कनकाई नगरमा शिक्षकको विषयगत भेला

0
276

सुरुङ्गा ।

कनकाई नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा तथा शैक्षिक गन्तव्य कार्यान्वयन समितिको आयोजनामा नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकको विषयगत भेला सम्पन्न भएको छ ।

नगरका १४ वटा सामुदायिक विद्यालयका अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक विषयका शिक्षकको भेलामा शैक्षिक तथा शैक्षणिक समस्याका बारेमा छलफल गरिएको थियो । भेलामा कार्यक्रमको अध्यक्षता गरेका शिक्षा अधिकृत हरिप्रसाद मिश्रले शिक्षा निरन्तर सिकाइ भएकाले नगरभित्रको पठनपाठनलाई गुणस्तरीय बनाउन शिक्षक भेलाले कोशेढुङ्गाको काम गर्ने बताए ।

नगर शिक्षा समितिका सदस्य एवम् शिक्षाकर्मी डा. पुण्यप्रसाद पौडयालले अनुशासित, चरित्रवान, कर्तव्यनिष्ठ, कर्मशील, धैर्यवान शिक्षकले मात्र शिक्षाक्षेत्रमा परिवर्तन ल्याउन सक्ने बताए । डा. पौड्यालले प्रमाणपत्र मात्र शिक्षाको कसी होइन, आफूभित्र जागृत ज्योति नै शिक्षाको साँचो अर्थमा शिक्षा भएको बताए । उनले भने, ‘शासकीय मानसिकता भएका जनप्रतिनिधिबाट शिक्षाको व्यवस्थापनमा योगदान हुन सक्दैन र शिक्षामा सुधार भए राजनीति, प्रशासन र मुलुक नै सप्रने छ ।’

कनकाई नगर शिक्षा समिति सदस्य एवम् गणित विषयका प्रशिक्षक अखिलकुमार कोइरालाले शिक्षकहरू नै शिक्षा क्षेत्रका असली अभियन्ता रहेको र नगर क्षेत्रको शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनका लागि सामूहिक प्रयत्नको जरुरत रहेको बताए । नगर शिक्षा समितिका अर्का सदस्य ओमप्रसाद पाठकले शिक्षकले कानमा तेल हालेर बसेमा प्रगति सम्भव नभएको बताए ।

सामाजिक समितिका संयोजक एवम् कार्यपालिका सदस्य नबलकिशोर दत्तले स्वागत गरेको कार्यक्रममा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सहप्राध्यापक जीवनाथ सुवेदी, नेपाल शिक्षक महासंघका अध्यक्ष शारदा पाठक, सचिव निर्मलकुमार खनाल, कनकाई मावि सुरुङ्गाका प्रधानाध्यापक कर्णबहादुर डाँगी, चम्पापुर माविका प्रअ विष्णुप्रसाद कोइराला, भृकुटी मावि दुर्गापुरका प्रअ चण्डिकाप्रसाद उपाध्याय, कनकाई गायत्री प्राविका प्रअ जनार्दन पोखरेल, देवकोटा प्राविका प्रअ ओमनाथ तिम्सिना, भगवती आधारभूत विद्यालयका प्रअ खड्गप्रसाद बिमली, जनचेतना आधारभूत विद्यालयका प्रअ होमकुमारी कुमाल, सरस्वती माविका प्रअ नारायण अधिकारी, सिंहदेवी मावि टेक्राका प्रअ डम्बरप्रसाद फुयाँल, हिमाली माविका प्रअ धर्मानन्द निरौला, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका प्रअ नरहरि न्यौपाने लगायतको आतिथ्य रहेको कार्यक्रम कनकाई नगरका शिक्षा अधिकृत मेदनी पाठकले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here