विराटनगरमा आगलागी नियन्त्रणका लागि पूर्वाभ्यास

0
166

मोरङ,

आगलागीबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न विराटनगरमा वारुणयन्त्रका कर्मचारीलाई पूर्वाभ्यास तालिम प्रदान गरिएको छ ।

विराटनगर महानगरपालिकाद्वारा सञ्चालित आधारभूत अग्नि नियन्त्रण तथा उद्धारसम्बन्धी छदिने तालिमको समापनका अवसरमा आज विराटनगर–३ स्थित खुल्ला चौरमा पूर्वाभ्यास आयोजना गरिएको हो । सो अवसरमा आगो नियन्त्रण सम्बन्धमा विभिन्न प्रकारका आगलागी नियन्त्रणबारे जानकारी गराइएको थियो ।

विराटनगर–३ पुष्पलाल चोकस्थित खुल्ला चौरमा कच्ची घर निर्माण गरी आगलागी नियन्त्रण, घाइतेको उद्धार, खाना पकाउने ग्यास चुहावटबाट हुने आगलागी नियन्त्रण, पेट्रोलियम पदार्थमा लाग्ने आगलागी नियन्त्रणजस्ता विविध प्रकारका आगलागी नियन्त्रणसम्बन्धी पूर्वाभ्यासको प्रदर्शनी गरियो ।

जुद्ध वारुणयन्त्र कार्यालय काठमाडौँका प्रशिक्षक किशोरकुमार भट्टराईले आगलागी पाँच प्रकारका हुने भएकाले २० प्रतिशत मात्र पानीबाट नियन्त्रण हुने र अन्य रसायनको प्रयोग गरी नियन्त्रण गर्नुपर्ने हुनाले त्यसका लागि आवश्यक सामग्री खरिद गरी जोहो गर्न आग्रह गर्नुभयो ।

स्थानीय साधन स्रोतबाट घरमा हुने आगलागी, खाना पकाउने ग्यास चुहावाट हुने आगलागी रोकथाम, पेट्रोल पम्प, विद्युतीय आगलागी, औद्योगिकजस्ता आगलागी रोकथाम तथा जनधनको क्षति न्यूनीकरण सम्बन्धमा सहभागीलाई सैद्धान्तिक एवं प्रयोगात्मक प्रशिक्षण दिएको थियो ।

महानगरका कार्यवाहक प्रमुख प्रकाश साहले प्राप्त तालिमको कार्य क्षेत्रमा सदुपयोग गरी नागरिकको जीउधनको सुरक्षा गर्नुपर्नेमा जोड दिँदै आगलागी नियन्त्रणका लागि आवश्यक सामग्रीको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त तालिममा वारुणयन्त्र कार्यालयका १२ तथा महानगरपालिका आठ जना गरी २० जनाले भाग लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here