‘हसेसं’ शाखा अर्जुनधारालाई भट्टराई परिवारबाट एक करोडको जमिनसहित मन्दिर

0
284

अर्जुनधारा ।

झापाको बिर्तामोड–५ निवासी श्रीमाया भट्टराईको परिवारबाट अर्जुनधारा–९ स्थित हरिभक्त सेवा संघ शाखालाई बिहीबार एक कार्यक्रमकोबिच जमिनसहित मन्दिर हस्तान्तरण गरिएको छ ।

पति देवीप्रसाद भट्टराईको दोस्रो वार्षिक पुण्यतिथिको सन्दर्भमा पत्नी श्रीमाया, छोराबुहारी निर्मल र सुमित्रा भट्टराईबाट एक करोड बराबरको दुई कठ्ठा एक धुर जमिन र उक्त जमिनमा नवनिर्मित सभाहलसहितको मन्दिर शाखालाई हस्तान्तरण गरिएको हो ।

शाखाकी अध्यक्ष शान्ता विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष भीष्म मिश्र, शाखाकी अध्यक्ष विष्ट र शाखा धार्मिक समितिका अध्यक्ष लक्ष्मीप्रसाद बस्नेतलाई उक्त जमिनको लालपुर्जा दाता परिवारबाट संयुक्तरुपमा हस्तान्तरण गरिएको थियो ।

आफ्ना हजुरबुबा कर्णबहादुर र हजुरआमा खीनमाया भट्टराईको स्मृतिमा बुबाले शाखालाई प्रदान गर्ने इच्छा अनुसार उक्त कार्यलाई पूर्णता दिएको दाता निर्मल भट्टराईले जानकारी दिए । “आठ वर्ष अघि जमिन र पाँच वर्ष अघि मन्दिर निर्माणको कार्य सम्पन्न भए पनि कोभिड–१९ रोगको महामारी, बुबाको निधन र केही कागजी प्रक्रियाका कारण हस्तान्तरण प्रक्रिया केहि पछि सारेका हौं ।”–उनले थप भनाइ राखे ।

त्यसैगरी विपन्न ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचार, लगनशिल एवम् मेहनत गर्ने विद्यार्थीहरुको उच्च शिक्षालगायतका परोपकारी कार्यहरुमा खर्च गर्ने गरी उनले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भविष्यमा सो अक्षयकोषको रकमलाई वृद्धी गरी एक करोड रुपैयाँ पु¥याउने उनले दावी गरे ।

त्यस्तै जग्गादाता एवम् मन्दिर निर्माणकर्ता भट्टराई परिवारबाट भएको उक्त कार्यको प्रशंसा गर्दै प्रमुख अतिथि तामाङ र वडाध्यक्ष मिश्रले उक्त शाखालाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हरिभक्त सेवा संघका सल्लाहकार संयोजक सत्यनाथ भट्टराईले हरि धर्मको आवश्यकता र औचित्यका विषयमा सहभागीहरुलाई जानकारी गराएको कार्यक्रममा ६५ जना ज्येष्ठ नागरिकलाई सम्मानित गरिएको बताइएको छ । दाता भट्टराईले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन शाखाका लेखा समिति संयोजक पर्शुराम भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here