नेपालको संविधान २०७२ जारी भएपछिको दोस्रो आमनिर्वाचनको मतदान सकिएर मतगणनाको काम अन्तिम चरणमा पुगेको छ । जनताको अभिमतद्वारा निर्मित संविधानसभाबाट संविधान बनेपछिको दोस्रो आमचुनाव गत मंसीर ४ गते सम्पन्न भयो । यतिबेला आम निर्वाचन–२०७९ को तीव्र विश्लेषण जारी छ । मतदाताको दल तथा दलका उम्मेदवारप्रतिको विश्वासमा आएको कमीकै कारण यसपटक ७० प्रतिशतभन्दा पनि कम मतदान भएको छ । जनताको यो निराशा यो व्यवस्थाप्रतिको चरम निराशाको संकेत हो । विश्वास भएमा चुनाव चिन्ह वा पार्टीको आह्वानको भरमा मतदान गर्न मतदाता तयार हुने गरेका विगतका अनगिन्ती उदाहरण छन् । तर, यसपटक मतदानका दिन केही नभए झैं गरी धेरै मतदाता घरमै काम गरेर बसे वा चौकतिर त्यतिकै बरालिएर समय कटाए ।
जानेर वा नजानेर ‘नो भोट’ को बाटोमा मुलुकका करिब ३०–४० प्रतिशत मतदाता देखिए । हुन त मतदान गरेर जनता शक्तिशाली हुनुपर्ने हो, मतदान नगरेर जित्ने हारे वा नजित्नेले जिते, भविष्यवाणी मिलेन । जनता शक्तिशाली भएको समय हो यो । जनतामा फैलिएको यो निराशाका लागि मुख्यतः राजनीतिक दल, नेताका बोलीबचन र व्यवहार जिम्मेवार छन् भने मुलुकका बौद्धिक वर्ग, कर्मचारीतन्त्र र सञ्चारजगत् पनि त्यतिकै जिम्मेवार छन् । सकारात्मकता र आशाका कुरा गर्दा प्रतिफल पनि त्यस्तै निस्कने हो, तर सबै लागेर नकारात्मकता फैलाउने काम भयो र जनतामा चरम निराशा, आक्रोश र अविश्वास सृजना भयो ।
यो चुनावको अर्को विशेषता भनेको दल र दलका नेतृत्वप्रति जनता आक्रोशित भए र ध्वंशात्मक आलोचनाको तहमा उत्रेको देखियो । नेताबाट केही भएन र भविष्यमा पनि केही हुन्न भन्ने सङ्कथन स्थापित भयो । बहुदलीय व्यवस्था आएपछिकै नेता लगातार २०४८ सालदेखि यसपटकसम्म चुनाव लड्नुले जनतामा आक्रोश जन्मियो । नेताहरू र दलहरूप्रति नकारात्मक भावको विकास गर्न कुनै अँध्यारो कुनाबाट प्रयत्न भइरहेको आशंका गर्छन्, तर दलहरूले आफ्ना नीति, कार्यक्रम, प्रणाली, पद्धति र व्यवहार समीक्षा गर्न आवश्यक भइसकेको सच्चाइलाई बुझ्न जरुरी छ । दलहरूको भूमिका माथि नागरिकहरू सन्तुष्ट नभएको अनुभूति भएको छ । तर, यसको अर्थ गैरदलीय व्यवस्थाको पुनरावृत्ति सम्भव छैन ।
यो चुनावमा पार्टी विचारधारा बिना पनि हुन्छ भन्ने मान्यता स्थापित गर्न प्रयत्न भयो । विचारधाराको राजनीति सकिएको हो भनी व्यापक बुझाइ विकास भइरहेको छ, तर वास्तवमा विचारविहीन दल र व्यक्ति हुँदैन । युवाहरूमा राजनीतिप्रति अविश्वास, अनास्था र मोहभङ्ग भएको कुरामा कुनै सत्यता छैन । किनभने विभिन्न प्रकारका स्वतन्त्रहरूको नाममा उम्मेदवारी भएको छ । राननीतिमा विचारधाराको अन्त्य भएको छैन । जनताको दैनिक व्यवहारमा सहयोग गर्ने वा जनताको सेवा गर्ने भन्दै पुराना दल र नेताको आलोचना गर्दै मैदानमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी लगायतका पार्टी पनि कुनै न कुनै दर्शन, विचार र सोचबाट अघि आएका हुन् भने राजनीतिमा विचारधारा हुँदैन भन्नु गलत हो ।
