झापामा ७३ जनाले बुझाए चुनावी खर्च

२२ मंसिर २०७९, बिहीबार मा प्रकाशित

पार्थ मण्डल/ भद्रपुर

झापाबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उठेका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालय झापामा धमाधम चुनावी खर्च विवरण बुझाउन थालेको छ ।

झापाका ५ निर्वाचन क्षेत्रबाट ९४ जना प्रतिनिधिसभा र ९८ जना प्रदेशसभा गरी १९२ जना उम्मेदवारमध्ये बुधवार दिउँसोसम्म ७३ जनाले चुनावी खर्च विवरण बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए । जसमा ४० जना प्रतिनिधिसभा र ३३ जना प्रदेशसभा सदस्यतर्फका उम्मेदवार छन् । जिल्लाबाट निर्वाचित पाँच जना प्रतिनिधिसभा र १० जना प्रदेशसभा सदस्यमध्ये हालसम्म तीन जनाले मात्र चुनावी खर्च विवरण बुझाइसकेका छन् ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिमार्फत मङ्गलवार चुनावी खर्च विवरण बुझाएका हुन् । ओलीले चुनावी प्रचार सामग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत गरी विभिन्न शीर्षकमा १८ लाख ८२ हजार ५० रुपैयाँको चुनावी खर्च विवरण बुझाएको सूचना अधिकारी न्यौपानेले बताए ।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवारले ३१ लाख रुपैयाँ चुनावमा खर्च गर्न पाउने प्रावधान थियो । त्यस्तै झापा ५ (२)बाट प्रदेश सांसदमा एमालेबाट निर्वाचित होमबहादुर थापा र झापा १ (२) बाट प्रदेश सांसदमा राप्रपाबाट निर्वाचित सबिना बजगाईँले चुनावी खर्च विवरण बुझाएका छन् । थापाले १२ लाख १८ हजार ९३० र बजगाईँले ६ लाख ४८ हजार ५९० रुपैयाँ ३७ पैसा चुनावी खर्च बुझाएको उनले बताए ।

झापा १ (२) मा १५ लाख र ५ (२)मा १७ लाख चुनावमा खर्च गर्न पाउने प्रावधान थियो । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरूले आफ्नो चुनावी खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान छ । सो म्यादभित्र खर्च विवरण नबुझाए निर्वाचन आयोगले जरिवाना गर्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here