त्रिभुवन विश्वविद्यालयको सेमेष्टर सिष्टमको विवाद

0
471

logo-of-purwanchal
–तीर्थराज खरेल
कुनै पनि देशको विकास त्यो देशको मानवसंसाधनको स्तरमा भर पर्छ । मानवशक्तिको सुव्यवस्था र सुपरिचालनका लागि देशका शिक्षालयहरुको महत्वपूर्ण भूमिका हुन्छ । नेपालको उच्च शिक्षामा आधा शताब्दीभन्दा अघि देखि निरन्तर रुपमा सबैभन्दा प्रभावकारी योगदान दिंदै आएको नेपालकै जेठो विश्वविद्यालयको रुपमा रहेको त्रिभुवन विश्वविद्यालय सदैव समयसापेक्ष रुपमा परिवर्तनको मूल मर्मलाई आत्मसात गर्दै अघि बढिरहेको छ, तथापि यो विश्वविद्यालयलाई बेरोजगार उत्पादन गर्ने यन्त्रशाला भनेर आलोचना नगरिएको होइन । २०२८ सालदेखि १ दशकभन्दा बढी समय लागू गरेर विविध समस्या र चुनौतिका कारण स्थगित गरिएको सेमेष्टर सिष्टम गत सालदेखि त्रिविले फेरि शुरु गरेको छ । शुरुमै विद्यार्थी संगठनहरुको आलोचनाको तारो बनेको यो कार्यक्रम पहिलो वर्ष त्रिवि केन्द्रीय क्याम्पस, दोस्रो वर्षदेखि उपत्यकाभित्रका आंगिक क्याम्पसहरुमा र क्रमशः उपत्यका बाहिरका आंगिक तथा सामुदायिक एवम् निजी क्याम्पसमा लागू गर्ने त्रिविको योजना थियो र छ, तर अहिले फेरि विभिन्न राजनीतिक दलका भातृसंगठनका रुपमा रहेका विद्यार्थी संगठनहरुले उपत्यकाभित्रका आंगिक क्याम्पसमा सेमेष्टर प्रणाली अनुरुप अगाडि बढाउन खोजिएको कार्यक्रममा अवरोध पु¥याएका छन् र यसलाई यथास्थितिमा अगाडि लैजान नदिने अडान लिएका छन् । यसले स्नातकोत्तर तहमा भर्ना लिन चाहने विद्यार्थीहरुमा अन्यौल सृजना भएको छ र अब निकास के हुने हो भनेर विद्यार्थीहरु चिन्ताग्रस्त छन् । विद्यार्थी संगठन र त्रिवि प्रशासनवीच यो विषयमा एक चरणको वार्ता भइसकेको छ, तर त्यो वार्ता निष्कर्षविहीन अवस्थामा टुंगिएको छ । त्रिवि प्रशासन पछाडि हट्ने अवस्थामा छैन भने विद्यार्थी संगठन पनि अहिलेकै परिस्थितिमा यो कार्यक्रमलाई अगाडि बढ्न नदिने मनस्थितिमा छन् ।
निश्चित कोटामा प्रवेश परीक्षा उत्तीर्ण गरी भर्ना हुन पाइने प्रावधान रहेको यो कार्यक्रममा हरेक ६ महिनामा परीक्षा हुने, समयमै परीक्षाफल प्रकाशित हुने, परियोजना तथा गृहकार्यमा जोड दिइने, विद्यार्थी नियमित हाजिर हुनुपर्ने, समावेशी रुपमा १५ प्रतिशतलाई छात्रवृत्ति दिइने लगायतका विशेषता रहेको छ । आवश्यक पूर्वाधारबिना त्रिविले यो प्रणाली लागू गरेको भनी विद्यार्थीले विरोध गरेका हुन् । सीमित संख्यामा मात्र भर्ना लिइनु, सबै क्याम्पसमा लागू नगरिनु, तोकिएको समयमा परीक्षा नलिइनु