आम निर्वाचन–२०७९ को प्रचारप्रसारका क्रममा दलहरू मतदाताको ढोकासम्म गएर मत माग्ने काम गरे, तर यो समग्रमा सहज काम होइन । यो कष्टसाध्य काम हो । मेरो दलिन नटेक्नेलाई म मत दिन्न भन्ने सोच राम्रो होइन । उम्मेदवारको विचार, घोषणापत्रलाई गौण बनाएर घरआँगनमा पाइला टेकेकै भरमा मत दिने काम निश्चय नै राम्रो होइन । मेरो आँगनसम्म चुनावका बेलामा आउन नसक्ने दुःख परेका बेलामा आएर कसरी सहयोग गर्छ भन्दै सर्वसाधारण मतदाता उँचो स्वरमा बोलेको सुनियो । यो जनताको आवाज त हो, तर पछौटेपनको उदाहरण पनि हो र नेताप्रतिको अविश्वास, अनास्था र भरोसाको कमी हो । जनता शक्तिशाली त हुन्छन्, तर जनताको शक्ति कसरी उपयोग भयो भन्ने प्रश्न मूल प्रश्न हो । ‘जनता इतिहासका निर्माता हुन्’ भनिएकै छ, तर चुनावका बेला जनताको महान् शक्तिलाई प्रभावित गर्न दल तथा उम्मेदवारले अपनाउने हत्कण्डा, रवैया र चलखेलले जनतालाई जुवामा थापिएको जिन्सी जस्तो बनायो र जनतालाई षडयन्त्र, चलखेल, चेस वा क्यारामका गोटीचलाइका सिर्फ प्यादा जस्ता व्यवहार गरे दल तथा उम्मेदवारले ।
यस पटकको अर्को सबैभन्दा बढी चर्चापरिचर्चा भएको कुरा स्वतन्त्र उम्मेदवारका बारेमा छ । ठूला दलले अनुमानसम्म लगाएको, तर विश्वास नगरेको स्वतन्त्र पार्टी र वागी उम्मेदवारले चुनाव जिते । राजनीतिक दलले दिएका उम्मेदवारले विजय हासिल गर्नुलाई स्वभाविक मानिन्छ । तर, राजनीतिक दलको सहयोग नपाएका व्यक्तिहरू पनि ठूलो चुनावी हल्लाखल्लासहित मैदानमा देखिएका थिए र प्रत्यक्षतर्फ लगभग एक दर्जनले चुनाव जितेका छन् । स्वतन्त्र भनिए पनि वा बागी भए पनि तर बुझ्नुपर्ने कुरा के छ भन स्वतन्त्रका नाममा उठेकाहरू पनि राजनीतिक दलकै मानिस हुन् । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी पुराना पार्टी हुन् भने राष्ट्रिय स्वतन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नेपाल स्वाभिमान पार्टी लगायतका पार्टी स्वतन्त्रका नामका नयाँ बनेका पार्टी हुन् ।
अर्को सत्य कुरा के हो भने वैचारिक रूपमा कोही पनि स्वतन्त्र हुँदैन । तसर्थ, सबाल स्वतन्त्र उम्मेदवारको होइन, चुरो कुरो त दल र उम्मेदवारका मुलुकको रूपान्तरणका लागि लिएका सोच, विचार, कार्ययोजना, कार्यशैली र कार्यक्रमको हो । अहिले भरखरै बनेका वा बनाइएका दलबाट जनतालाई आँखामा ‘स्वतन्त्र’ भन्नु भनेको जनताको आँखामा छारो हाल्नु र जनतालाई दिग्भ्रमित बनाउनु हो । तर, जे होस् पुराना दल बाहिरका मानिस पनि विजय हासिल गरेर काठमाडौं नयाँ बानेश्वरको संसद् भवन छिर्न तम्तयार भएका छन् । शान्त तलाउमा रहेको पानी जस्तो राजनीतिक दलका विचार, सिद्धान्त, सोच, रणनीति, कार्यनीति, कार्यक्रम, कार्ययोजना र जनतासँग अन्तरघुलन हुने शैली र व्यवहारमा कुनै बदलाव आएन भने मुलुकमा अस्थिरता, विद्रोह र उपद्रव हुने सम्भावना बढेर जान्छ । युगको आवाजलाई बुझेर दलहरूले आफ्ना नीति, कार्यक्रम, प्रणाली, पद्धति र व्यवहार समीक्षा गर्न आवश्यक भइसकेको छ ।
