देउसीको दानबाट २५ जना असहाय र विपन्न वृद्धवृद्धालाई न्यानो ब्लयाङ्केट

0
295

अमित खम्बू, अर्जुनधारा ।

झापाको अर्जुनधारा–११स्थित मिलडाँडा चौकमा शनिबार आयोजित कार्यक्रममा भेटिएकी स्थानीय वृद्धा बाहा मुर्मु हँसिलो मुद्रामा थिइन् ।

उमेरले ६० वर्ष नाघेकी बाहाजस्तै अर्की वृद्धा लक्ष्मी प्रधान(७२)को पनि खुसीको सिमा नै थिएन । स्थानीय युवा सरोज बर्देवाको नेतृत्वमा शुभ दीपावलीको अवसरमा सम्पन्न भएको देउसीको रकमबाट न्यानो ब्लयाङ्केट वितरण कार्यक्रममा उपस्थित भएका बाहा र लक्ष्मीसहित सबै वृद्ध र वृद्धाहरुमा मन्द मुस्कानसहित मुहारमा उज्यालो झल्कीरहेको थियो ।

“हामी जस्तो बुढाबुढीलाई दिनुभयो तपाईहरुलाई आशिर्वाद लागोस् र सधैंभरी दिन पुगोस् ।”–ब्लयाङ्केट पाएपछी मुर्मुले भनिन् । जाडोको समय आइरहेको अवस्थामा कसैले नसोचेको यस किसिमको कार्य गरेको प्रति उनले सबै युवाहरुलाई धन्यवाद दिइन् ।

त्यसैगरी अर्का वृद्धा प्रधानले ब्लयाङ्केट वितरण गरेको कार्यलाई ‘धर्म गरेको’ संज्ञा दिइन् । “उपरवालाले तपाईंहरुलाई साथ दिनेछ ।”–उनले थप आफ्नो भनाइ राखिन् । त्यस्तै अर्का वृद्ध धनीलाल मण्डलले पनि युवाहरुको सो कार्यको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

देउसीभैलोबाट संकलन गरिने रकमले वनभोजलगायत जाने चलनलाई तोड्दै केहि परोपकारी कार्य गरौं भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको अर्का युवा किरण जवेगुले बताए ।

परोपकारी कार्य गर्ने निर्णयमा देउसीमा सहभागी सबैको सहमती भएपछि उक्त क्षेत्रका २५ जना असहाय र विपन्न वृद्धवृद्धा छनौट गरिएको स्थानीय अगुवा सनम राईले बताए । संस्कृतिको संरक्षण र निरन्तरताको लागि कुनै संघ–संस्थाबाट नभई सरोज बर्देवाको नेतृत्वमा स्वत भेला भएका १८ जना युवाको सहभागितामा देउसी सञ्चालन भएको थियो ।

देउसीमा सहभागी अन्य युवाहरुमा ओम मगर, कमल श्रेष्ठ, किरण ओली, जीवन खत्री, देवेन्द्र विश्वकर्मा, पदम गिरी, भवेस खड्का, महेन्द्र सुवेदी, मिलन योगी, युवराज अधिकारी, राजन थापा, रोशन राना, विजय राई, सुजन लिम्बू र सिसम चौधरी रहेका छन् ।

देउसीबाट ३० हजार रुपैयाँ संकलन भएको बताइएको छ । सरोज बर्देवाको अध्यक्षता र ज्येष्ठ नागरिक दिव्यराज नेपालको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रमको सञ्चालन महेन्द्र सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here