मोफसलमा पहिलो अफसेट प्रविधि भित्र्याएको झापास्थित बिर्तामोडबाट प्रकाशित पूर्वाञ्चल दैनिक आजबाट २८ बर्षमा प्रवेश गरेको छ । श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल प्रेस काउन्सिलद्वारा ‘क’ श्रेणीमा वर्गीकृत समाचारपत्र आज अनलाइन पोर्टलमार्फत विश्वभर पाठकहरुकामाझ पुग्न सफल भएको छ । अनलाइन पोर्टलमार्फत ताजा अपडेट र रंगीन ई–पेपर मोवाइलबाटै पढ्न सकिने भएकाले आज पर्यन्त पाठक, विज्ञापन दाता तथा शुभचिन्तकहरुको रोजाइमा रहेको हामीले अनुभूत गरेका छौं ।

सञ्चार जगतलाई राज्यको चौथो अंगका रुपमा स्वीकार गरिएको छ । हामी त्यही आदर्श र निष्ठा, पत्रकारिताको आधारभूत सिद्धान्त एवम् पत्रकार आचारसंहिताको मूल मर्म र भावना अनुसार वस्तुनिष्ठ, सत्य–तथ्य, सन्तुलित, खोजमूलक समाचार सामग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई सचेत र गतिशील बनाउँदै लैजाने कार्यमा प्रतिबद्ध छौं । यद्यपि हाम्रा अघि आम सञ्चारजगतले अनुभूत गरेको र भोगेको अवरोध तथा संकट विद्यमान छन् । त्यसमाथि विगतका बर्षहरुमा महामारीका रुपमा विस्तार भएको कोभिड–१९ जन्य व्यवधानले हाम्रा प्रतिबद्धताहरु पनि अवरुद्ध हुन पुगे । फेरि पनि निरन्तरता, निष्पक्षता, स्वतन्त्रता र निर्भयताको धर्म निर्वाह गर्दै आजबाट २८औं बर्षमा प्रवेश गरेको सुखद् क्षणमा हाम्रा समस्त शुभचिन्तकहरुप्रति साथ सहयोगका लागि आभार व्यक्त गर्दछौं ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रही नागरिकको सूचना प्राप्त गर्ने अधिकार सुरक्षित राख्ने अठोट अनुसार हामी यात्रारत् छौं । योसँगै आम नागरिकलाई सुसूचित गर्दै सही सूचना, ज्ञान, मनोरञ्जन तथा समाजभित्रका सकारात्मक विषयवस्तु सम्प्रेषण गर्ने धर्ममा तपाईँहरुको साथ र समर्थनबाट हामीले ऊर्जा प्राप्त गरेका छौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध हाम्रो यात्रा नेपाली पत्रकारिताको संस्थागत विकास र स्थानीय पत्रकारिताको प्रबद्र्धनमा समेत लक्षित छ ।
देश अहिले निर्वाचनमय भएको छ । यो बेला सबैको ध्यान निर्वाचनकै जोड घटाउमा गएको छ । राष्ट्र र जनताको भविष्य निर्माण गर्ने अवसरका रुपमा आउने आवधिक निर्वाचनमा पत्रकार र पत्रकारिता जगतको महत्व अझ बढी छ । निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहीत सम्पन्न होस् त्यसका लागि पत्रकारहरुले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ । मुखमै आइपुगेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण, मर्यादित, निष्पक्ष, भयरहीत र स्वतन्त्र ढंगले सम्पन्न गर्न सबैको सकारात्मक योगदान प्राप्त होस् भन्दै २८औं बर्ष प्रवेशको सुखद् क्षणमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभिचन्तक, सञ्चारकर्मीमित्रहरु लगायत सबैमा हार्दिक आभार प्रकट गर्दछौं ।




























