इलाम १ : खनाल र बस्नेत बीच मुख्य प्रतिस्पर्धा

0
262

फिक्कल,

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल सातौँपटक इलाम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लािग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । विसं २०५६ को निर्वाचनमा नेपाली कांग्रेसका बेनुपराज प्रसार्इंसँग पराजित भएबाहेक २०४८ यताका संसदीय निर्वाचनमा खनालले हार व्यहोर्नुपरेको छैन । गत आमचुनावमा नेकपा (एमाले)का तत्कालीन नेता खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई पराजित गर्नु भएको थियो ।

यसपटक कांग्रेससहितको सत्ता–गठबन्धनबाट साझा उम्मेदवार खनालको मुख्य प्रतिस्पर्धी दुई कार्यकाल इलाम नगरपालिकाको प्रमुख बन्नुभएका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत हुनुहुन्छ । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय विक्रम पाण्डेले स्वतन्त्र उम्मेदवारी पनि सोही क्षेत्रबाट दिनुभएको छ ।

इलाम क्षेत्र नं १ को प्रदेशसभा (१) मा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी )की नेत्री एवं प्रदेश नं १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूको उम्मेदवारी रहेको छ भने एमालेले सन्दकपुर गाउँपालिकाकी पूर्वउपाध्यक्ष शोभा पराजुलीलाई उम्मेदवार बनाएको छ ।

यसैगरी प्रदेशसभा (२) मा गठबन्धनबाट कांग्रेसका नेता एवं रोङ गाउँपालिकाका पूर्वाध्यक्ष शमशेर राईका विरुद्ध एमालेले माई नगरपालिकाका पूर्वप्रमुख दीपककुमार थेबेलाई अघि सारेको छ ।

उम्मेदवारहरु आआफ्नो एजेण्डा, पार्टीको घोषणा र प्रतिबद्धतापत्र लिएर जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ । भेला तथा चुनावी सभाले निर्वाचनको माहौल तताएको छ । नेता खनाल सडकदेखि पर्यटन सम्मका १७ योजना सहित अहिलेसम्म भएका कामको फेहरिस्त लिएर चुनाव प्रचारमा व्यस्त हुनुहुन्छ ।

उहाँको अपिलमा निर्वाचन क्षेत्रका सबै पालिका र वडामा कालोपत्र पक्की सडकको विकास गरिने उल्लेख छ । जिल्लाको पर्यटकीयस्थलको संरक्षण र संवद्र्धन गरिने जनाउँदै उहाँले भन्नुभयो, “पर्यटकीय क्षेत्रलाई अत्याधुनिक व्यवस्थापन गर्दै अझ सुन्दर र लाभकारी बनाइनेछ ।” शिक्षालाई निःशुल्क बनाउने उहाँको उद्देश्य छ । “सबैलाई शिक्षाको सुनिश्चित हुनेगरी उच्च शिक्षा अध्ययनको केन्द्रका रुपमा यो क्षेत्रलाई विकास गर्नेछु ।”

चियाको उत्पादन वृद्धि गर्ने, स्थिर बजार खोज्ने, बजार विविधीकरण र चिया उद्योगलाई नेपालको राष्ट्रिय उद्योगका रुपमा विकास गर्ने खनालको अपिलमा उल्लेख छ । सोचेजस्तो विकास गर्न नसकेको आरोप खेपिरहनुभएका खनालका लोभलाग्दा योजना पढेर मतदाता सकारात्मक देखिएका छन् । एकतीस वर्ष सूर्यमा भोट माग्नुभएका उहाँ यसपटक कलम चिह्नमा छाप लगाउन अपिल गरिरहनुभएको छ ।

विसं २०५४ देखि ०५९ सालसम्म इलाम नगरपालिकाको प्रमुख बन्नुभएका बस्नेत ०७४ सालको निर्वाचनमा दास्रो कार्यकालका लागि पुनःनिर्वाचित बन्नुभएको थियो । लामो समय खनाललाई नेता मानेर कार्यकर्ताको भूमिका निभाउनुभएका बस्नेतलाई पार्टीले यो पटक खनालको प्रतिस्पर्धी बनाएको छ । नगरप्रमुख हुँदा भौतिक पूर्वाधारका क्षेत्रमा गरेको काम र सङगठनका कारण जनता आफ्नो पक्षमा रहेको उहाँको भनाइ छ । “जनताले नयाँ अनुहार खोजेका छन् ”, उहाँले भन्नुभयो । खनाल झैँ बस्नेत पनि मतदाता भेटघाटमा नै व्यस्त हुनुहुन्छ ।

सो क्षेत्रबाट खनाल, बस्नेत र पाण्डेसहित जनता समाजवादी पार्टीका कमलकुमार राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारानाथ सापकोटा, नेपाली कांग्रेस (बिपी) का गणेशप्रसाद पौडेल, राष्ट्रिय जनमुक्ति पार्टीका पद्मबहादुर लिम्बू, मङ्गोलनेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया र अन्य स्वतन्त्र उम्मेदवार निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मी रहनुभएको छ ।

सूर्योदय नगरपालिकाका रोशन बस्नेत र गोविन्द सापकोटा विकास र पूर्वाधारका कामलाई अघि बढाउन सक्ने उम्मेदवारलाई मत दिनुपर्ने बताउनुहुन्छ । माईजोगमाइका कुमार थापाको पनि त्यस्तै भनाइ छ ।

यस निर्वाचन क्षेत्रअन्तर्गत सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका वडा नं १० र माई नगरपालिकाको ७, ८, ९ बाहेक सबै वडा पर्दछन् । गत स्थानीय तह निर्वाचनमा नेकपा (एस)ले सूर्योदय नगरपालिकाको प्रमुख र सन्दकपुर गाउँपालिकाको उपाध्यक्षसहित सात वडामा विजयी भएको थियो ।

निर्वाचन क्षेत्रअन्तर्गतका ३९ मध्ये २० वडामा उम्मेदवारी दिएको नेकपा एसले सात वडामा मात्र जितेको हो । रोङ र सन्दकपुर गाउँपालिका अध्यक्षसहित कांग्रेसले सूर्योदय उपप्रमुख र माईजोगमाई उपाध्यक्ष जितेको थियो भने माईजोगमाई अध्यक्ष र रोङ उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी बन्नुभएको थियो ।

पालिका तहमा गठबन्धन भए पनि वडा तहमा मित्रवत् प्रतिस्पर्धा गरिएको थियो । वडा तहको मतपरिणामअनुसार सो क्षेत्रमा एमालेको २४ हजार आठ सय २१ मत छ भने गठबन्धनको ३७ हजार तीन सय ४४ मत थियो । इलाममा कूल मतदाता दुई लाख २४ हजार चार सय ७७ रहेका छन् । स्थानीय तहको निर्वाचनयता जिल्लामा एक सय २९ मतदाता थपिएका छन् । इलाम क्षेत्र नं १ मा मात्र एक लाख नौ हजार पाँच सय ३५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here