जग्गा वर्गीकरणको काम तीब्र

0
182

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तीव्रता दिएको छ । नगरपालिकामा बुधवार बसेको स्थानीय भू–उपयोग परिषद्को बैठकले केही दिनभित्रमा जग्गा वर्गीकरणको काम सम्पन्न गर्ने विषयमा छलफल गरेको थियो ।

बैठकले बिहीबारदेखि तालिका बनाएर प्राविधिक टोली सहित नगरप्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने सबै वडामा पुग्ने निर्णय गरेको छ ।

विहीवार विहान वडा नम्बर २ देखि छलफल शुरु गर्ने तथा बाँकी रहेका कामलाई अघि बढाउने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए । बिर्तामोड नगरपालिकाले सबै वडामा यस अघि नै प्राविधिक टोली पठाएर जग्गा वर्गीकरणको काम गरिरहेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको बैठकमा प्रमुख प्रशासकीय अधिकृत न्यौपाने, सबै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो । नगरपालिकाले सबै वडामा स्थानीय भू–उपयोग परिषद्को वडा समितिसमेत यस अघि नै गठन गरिसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली २०७९ जारी गरेसंगै जग्गा वर्गीकरणको काम अघि बढाउन देशभरका पालिकाहरुलाई निर्देशन दिएको थियो ।

नियमअनुसार अब नेपालका जग्गाहरू विभिन्न १० खाले समूहमा वर्गीकरण हुने छन् । त्यसरी वर्गीकरण गरिएका समूहमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्व र नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here