दिपेश राजवंशी,
झापा ।

पूर्वाञ्चल दैनिकको कात्तिक २६ गतेको अंकमा प्रकाशित ‘किसान समुदायमा न उत्साह न त मतदाता शिक्षा’ शीर्षकको समाचार प्रकाशन भएपछि मेचीनगर–९ मागुरमाडीस्थित किसान समुदाय बिकास प्रतिष्ठानमा आइतवार लोपोन्मुख किसान समुदायलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय झापाले नमूना मतदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालको लोपोन्मुख जातिमा पर्ने किसान समुदायमा आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने ठूलो अन्यौल देखिएको थियो । जसले गर्दा किसान समुदायको मानिसमा मतदानमा सहभागी हुने खासै उत्साह देखिएको थिएन । तर, हिजो सम्पन्न नमूना मतदानपछि किसान समुदायका मतदाताहरु उत्साहित हुनुका साथै मत सदर हुने कुरामा विश्वस्त देखिएका छन् ।
निर्वाचनमा बदर मत संख्या न्यून गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम लागू गरे पनि झापाको मेचीनगर नगरपालिकामा बसोबास गर्ने लोपोन्मुख किसान समुदायको मानिसहरुसम्म मतदाता शिक्षा पुगेको थिएन । जिल्ला निर्वाचन कार्यलय झापाका प्रमुख तुलसीकुमार नेपालले सहजीकरण गरेको नमूना मतदान कार्यक्रममा लोपोन्मुख किसान समुदायसँगै अन्य समुदायका मानिसहरुको पनि सहभागिता रहेको थियो । विषेशतः किसान समुदायका युवा, वयस्क र ज्येष्ठ नागरिकहरुको पनि सहभागिता रहेको मतदानमा ३० जनाले मतदान गरेका थिए । जहाँ २६ मत सदर भएकोमा ३ मत बदर र १ मतपत्र खाली रहेको थियो ।
जिल्ला निर्वाचन कार्यलय झापाका प्रमुख नेपालका अनुसार सम्पन्न नमूना मतदान कार्यक्रमले मतदानमा सहभागीको परिवार, छरछिमेक, आफन्तमा सूचना प्रवाह गर्ने भएकाले लोपोन्मुख किसान समुदायमा अत्यन्तै फाइदा पुग्ने बताए । कार्यक्रममा प्रमुख नेपालले मत बदर हुने अवस्थाहरुको बारेमा समेत सहभागीहरुलाई जानकारी दिएका थिए ।
नमूना मतदान कार्यक्रमपछि अब आफ्नो मतको सदुपयोग हुने बताउँछन्– लोपोन्मुख किसान समुदायका ७५ वर्षीय वृद्ध जोगी किसान । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा ४ किसिमको फरक मतपत्र हुने भएकाले कसरी मत दिने भन्ने अन्यौल नमूना मतदानले हटाएको बताउँछन्– आफ्नो उमेर पनि बताउन नजान्ने वृद्धा चिलो किसान । अब आफ्नो मतको सदुपयोग गर्न मंसीर ४ गतेको निर्वाचनको दिन पर्खिरहेको बताउँछन्– किसान समुदाय बिकास प्रतिष्ठानका अध्यक्ष सुन्दरलाल किसान ।
हिजोसम्मको द्विविधा नमूना मतदान कार्यक्रमपछि नरहेको बताउँदै स्थानीय २१ वर्षीया मीना किसानले खुसी व्यक्त गरिन् । लोपोन्मुख किसान समुदायका अगुवा युवा स्थानीय भीम किसानले पनि नमूना मतदान कार्यक्रमले आफ्नो समुदायको मतदान साक्षरतामा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।































