नेताको आश्वासन मात्रै: झापा ३ मा डुबान र कटानको समस्या उस्तै

२१ कार्तिक २०७९, सोमबार मा प्रकाशित

पार्थ मण्डल,
झापा ।

झापा प्रहरीमा एउटा भनाइ छ, कुनै प्रहरीलाई कारबाही स्वरूप दुःख र कष्ट दिनु प¥यो भने जिल्लाकै विकट गाउँ पिण्डलबारी पठाइन्छ । हुन पनि हो, त्यहाँ कुनै पनि प्रहरी जान मान्दैन– प्रहरी कर्मचारीहरू नै बताउँछन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत साबिक घेरावारी–५ हाल कचनकवल गाउँपालिका–१स्थित पिण्डलबारी गाउँवासीको समस्या अहिले पनि ज्यूँकात्युँ नै छ । पिण्डलबारी गाउँलाई पश्चिम र दक्षिणतर्फ सीमा पिलर १२८ र पूर्व बिरीङ्ग नदीले घेरेको छ । पिण्डलबारीका गाउँले दशकौँदेखि भोग्दै आएको दुःख र पीडादायी दीर्घकालीन समस्याको बारेमा कुनै पनि राजनीतिक दल नेतृत्वको सरकारले सम्बोधन गर्न नसकेको उनीहरूको गुनासो छ । आदिवासी र मधेसी समुदायका बाहुल्य रहेको पिण्डलबारीमा १४७ घरधुरी रहेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँगै पिण्डलबारीमा नेता तथा कार्यकर्ताहरू गाउँवासीसँग भोट माग्न धाउन थालिसकेका छन् । गाउँमा ‘यसो गरिदिने, त्यसो गरिदिने’ भन्दै उम्मेदवारहरूले विभिन्न योजना लिएर गाउँवासीसँग भोट माग्छन् । तर, यहाँबाट जितेर गएपछि नेताहरु गाउँलाई फर्किएर पनि हेर्दैनन् । चुनावको बेला गाउँ छिर्ने उम्मेदवार तथा नेताहरूले विभिन्न आश्वासन देखाएर गाउँवासीसँग भोट माग्छन् र पछि जितेर गएपछि गाउँमा विकास नगर्ने परिपाटीको अझै अन्त्य नभएको स्थानीय युवती कौशिल्या राजवंशीले गुनासो पोखिन् । ‘भोट माग्ने बेलामा यसो गरिदिन्छु, त्यसो गरिदिन्छु मात्रै भन्छन्’– एउटा झोलुङ्गे पुल त बनाउन सकेनन्’– उनले भनिन् ।

नदी तटबन्ध गरिदिने, सिञ्चाइ सुविधा दिने, कालोपत्रे बाटो बनाइदिने, कक्षा १०सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाइदिने, झोलुङ्गे पुल बनाइदिने जस्ता आश्वासन मात्र नेताहरूले अहिले बाँड्ने गरेको स्थानीय भुटिया राजवंशीले बताए । ‘गाउँमा केही नयाँ योजना आयो भने प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला दुवै जनाले मैले गरेँ भन्दै जस मात्र लिन खोज्छन्, कसले गर्दा योजना आएको गाउँवासी नै अलमलमा पर्छन्’– उनले भने । त्यस्तै विश्वनाथ गिरीले भने– ‘अहिलेसम्म गाउँमा एउटा ठूलो योजना भनेकै बिजुली आयो, अरू समस्याको हल अझै भएको छैन ।’

गाउको सबैभन्दा ठूलो समस्या डुबान र कटान

गत असारमा बिरीङ नदीमा आएको बाढीले धार परिवर्तन गरी स्थानीयको खेतीयोग्य जमिन मरुभूमि बनाइदिएको छ । घेरावारी बाट पिन्डलबारी जानुप¥यो भने त्यहाँका जनता तीन वटा खोला तर्नु पर्ने बाध्यता छ । हाल विरीङ नदीमा बन्दै गरेको झोलुङ्गे पुलदेखि करिब ३०० मिटर दक्षिणतर्फबाट पानी बग्दैछ ।

निर्माणाधीन झोलुङ्गे पुल नजिकैको नदीमा पानी नै छैन । नदीको पानी गाउँ नजिकै भएर बग्न थालेकोले ठूलो समस्याको रुपमा देखापरेको स्थानीय प्रेमलाल राजवंशीले बताए । ‘नदीलाई डोजर लगाएर पहिलेकै स्थानमा सार्नु प¥यो, त्यसपछि नदीको दुवैतर्फ ढुङ्गाको लामो तटबन्ध लगाएर गाउँलाई डुबानबाट बचाउनु प¥यो’– उनले भने । ‘न त गाउँमा सुविधासम्पन्न कुनै बाटोघाटो छ, न त पक्की पुल नै छ’– स्थानीय मासुलाल राजवंशीले भने– ‘गाउँवासी बर्खा याममा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।’

