अबको यात्रा !

0
193

भर्खरै सम्पन्न आमनिर्वाचनको परिणामले देशको भविष्यको संकेत गरिसकेको छ । अर्थात् विगतका निर्वाचनहरुमा मतदाताले देखाएको उत्साह यसपटक मतदानमा प्रकट भएन । जसको परिणाम नेपालको निर्वाचनको इतिहासमा सर्वाधिक कम मत खस्यो । यसबाट जिम्मेवार दलहरुले आफूलाई सच्याउन सकेनन् भने जनताको यस्तो वितृष्णाले नेपालको समृद्धिको यात्रामा अनपेक्षित दुर्घटना निम्त्याउन सक्छ । गएको पाँच वर्षमा ठूला राजनीतिक दलहरु त्यसमा पनि पहिले सरकारमा रहेको र पछि मुख्य प्रतिपक्षी बनेको दलले प्रदर्शन गरेको अराजनीतिक गतिविधिले यसपटकको निर्वाचनमा प्रभाव पारेको कतिको बुझाइ छ । ठूला दल पुरानो मानसिकताले ग्रस्त छन्, नेताहरु तिनै छन् र उनीहरुको अर्जुनदृष्टि भनेको सत्ता र कुर्सीबाट कहिल्यै विमुख हुन सकेन । त्यही कारण मतदातामा पनि निर्वाचन, उम्मेदवार र उनीहरुका प्रतिबद्धताले कुनै उत्साह जगाउनै सकेन ।

एकातिर उही दल, उही नेता, पुरानै र कहिल्यै पूरा हुन नसकेका प्रतिबद्धताले जनता आजित छन् भने अर्कातिर एउटै दलभित्र पनि ‘खुट्टा तानातान’को रोग व्याप्त छ । राजनीतिक नेतृत्व आफ्नो अनुपस्थितिमा हुनै सक्दैन भन्ने दम्भ र अहंकार सबै दलका शीर्ष नेतृत्वको साझा रोग रहेको छ । त्यही रोग र अहंकारको उपचार गर्न नसक्दा पटक–पटक टुक्रिनु, खुम्चिनु र क्रमशः हराउँदै जानु खासगरी वामपन्थी दलहरुको नियति बनेको छ । त्यही अहंकार र भ्रमले अहिले उनीहरुको अस्तित्व र उपस्थितिमा चुनौति थपिएको छ । राजनीतिलाई आफू अनुकूल उपयोग गर्ने दलहरुकै कारण आज आम मतदातामा निराशा मात्र होइन राजनीति र परम्परागत दलहरुप्रति वितृष्णा हुर्किएर गएको छ । जसको नतिजा मतदानको न्यूनतामा सचित्र उभियो ।

निर्वाचन लोकतन्त्रको जीवन सञ्चारको आधार हो भनेर मात्रै अब पुग्दैन । त्यसलाई आममतदाताको जीवनसँग जोड्न सक्नुपर्छ । त्यसो हुन सकेन वा दलहरुले राजनीतिलाई त्यसतर्फ उन्मुख गर्न सकेनन् भने ‘नो नट अगेन’ भन्दा पनि कठोर निर्णय गर्न जनता सक्षम हुन सक्छन् । प्रत्येक निर्वाचन र त्यसको परिणामले जनताको जीवन पद्धति र अवस्थामा सुधार हुन सकेन भने आगामी निर्वाचनको तस्विर कस्तो हुन जाला ? परिवर्तन र प्राप्त उपलब्धीलाई कसरी संस्थागत गर्न सकिएला ? त्यसप्रति तिनै दलहरु गम्भीर हुनुपर्दछ । निर्वाचन केवल परम्पराको निरन्तरता मात्र होइन, जनताको इच्छा, आकांक्षा, सपना, भविष्य र राष्ट्रको समृद्धिको माध्यम पनि हो । त्यसैले मतदानमार्फत जनताले अपेक्षा गरेको चाहनाको पूर्णता, आत्मसमीक्षा र मूल्यांकन गर्दै राजनीति स्थिरता र मुलुकको समृद्धितर्फ लाग्न निर्वाचित प्रतिनिधि तथा दलहरु केन्द्रित होऊन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here