संविधान जारी भएपछि भएको दोस्रो आमनिर्वाचनमा मतदाताले प्रकट गरेको असन्तुष्टिले राजनीतिक दलहरुलाई सचेत गराएको छ । विगतका निर्वाचनमा मतदाताले देखाउने गरेको उत्साह र आशालाई निराशामा परिणत गरेको यसपटकको असन्तुष्टिलाई नेपाली कांग्रेस, नेकपा एमाले जस्ता मुख्य दलहरुले गम्भीरतापूर्वक लिएनन् भने नेपाली जनतामा राजनीतिप्रति वितृष्णा उत्पन्न गराउने पक्का छ । नेपालको आमनिर्वाचनको इतिहासमा पहिलोपटक थोरै मात्र मतदाता सहभागी भएको यो निर्वाचनले ठूला दलका शीर्ष नेतृत्व लगायतका नेताहरुको भूमिकाप्रति अविश्वास जन्माएको छ । आफूलाई सर्वज्ञ र सर्वश्रेष्ठ ठान्ने नेतृत्वहरुको दम्भ, अहंकारलाई मतदान प्रक्रियामै असहमति जनाउँदै अनुपस्थित भएका मतदाताहरुको भावना, इच्छा, आकांक्षा र आवश्यकताहरुलाई अनुभूत गर्न नसक्दाको यो परिणाम सुखद् भविष्यको संकेत होइन ।

प्रष्ट र सर्वाधिक शक्तिशाली संसदलाई पटक–पटक विघटन गर्ने एमाले अध्यक्ष केपी ओलीको दम्भ र गठबन्धन गरेर पनि सत्ता आरोहण गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अकर्मण्यताको प्रतिबिम्ब ठानेका छन्– मतदाताको यो असन्तुष्टिलाई कतिपय बुद्धिजीवीले । गठबन्धनकै कारण आफूले नरुचाएको दललाई मतदान गर्नुपर्ने बाध्यकारी परिस्थितिले पनि मतदातालाई मतदान केन्द्रसम्म पुग्नबाट राकेको हुनसक्ने कतिपयको बुझाइरहेको छ । धेरै मतदाताको असन्तुष्टिका कारण मतदान गर्नेहरुका लागि भने सहज भएको यसपटकको निर्वाचनमा खासगरी सचेत मतदाता भएका जिल्लाहरुमा निर्वाचनप्रति नै उदासीनता देखिएको छ ।
मतदानलाई प्रजातन्त्रको प्राण भन्ने गरिएको छ । प्रजातन्त्रको जीवनमा प्राण सञ्चार गर्ने मतदाताहरुमा निर्वाचनप्रति जाँगर मर्नु भनेको नेतृत्व वर्गको अक्षमताको परिणाम नै हो । यसले अन्ततः तिनै ठूला भनिएका दल तथा नेताहरुलाई घात गर्छ । एकातिर निर्वाचन आयोग, सरकार र ठूला दलहरु देश निर्वाचनमय भनिरहेको छ, त्यहीं दशौं हजार युवा मतदाताहरु प्रत्येक दिन झोला बोकेर विदेशिइरहेका छन् । अझ दुःखद् कुरा भनेको सक्षम, युवा मतदाताहरु घरमै सुतेर बिताउनु हो । राजनीतिप्रति अविश्वास जगाउने दलहरुले आफ्नो रवैया, दम्भ, अहंकार त्यागेनन् भने भविष्यमा झनै ठूलो नकारात्मक परिणाम आउने पक्का छ । त्यसैले यो अवस्थाबाट जोगिन प्रमुख दल र नेताहरुले आफूलाई सुधार गर्नुपर्छ ।



