दलहरूको भूमिकाबाट नागरिकहरू सन्तुष्ट भएको अनुभूति गरिरहेका छन् कि छैनन् भनी दलहरूले आफ्ना समस्त सङ्कल्प, वाचा, प्रतिबद्धता र घोषणाहरूलाई सिंहावलोकन गर्न अबेर भइसकेको छ । समकालीन नेपालमा विचारधाराको राजनीति सकिएको भनी प्रचार जो गरिँदैछ, यो दलिलमा सत्यता छैन । वास्तवमा केही स्वतन्त्र उम्मेदवारहरूको उम्मेदवारी र उनीहरूको लोकप्रियताले र दलहरू आफूभित्र संरचनागत, वैचारिक र कार्यक्रमिक रूपान्तरण गर्न हिचकिचाहटका कारण आजका समस्या सृजेका हुन् । हाम्रासामु भीमकाय रूपमा उपस्थित अजङ्गको अनुत्तरणीय प्रश्न मुलुकको लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता र नयाँ संविधान निर्माणमा मुख्य भूमिका खेलेका राजनीतिक दलहरू नेपाली जनमतको भावनालाई सम्मान गर्दै राजनीतिप्रति आमजनतामा सकारात्मक भाव सृजना गर्न सक्छन् कि सक्दैनन् भन्ने हो । आज नेपाली जनमत प्रश्न गरिरहेको छ– के दलहरू राजनीतिले मुलुकको हरेक क्षेत्रको नेतृत्व गर्न सक्छ र मुलुकको अग्रगामी रूपान्तरणका लागि राजनीतिबाट विकर्षित हुन खोजेको र अराजनीतिक चिन्तनधारालाई रोकेर सकारात्मक भावधारा सञ्चार गर्न सक्छन् ? गैरदलीय र स्वतन्त्र उम्मेदवार मुलुकको राजनीतिको विकल्प हुने भनेको दलहरूको रूपान्तरण नहुनु हो ।
साँचो कुरा के हो भने राजनीतिक दलको विकल्प राजनीतिक दल नै हुन् । पुराना सोच र क्रियाकलाप अगाल्ने राजनीतिक दलले आफूलाई जनभावना अनुरूप बदल्न आवश्यक छ भनी पार्टीको हकमा नयाँ ढंगले आत्मसमीक्षा गर्न अब समय आएको हो कि होइन भन्ने आजको यक्ष प्रश्न हो । आम मतदाता पार्टीहरूसँग योजनाको कमी भएर अरू विकल्प खोज्न चाहिरहेका छन् । कहिलेकाहीँ उम्मेदवारप्रतिको आकर्षणका कारणले पनि दलइतर मतदान गर्न मानिस लालायित भएका हुन सक्छन् । वास्तवमा आम मानिसले नयाँ विचार प्रवाहमा आफ्नो भविष्य खोजिरहेका छन् । यो आम निर्वाचनको मूल सन्देश भनेको पुराना दलले आफूलाई रूपान्तरण गर्नुपर्छ भन्ने हो ।
सबै मतपरिणाम त सार्वजनिक भइसकेको छैन । यतिबेलासम्म प्रष्ट भन्न सकिन्छ– यो निर्वाचनमा महिला, दलित, पिछडिएको वर्ग र अल्पसंख्यकले विजय हासिल कमै मात्र गरेका छन् । राजनीतिक दलले ती वर्गका उम्मेदवार नै कम उठाएका छन् भने मतदाताले पनि उनीरूलाई जिताउने सोच पनि बनाएनन् । प्रत्यक्षतर्फ कम जित्नु भनेको समानुपातिकतर्फ बढी महिला, दलित आदिको प्रतिनिधित्व गराउनैपर्ने हुन्छ ।
