शम्भु सुस्केराको वाचापत्र सार्वजनिक

0
358

सुरुङ्गा ।

झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभाका उम्मेदवार शम्भुप्रसाद ढकाल ‘सुस्केरा’ ले आफ्ना वाचापत्र सार्वजनिक गरेका छन् ।

सुरुङ्गामा चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार भेटघाटमा सुस्केराले ‘अब जान्नेलाई छान्ने’ सन्देशसहितको वाचापत्र सार्वजनिक गरेका हुन् । ‘पार्टी बदल्नु परेन, भोट बदलौं’ भन्ने नारासहित झापा क्षेत्र नं. ४ प्रतिनिधिसभामा नेपाल स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिएका सुस्केरा चिरपरिचित साहित्यकार पनि हुन् ।

सार्वजनिक वाचापत्रमा उनले स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, जनमैत्री कानुन निर्माण, भ्रष्टाचार नियन्त्रण, राज्य सञ्चालनमा पुनरावलोकन, आन्तरिक तथा बाह्य सुरक्षा, विश्वमञ्चमा गौरवपूर्ण उपस्थिति, प्रभावकारी, मितव्ययी र ममतामयी सरकार, प्राथमिकतामा युवा, सुरक्षित, सहज र भरपर्दो यातायात सेवा तथा स्थानीय समस्या लगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

१२ बुँदे वाचापत्रमा उनले काल्पनिक र हावादारी कुरालाई होइन, तर गर्न सकिने, व्यावहारिक, आवश्यक प्रतिबद्धतालाई मात्र प्रस्तुत गरेको बताएका छन् । २०३२ साल मंसिर २ गते खोटाङमा जन्मेका सुस्केरा झापा कनकाई नगरपालिकाका स्थायी बासिन्दा हुन् । स्थानीय कन्काई मावि सुरुङ्गाबाट एसएलसी गरेका सुस्केराले राजनीतिशास्त्रमा एम्ए गरेका छन् ।

नेपाल प्रहरीमा २२ वर्ष सेवा गर्ने क्रममा १५ वर्ष रेडियो नेपाल, १ वर्ष कान्तिपुर एफएम र १ वर्ष ट्राफिक एफएममा काम गरेका थिए । इमान्दार र निष्ठावान छबि भएका सुस्केराका ‘सहीदकी आमा’ र ‘सरोगेट लोग्ने’ दुई कथासंग्रहसहित विभिन्न पत्रपत्रिकामा दर्जनौं लेख, कविता र निबन्ध प्रकाशित छन् ।

पत्रकार भेटघाटमा सुस्केराले आफूहरू धर्मनिरपेक्ष, संघीय, लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको बताए । उनले भने, ‘जाति, धर्म, भाषा, राजा र क्षेत्रका नाममा फेरि रगत बग्न नहुने, कुनै चेलीको सिन्दुर मेटिन नहुने र कुनै बालबच्चा टुहुरा हुन नहुने पक्षमा हामी रहेका छौं ।’ सम्पूर्ण शक्ति र अधिकार स्थानीय तह र केन्द्रमा राखेर प्रादेशिक संरचना खारेज हुनुपर्नेमा आफ्नो पार्टी रहेको उनले बताए । उनले आफूहरू नष्ट हुन सक्ने, तर भ्रष्ट नहुने बताए । आफूले राजनीति पेसा होइन, जनताको सेवा हो भन्ने मर्मका साथ काम गर्ने बताए ।

आफूहरू कसैको दास नभएको मतदाताले बुझ्न आवश्यक रहेकोमा जोड दिँदै सुस्केराले भने, ‘हामी दास होइनौँ, देशका मालिक हौँ, देश दुख्दा बोल्छौँ, अघि सर्छौ, विद्रोह गर्छौँ । कसैको निन्द्रा बिग्रियो भनेर हामी किन चुप ?’ आफूलाई मतदाताले मत दिए ५ वर्षपछि भोट माग्न नआउने, जनताको पक्षमा राम्रो काम गर्ने र जनता आफैले खोजीखोजी भोट दिने गरी काम गर्ने उनले बताए ।

उम्मेदवारमा दीगो सोच र निःस्वार्थ भावना हुनुपर्नेमा जोड दिँदै उनले टन्न पैसा नहुनेले देशको सेवा गर्न नपाउने हो र भन्ने प्रश्न गरे । पैसा हुनेले मात्रै चुनाव लड्ने र राजनीतिलाई पेशा बनाउने हो भने जनताले कहिल्यै सुखको सास फेर्ने नपाउने उनको तर्क थियो ।

वाचापत्र सार्वजनिक कार्यक्रममा नेपाल स्वतन्त्र पार्टीका नेताहरू खड्ग गिरी, तुलसी खनाल, कवि प्रसाईं लगायतले पत्रकारले सोधेका प्रश्नका उत्तर दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here