मतदान कसरी गर्ने ?

0
432

१) मतदान गर्न घरबाट बाहिर जानु अघि आफ्नो मतदाता परिचयपत्र साथमा राख्नुहोस् । सो नभएमा निर्वाचन आयोगले तोकेको परिचयपत्र साथमा राख्नुहोस् ।

२) मतदान गर्न मतदान केन्द्र जानुअघि मास्क लगाउनुहोस् ।

३) मतदान स्थलमा पुगेपछि आफ्नो मतदान केन्द्रको पहिचान गर्नुहोस् ।

४) महिला भए महिलाको र पुरुष भए पुरुषको लागि तोकिएको अलग–अलग लाइनमा उभिनुहोस् ।

५) गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, विरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसंख्यक) मतदाता लाइनमा नबसी प्राथमिकताको आधारमा मतदान गर्न पाइन्छ ।

६) दृष्टिविहीन वा शारीरिक असशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने भए एकाघर परिवारको सदस्यलाई आफूसँग मत संकेत गर्ने गोप्य कक्षमा लैजान मतदान अधिकृतको सहयोग लिनुहोस् ।

७) मतदान केन्द्रमा लाइनमा उभिँदा एक अर्काबीच पर्याप्त दूरी राख्नुहोस् ।

८) मतदान कार्यमा खटिएका कर्मचारीलाई आफ्नो मतदाता परिचयपत्र देखाउनुहोस् ।

९) देब्रे हातको बुढी औलाको नंग र मासुको बीच पर्ने गरी मसी लगाउनुहोस् ।

१०) प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको रंगको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको पहिलो मतपत्र लिनुहोस् ।

– स्वस्तिक छापले कुनै पनि एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्नुहोस् ।
– मतपत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा रातो रंगले ‘१’लेखिएको स्टीकर भएको मतपेटिकामा मत खसाल्नुहोस् ।

११) प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको दोस्रो मतपत्र लिनुहोस् ।

– स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत संकेत गर्नुहोस् ।
– मतपत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रंगले ‘२’ लेखिएको स्टीकर भएको मतपेटिकामा मत खसाल्नुहोस् ।

१२) प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको तेस्रो मतपत्र लिनुहोस् ।

– स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्नुहोस् ।
– मतपत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा रातो रंगको ‘३’ लेखिएको स्टीकर भएको मतपेटिकामा मत खसाल्नुहोस् ।

१३) प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको चौथो मतपत्र लिनुहोस् ।

– स्वस्तिक छापले कुनै एक राजनीतिक दलको निर्वाचन चिन्हमा मत संकेत गर्नुहोस् ।
– मत पत्र सही तरिकाले पट्याउनुहोस् र सेतो पृष्ठभूमिमा कालो रंग ‘४’ लेखिएको स्टीकर टाँसिएको मतपेटिकामा खसाल्नुहोस् र मतदान केन्द्रबाट बाहिर जानुहोस् ।

प्रतिनिधिसभामा निर्वाचित हुने सदस्य

प्रतिनिधिसभा सदस्यमा निर्वाचनबाट २७५ सदस्य निर्वाचित हुन्छन् । जसमा पहिलो हुने निर्वाचन प्रणालीबाट १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीबाट ११० सदस्य निर्वाचित हुन्छन् ।

प्रदेशसभामा निर्वाचित हुने सदस्य

प्रदेशसभा सदस्यमा निर्वाचनबाट ५५० सदस्य निर्वाचित हुन्छन् । जसमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० सदस्य र समानुपातिक निर्वाचन प्रणालीबाट २२० सदस्य निर्वाचित हुन्छन् ।

मतदाता र मतदान

मतदाता नामावलीमा नाम भई सम्वत् २०७९ साल मंसीर ३ गतेसम्म १८ बर्ष उमेर पुग्ने मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा मतदान गर्न पाउँछन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवारलाई मतदान गरिन्छ । यस निर्वाचन प्रणालीमा सबैभन्दा बढी सदर मत पाउने उम्मेदवार विजयी हुन्छन् ।

समनुपातिक निर्वाचन प्रणालीमा राजनीतिक दललाई मतदान गरिन्छ । यस निर्वाचन प्रणालीमा राजनीतिक दलले पाएको मतको आधारमा दलको उम्मेदवार विजयी भएको घोषणा गरिन्छ । विजयी उम्मेदार घोषणा गर्दा दलले पेश गरेको बन्दसूचीमा प्राथमिकता बमोजिम उम्मेदवार विजयी हुन्छन् ।

मतदान केन्द्र थाह पाउने तरिका

आफ्नो मतदान केन्द्र कुन हो भनी थाह पाउन वा निर्वाचन सम्बन्धी जानकारी पाउन निर्वाचन आयोगको वेवसाइट www.election.gov.np  मा हेर्नुहोस् ।

– मतदाता शिक्षाका लागि पूर्वाञ्चल दैनिक/purwanchaldaily.com को सहकार्य 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here