र परीक्षाफल समयमा प्रकाशित नगरिनुले सेमेष्टर सिष्टम र वार्षिक प्रणालीमा भिन्नता नभएको र खासखास क्याम्पसमा मात्र यो प्रणाली लागू गर्दा विभेद हुने विद्यार्थीको आरोप छ । दोहोरो मापदण्ड एउटै विश्वविद्यालयले उही तहका विद्यार्थीका लागि लागू गर्नु न्यायसंगत नहुने विद्यार्थी संगठनको भनाइ छ । त्रिवि प्रशासनको भनाइमा त्रिविको खस्किंदै गएको साखलाई उकास्ने, डिरेल भएको अवस्थाबाट ट्रयाकमा ल्याउने र विश्वविद्यालयलाई प्राज्ञिक केन्द्रको रुपमा स्थापित गर्ने पवित्र उद्देश्यबाट सेमेष्टर प्रणाली शुरु गरिएको तर्क गर्छन् । समाजलाई सुधारसहित पूर्णताका लागि शिक्षाको सुधार आवश्यकता छ । जापान, अमेरिका, बेलायत, चीन, बंगलादेश लगायतका देशका विश्वविद्यालयहरुमा सेमेष्टर प्रणाली स्वभाविक ढंगले लागू भइरहेको छ, हाम्रो देशमा पनि काठमाण्डौ विश्वविद्यालय लगायतका विश्वविद्यालयमा सेमेष्टर प्रणाली लागू भइसकेको छ । त्रिविमा यो प्रणाली सजिलै लागू नहुनुमा यसको ऐतिहासिक विकासक्रमलाई बुझेर मात्र कार्यक्रम बनाउनु आवश्यक हुन्छ । त्रिविका २ तिहाइभन्दा बढी विद्यार्थी भर्ना भइसकेपछि नियमित कक्षा जाँदैनन्, उनीहरु कुनै न कुनै रोजगारमा आबद्ध हुन्छन् र वार्षिक परीक्षाको फर्म भर्छन् र परीक्षामा बस्छन् । तसर्थ त्रिविमा यो प्रणाली लागू गर्दा विद्यार्थी नियमित हुन नसक्ने परिस्थितिका कारण यो समस्या उत्पन्न भएको लाग्छ । एकै पटक सबै क्याम्पसमा लागू नगर्नु र वार्षिक प्रणालीका कमजोरीलाई अभिभावक तथा बौद्धिक समुदाय र विद्यार्थीहरुलाई प्रष्ट पार्न नसकेकै कारण शुरु भएको १ वर्षपछि पनि यो प्रणालीप्रति सन्देह र अनिश्चितता कायम छ र सरोकारवालालाई बुझाउन नसक्नु त्रिविको कमजोरी हो । विद्यार्थीलाई शिक्षकको सानिध्यमा राख्ने र उनीहरुको कार्यसम्पादनलाई हेरेर मूल्यांकन गरिने यो पद्धति वैज्ञानिक त छ, तर यसका लागि हाम्रो परिवेश तयार भएको छ कि छैन भनेर घोत्लिनु आवश्यक छ । नियमित रुपमा क्याम्पसमा आएर कक्षा लिन नसक्ने, गृहकार्य गर्न नसक्ने र यस प्रावधानभित्र रहेका अन्य कार्यलाई सम्पादन गर्न नसक्ने विद्यार्थीका लागि वैकल्पिक व्यवस्था गरेर मात्र यो प्रणाली लागू गर्दा बढी राम्रो हुने देखिन्छ । वर्षको अन्तमा थुप्रेको चापबाट मुक्त भएर खण्ड–खण्डमा पढाइ हुने र परीक्षा हुने भएबाट विद्यार्थीलाई सहज हुने देखिन्छ यो प्रणाली लागू हुँदा । शिक्षण, अनुसन्धान र नवप्रवर्तनका लागि सेमेष्टर प्रणाली रामबाण सावित हुने त्रिविको सोचाइ रहे