ठूलालाई साखको जोखिम

१२ मंसिर २०७९, सोमबार मा प्रकाशित

लामो संघर्ष र अभ्यासबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र नामको राजनीतिक प्रणाली अनुसार भएको पछिल्लो निर्वाचनले अस्थिर भविष्यको संकेत गरेको छ । उत्तम राजनीतिक व्यवस्था भन्दाभन्दै पनि राजनीतिक दलका नेतृत्वहरुको अक्षमता, अज्ञानता र अविवेकी निर्णयका कारण व्यवस्थामाथि नै सवाल खडा गरिदिएको छ । देशको अर्थव्यवस्था धराशायी बनेको छ, राजनीतिक, धार्मिक, सामाजिक तथा सांस्कृतिक पहिचान ह्रासोन्मुख छ । राजनीतिक दलका नेताको व्यवहारबाट नेपाली मतदाता खासगरी शहरी क्षेत्रका र सचेत वर्ग वाक्क भइसकेका छन् । त्यसको सानो झिल्को देखियो देशको राजधानी काठमाडौं महानगरपालिकाको निर्वाचनमा । त्यस्तै दृष्य देखियो धरान उपमहानगरपालिकामा पनि । निर्वाचित नेतृत्वको प्रभाव विस्तार हुने डरले थर्कमान मूलधारका राजनीतिक दल र नेतृत्व अहिलेको मत परिणामले अबको पाँच वर्षमा बढारिने चिन्तामा छन् ।

स्थापनाको थोरै समयमै सात जना स्वतन्त्र दलबाट निर्वाचित भएका छन् । दलभित्रका अन्तरसंघर्षमा पाखा लगाइएकाहरु केहीले स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिनिधिसभाको यात्रा तय गरेका छन् । राजनीतिक दलहरुले ‘गढ’ मान्दै आएका क्षेत्रहरुमा मतदाताले विकल्प खोजेर मतदान गरे । जसको परिणाम वहालवाला मन्त्रीहरु, ठूला दलका प्रभावशाली भनिएका नेताहरु नराम्ररी पराजीत हुन पुगे । ठूला दलको व्यवहार, देशको गिर्दो साख र अर्थतन्त्रका कारण विद्रोही बनिएका युवाहरुको उदयलाई अहिले पनि शीर्ष नेतृत्वले स्वीकार गर्न सकिरहेका छैनन् । दम्भ, अहंकार र कुण्ठाग्रस्त मानसिकता बोकेका केहीले भने परिणाम आफ्नो पक्षमा पारेका छन् । तर, तिनको मुटु अझै काम्न छाडेको छैन । वर्षौंवर्षदेखि योग्यता, क्षमता र कुशलताभन्दा चाकरी, चाप्लुसीमा दक्ष उनीहरुको गणेश प्रवृत्तिविरुद्ध उभिएका मतदाताहरु नै अब आशाका केन्द्रमा छन् ।

बहुदलीय राजनीतिक प्राणलीमा दलको विकल्प छैन । त्यसैले देशका विद्यमान समस्या, बेथिति, विकृति, विसंगतिको अन्त्य गर्न दलभित्रकै युवाशक्ति जाग्नु पर्दछ । आफ्नो दलभित्र सकारात्मक दवाव सृजना गर्न सक्ने त्यही युवा वर्गले मात्रै राजनीतिमा विकल्प दिन सक्छन् । राजनीतिक दलभित्र रहेको गुट परस्त र गणेश प्रवृत्तिका अभ्यासलाई बदल्न जरुरी छ । उम्मेदवारी नेतृत्वको गोजीबाट दिने प्रवृत्तिको परिणाम हो आजको अवस्था, त्यसैले सर्वप्रथम ठूला दलका नेतृत्वले आफूलाई परिस्कार, परिमार्जन र परिवर्तन गर्न आवश्यक छ । नेतृत्वको पुच्छर भएर राजनीतिको महायात्रा सजिलै तर्न सकिन्छ भन्ने मानसिकता त्यागेर मात्र अबको आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ । नत्र अहिले मुस्किलले जोगिएको ‘ठूला भनिने’हरुको अहंकार आउँदो निर्वाचनमा पुग्दा तोडिने निश्चित छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here