले मतदान कसरी गर्ने र आफ्नो मत कसरी सुरक्षित गर्ने भन्ने विषयमा जानकारी गराउने उहाँले बताउनुभयो ।

आयोगसँगै राजनीतिक दललेसमेत मतदाता शिक्षाका लागि कार्यकर्तालाई टोलटोलमा नमूना मतपत्रसहित पठाउने तयारीमा रहेका हुन् । नेकपा एमाले चितवनले मतदाता शिक्षाका लागि हरेक वडामा खटाउने तयारी गरेको छ । निर्वाचन आयोगले मतदाता शिक्षालाई समेत राजनीतिक दलको काँधमा राखिदिएकाले मतदाता शिक्षा दिन दलले कार्यकर्ता खटाउनुपरेको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको भनाइ थियो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले निर्वाचनको प्रचारप्रसारसँगै कार्यकर्तालाई मतदाता शिक्षाका लागि जनताको घरदैलोमा पठाइने बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका लागि आयोगले दिएको प्रचारप्रसारको समयसीमाभित्र मतदाता शिक्षाका लागि कार्यकर्ता खटाउने तयारीमा रहेका छौँ ।”

नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले दलका कार्यकर्तालाई मतदाता शिक्षालाई खटाई सकिएको बताउनुभयो । गठबन्धन दलले मतदाता शिक्षालाई वडावडामा दुई÷दुई जना प्रतिनिधिका रुपमा खटाएको उहाँको भनाइ छ ।

दलका नेता कार्यकर्तालाई प्रचारप्रसारसँगै मतदाता शिक्षासमेत सिकाउने अधिकारीले बताउनुभयो । अहिले युवा, विद्यार्थी र सामाजिक सञ्जालबाट मतदाता शिक्षा दिने तयारीमा गठबन्धनका दल रहेको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनका लागि जिल्लामा पाँच हजार पाँच सय १८ जना कर्मचारी तथा स्वयंसेविका खटिँदै छन् । हरेक केन्द्रमा मतदान अधिकृतसहित आठ कर्मचारी आयोगले खटाउनेछ भने तीनदेखि चार जना स्वयंसेवी कर्मचारी मतदान अधिकृतले नियुक्ति गर्नेछन् । पाँच सयभन्दा कम मतदाता भएको केन्द्रमा ११ र सोभन्दा बढी मतदाता भएको केन्द्रमा १२ जनाका दरले कर्मचारी खटिने निर्वाचन कार्यालयका प्रमुख कार्कीले जानकारी दिनुभयो ।

उनीहरुलाई असोज २६ गते नियुक्ति दिइनेछ । नियुक्तिसँगै कर्मचारीलाई तालिमको व्यवस्था गरी मङ्सिर १ गतेदेखि मतदान केन्द्रमा खटाइने उहाँले बताउनुभयो । जिल्लामा अहिले चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । जसमध्ये महिला मतदाताको सङ्ख्या पुरुषकोभन्दा बढी छ । दुई लाख नौ हजार तीन सय नौ मतदाता महिला छन् भने पुरुष एक लाख ९९ हजार ३२ जना रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्कीका अनुसार एक सय ६२ मतदानस्थलमा चार सय ६० केन्द्रबाट मतदान हुँदैछ । क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदाता छन् । जहाँ ५६ मतदानस्थल र एक सय ५९ केन्द्रबाट मतदान हुँदैछ । क्षेत्र नम्बर २ मा रहेका एक लाख २४ हजार दुई सय १४ मतदाताले ४३ मतदानस्थलमा रहेका एक सय ३८ केन्द्रबाट मतदान गर्नेछन् । यस्तै चितवन क्षेत्र नं ३ मा ६३ मतदानस्थलका एक सय ६३ मतदान केन्द्रबाट एक लाख ४४ हजार दुई सय ८३ मतदाताले मतदान गर्ने कार्कीले बताउनुभयो । जिल्लामा एक जना तेस्रोलिङ्गी मतदातालेसमेत मतदानमा सहभागिता जनाउने कार्यालयले जनाएको छ ।-

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here