महोत्तरीमा हिन्दु सम्राट सेना नामक संगठनको र्‍यालीमा हिंसात्मक झडप, प्रशासनद्वारा कर्फ्यु आदेश जारी

0
375

महोत्तरी,

महोत्तरीमा हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्‍यालीको क्रममा हिंसा भड्किएको छ। बिहीबार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर– ८ पररीयामा हिन्दु सम्राट सेनाले निकालेको र्‍यालीमा हिंसा भड्किएको हो।

हिंसा भड्किएसँगै प्रहरीले एक दर्जन राउन्ड हवाइ फायरसमेत गरेको छ। स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नु परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। अहिले घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

हिंसा भड्किएको महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ। भंगहा नगरपालिका वडा नम्बर – ८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको वडा नम्बर १ मा पर्ने बगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।

दिउँसो ३ बजेबाट लगाइएको कर्फ्यु अर्को आदेश जारी नभएसम्म जारी रहने सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।-थाहाखबर/निरञ्जन कुमार साह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here