बर्खा याम शुरु भएपछि असारदेखि असोजसम्म औषधि उपचार, सरकारी सेवा वा अन्य काम विशेषले गाउँबाट बाहिर जानु प¥यो भने बिरीङ नदीमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने हुन्छ । ‘कतै जानु प¥यो भने भारतीय बाटो वा नदी तर्न प्लाष्टिकको ड्रम र बाँसले बनाएको डुङ्गा (फेरी) चढेर ओहोरदोहोर गर्नुपर्ने स्थानीयको बाध्यता छ’– उनले भने– ‘हिउँदमा बाँसे पुलको सहारा लिनुपर्छ’ । डुङ्गा र बाँसे पुल चढ्दा गाउँवासीले पैसा पनि तिर्नुपर्ने उनको भनाइ छ ।

चुनावी नारा रहेको झोलुड्डे पुल अझै बनेन

उम्मेदवारले पिण्डलबारीका जनतासँग भोट माग्ने मुख्य चुनावी नाराको रुपमा राखिएको विरीङ नदीको झोलुङ्गे पुल निर्माण कार्य लामो समयदेखि अलपत्र अवस्थामा छ ।

पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पिण्डलबारी गाउँ जोड्ने विरीङ्ग नदीमा २०७२ सालमा झोलुङ्गे पुलको शिलान्यास गरेको गाउँवासी बताउँछन् । उनको पालामा त्यो झोलुङ्गे पुल बनेन । त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले चुनाव जितेपछि फेरि विरीङमा झोलुङ्गे पुल बनाउने योजना अघि सारेका थिए ।

संघीय सरकारको बजेटमार्फत बन्ने झोलुङ्गे पुलेको ठेक्का लागेपछि २०७७ साल फागुनमा तत्कालीन संघीय सांसद लिङ्देन, राप्रपाबाट निर्वाचित स्थानीय जनप्रतिनिधि, कर्मचारी, निर्माण कम्पनीसहितको टोलीले पुल बनाउने ठाउँको पहिचान गरे । सिटौलाले शिलान्यास गरेको ठाउँभन्दा अलि पर सारेर पुल बनाउने प्वाइन्टको पहिचान गरियो । र, दोस्रो पटक पुलको शिलान्यास सांसद लिङ्देनले गरे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानीय पूर्वाधार विभागको स्थानीय पुल शाखाले सो नदीमा झोलुङ्गे पुलको ठेक्का निकालेको हो । सो पुलको ठेक्का बीएलटी निर्माण कम्पनीले लिएको हो । दुई करोड लागत बढीमा दुई वर्षभित्र पुल बनाउने सम्झौता गरेको निर्माण कम्पनीले एउटा पिलर खडा गरी अहिले त्यत्तिकै छाडेका छन् । पुल निर्माणाधीन स्थलमा न त कुनै इस्टीमेटसहितको बोर्ड राखिएको छ, न त निर्माण सामग्री नै छ ।

नागरिकता नहुदा मतदानबाट वञ्चित

जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिने विधेयक रोकिएपछि पिण्डलबारीका अधिकांश परिवार मतदान गर्नबाट वञ्चित हुनुपरेको स्थानीय शङ्कर गिरीले बताए ।

‘परिवारमा श्रीमती, छोराछोरीको नागरिकता बनेको छैन, मेरो जन्मसिद्ध नागरिकता छ, पाँच जनाको परिवारमा म मात्र एकल मतदाता हो’– गिरीले भने । यहाँ बसोबास गरेको तीनदशकभन्दा बढी भइसक्यो । ‘अहिलेसम्म मैले मात्र मतदान गरिरहेको छु– उनले भने । ‘न त नागरिकता बन्यो, न त मतदाता कार्ड नै बन्यो’– शङ्करकी श्रीमती श्यामवती गिरीले भनिन्– ‘यस गाउँमा ५० भन्दाबढी परिवारसँग जन्मसिद्ध नागरिकता छ, उनीहरूको सन्तानले अहिलेसम्म नागरिकता नै पाएका छैनन् ।’

चुनावमा जितेर जाने, तर यहाँका जनतालाई नागरिकता नदिने नेतालाई अब हामीले मतदान नै बहिष्कार गर्नुपर्ने अवस्था सृजना भएको भन्दै उनले आक्रोश पोखिन् । छोराछोरीको नागरिकता नहुँदा नेपाल सरकारले दिने कुनै सेवा सुविधा हामीले पाउन नसकेको उनको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here