पनि यो १ वर्षको अवधिमा विकसित भएको अवस्थाले त्यो दिशातिर इंगित गर्दैन । संरचना, नीति, पूर्वाधार र मानवसंसाधन तथा स्रोतसाधन ज्यूँका त्यहीँ राखेर आशातीत सफलता कसरी प्राप्त होला र ! लक्ष्य प्राप्त गर्नका लागि पाठ्यक्रम र शिक्षण विधिमा परिवर्तन गर्न आवश्यक छ । नयाँ परिवेश निर्माण गर्न पुरानो संरचनामा समसामयिक सुधार आवश्यक हुन्छ । दशकौं पुराना पाठ्यक्रमलाई कायम राखेर र व्याख्यान विधिलाई सर्वोपरि मानेर नयाँ प्रणाली स्थापित गर्न सकिन्न । यो सच्चाइलाई त्रिवि प्रशासनले आत्मसात गर्न जरुरी छ । उच्च शिक्षा प्राप्त गरेका युगका हाँकलाई सामना गर्न सक्ने मानव संसाधनको उत्पादन गर्न सके मुलुक र स्वयम् शिक्षार्थीका लागि पनि फाइदा पुग्ने भएकाले त्यसका लागि सेमेष्टर प्रणाली सहायकसिद्ध हुनसक्छ । निरन्तरको अन्तरक्रिया, सहकार्य, मूल्यांकन र पृष्ठपोषणले विद्यार्थीको सिकाइ उपलब्धीमा वृद्धि हुने निश्चित छ । सेमेष्टर प्रणालीलाई लागू गर्दा देखा परेका समस्यालाई वैकल्पिक उपायहरु समेत अवलम्बन गर्दै निरन्तरता दिनु आवश्यक छ । विद्यार्थी संगठनले उठाएका व्यवहारिक मागलाई मनन गर्दै संरचनागत फेरबदल समेत गरी नवीन चिन्तनबाट अघि बढ्ने हो भने त्रिविको गिरेको साख केही वर्षभित्रमा  फिर्ता आउन सक्छ र नेपालको सबैभन्दा पुरानो विश्वविद्यालयको रुपमा रहेको विश्वविद्यालय साँचो अर्थमा अध्ययन–अनुसन्धानको प्रतिष्ठित केन्द्र बन्न सक्छ । उही प्रवृत्ति र उही पाठ्यक्रम कायम राखेर त्रिवि अगाडि बढ्न खोज्छ भने केही वर्षमा सेमेष्टर पद्धति स्थगन गर्नुपर्ने अवस्था पनि सृजना हुनसक्छ । त्रिवि प्रशासन, प्राध्यापक र कर्मचारी लगायत विद्यार्थीहरुको पनि प्रतिबद्धताको खाँचो छ–यसको निरन्तरता र सफल कार्यान्वयनका लागि । प्राध्यापक र विद्यार्थी दुवै पक्षबाट सिकाइ–पढाइमा बढी समय, बढी लगाव र बढी दत्तचित्तता आवश्यक पर्छ । शिक्षक र विद्यार्थीको वीचको अन्तरक्रियाबाट प्राप्त ज्ञान बढी टिकाउ र व्यवहारिक पनि हुन्छ । तसर्थ सेमेष्टर प्रणालीलाई असफल गराउने होइन, यसमा रहेका कमीकमजोरीलाई न्यूनीकरण गर्न र यसको कार्यान्वयनमा त्रिवि प्रशासनको नोकरशाही प्रवृत्तिको अन्त गर्न आवश्यक छ । हाम्रो देशमा खुल्ला विश्वविद्यालयको अवधारणा आइरहेको छ । नियमित रुपमा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि वैकल्पिक व्यवस्था गर्दै सेमेष्टर प्रणालीलाई अघि बढाउनु समयकोे माग हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here