त्यसैले समानुपातिकतर्फ महिलाको बढी प्रतिनिधित्व गराउनुपर्ने भएकाले पुरुषको मौका कम हुने निश्चित भयो । यो समग्र दलका लागि र स्वयम् महिला, दलित, अल्पसंख्यक र पिछडिएको वर्गका लागि पनि सोच्ने विषय हो । किन उम्मेदवारी कम र किन जीत कम ? समावेशिता र समानुपातिकताको भावना माथि नै यसले प्रश्न उठाएको छ । ती वर्ग र तप्कालाई सशक्तीकरण गर्ने मूल आवश्यकता हो दलहरूका लागि । सधैँ हुने जस्तै यो चुनावमा पनि दलका ठूला नेता बहालवाला गृहमन्त्री, पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, पूर्व उपप्रधानमन्त्री, पार्टीका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सिद्धान्तका ब्याख्याता धेरै हारेका छन् । जनतको मतद्वारा उनीहरू हारे, तर वास्तवमा चुनावी गोटी चाल्न नजान्दा पनि हारेका हुन् ।
यो चुनावले यो संसदीय बहुदलीय व्यवस्थाका कमी–कमजोरीलाई पनि उजागर गरेको छ । अरबौं रकम खर्चेर, मुलुकका सारा जनशक्ति परिचालन गरेर गरेको चुनावले समाधान त दिन सकेन । ‘हङ् पार्लियामेन्ट’ अर्थात् त्रिशंकु संसदले कसरी निकास देला र ? कुनै दलको बहुमतको त कुरै छोडौं, कुनै दुईवटा दल मिलेर वा तीन वटा दल मिलेर पनि सरकार बन्दैन । छ वटाभन्दा बढी दल मिलेर मात्र सरकार बन्न सक्छ, सरकार बन्नै कठिनाइ छ भने नेपाली संस्कृति सबैलाई ज्ञात नै छ सरकार टिकाउन पनि गाह्रो छ । यसले व्यवस्थाको कमजोरीलाई देखाउँछ । शासकीय स्वरूपको अपुगलाई प्रष्ट देखाउँछ । प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री भन्ने समाधानको सञ्जीवनी बुटी भनेर जो प्रचारित छ, त्यसले पनि समाधान दिँदैन ।
समग्रमा भन्ने हो भने, हरेक दलले आत्मचिन्तन गर्ने र युगीन चेतको आवाजलाई सुन्न जरुरी छ । सर्वसाधारण मानिसको मनोविज्ञान र विचारलाई बेवास्ता गरेकै कारण आजको जस्तो अवस्था आएको हो । यसका लागि राजनीतिक दलका नेतृत्वगण, नीति–निर्माता, संगठक, बुद्धिजीवी र सिंगो सञ्चारजगत सबैले आफ्ना कमी–कमजोरीलाई स्वीकार गर्दै समयको पदचाप सुन्न सक्नुपर्छ । समयको गति समाउन नसकेकामा सबैले अफूलाई सच्याउन जरुरी छ । सिङ्गापुर वा स्वीट्जर्ल्याण्डको कुरा मात्र गरेर भएन, उनीहरूले कसरी काम गरे भनेर पनि बुझ्नुपर्छ । जापान जस्तो बन्न जापानी जस्तै मेहनत गर्न सक्नुपर्छ । दलका र अन्य उम्मेदवारहरूले जनपक्षीय, यथार्थ र विश्वसनीय वाचा गरिरहेका छन् कि छैनन् भन्ने हो ।
दलले सोच्नुपर्ने कुरा भनेको विचार, कार्यक्रम र उम्मेदवारको दृष्टिकोणबाट जनतालाई विकल्पविहीन बनाउनु हुँदैन । राजनीति षडयन्त्र, जालझेल र कपटबाट चल्छ र सानो कुलीन वर्गले सारा मुलुकको बागडोर चलाउनुपर्छ भन्ने सामन्ती, मध्ययुगीन, जनविरोधी सोच अहिले पनि दलहरूमा रहेका कारण नै यी यावत समस्या आएका हुन् । जनताका विचारलाई पार्टीका नीति, कार्यक्रम र कार्ययोजनाले छुन सकेमा मात्र विश्वास आर्जन गर्न सकिन्छ । गत आमनिर्वाचन दल, दलका नेता, सिद्धान्तकार, विचारक, संगठक, सल्लाहकार, सञ्चारकर्मी, मतदाता, नागरिक, चुनावका रणनीतिकार सबैका लागि शिक्षा दिएर गएको छ– आफूलाई बदल, मुलुकलाई सकारात्मक परिवर्तन चाहिएको छ ।