लोकतन्त्रमा दलको भूमिका कमजोर हुनु हुँदैन

५ चैत्र २०८०, सोमबार मा प्रकाशित

राजनीति भनेको राज्यविषयक विज्ञान हो । प्राचीन र प्रारम्भिककालका राजनीतिक विद्वानहरूले विज्ञानको रूपमा राजनीतिलाई मानेका छन् । झण्डै दुई हजार चार सय वर्ष अगाडि ग्रिसेली दार्शनिक अरस्तुले आफ्नो विश्व प्रसिद्ध ग्रन्थको नाम नै ‘पोलिटिक्स’ राखेका थिए । राजनीतिको समकक्षी अङ्ग्रेजी शब्द ‘पोलिटिक्स’ ग्रिसेली भाषाबाट उत्पत्ति भएको हो जसको अर्थ हुन्छ– नगरराज्य । यसप्रकार नगरराज्यसँग सम्बन्धित विधालाई प्राचीन ग्रिसेलीहरूले राजनीतिको नाम दिए । आधुनिक राजनीतिक वैज्ञानिकहरूले राजनीतिलाई मुलुक सञ्चालनको सर्वश्रेष्ठ नीतिका रूपमा विस्तृत अर्थमा प्रयोग गरेका छन् ।

हिजोआज राजनीति भन्नाले व्यावहारिक राजनीति भन्ने बुझिन्छ र यसको प्रयोग या त राजनीतिक दललाई नियन्त्रण गरी कुनै खास सरकारी पदमा पुग्ने कलाका लागि गरिन्छ या सरकारको नीतिलाई निर्देशित गरी कुनै खास लक्ष्यतर्फ अभिमुख गराउने कलाका लागि गरिन्छ । समाजसेवा, खेलकुद, व्यापार, शिक्षा लगायत क्षेत्रमा गुटबन्दी, खिचातानी र भद्रगोल भएमा राजनीति घुस्यो भनेर भनिन्छ । वस्तुतः हिजोआज राजनीति विकृत अर्थमा प्रयोग गरिन्छ । यसले कुनै राज्यका समक्ष प्रस्तुत वर्तमान समस्याहरूसँग मात्र सरोकार राख्दछ । अचेल राजनीति भन्नाले छक्कापञ्जा, छलछाम, गुटबन्दी र स्वार्थको खेललाई बुझिन्छ ।

दलीय व्यवस्थामा राजनीतिक दलका कमजोर भूमिकाका कारण सबै क्षेत्रमा समस्या सिर्जना हुन्छन् । पहिलो कुरा राजनीतिक दलले आफ्नो कर्तव्य र गरिमालाई बोध गर्न सकेमा मात्र लोकतान्त्रिक व्यवस्थाको महत्त्व स्थापित हुन्छ । आधुनिक शासन–व्यवस्था जनमतमा निर्भर छ । हरेक राजनीतिक दलले आफ्नो जनताप्रतिको दायित्व र मुलुकप्रतिको उत्तरदायित्व बुझ्न जरुरी हुन्छ । स्थानीय, क्षेत्रीय, प्रादेशिक र राष्टिूय समस्या र तिनका समाधानका लागि दलहरूले सक्रियता, सबलता र सक्षमतापूर्वक चिन्तनमनन र विचारविमर्श गर्नुपर्छ । बनेका नीतिनियम र योजना–परियोजनालाई सफलताका साथ कार्यान्वयन गर्ने मूल दायित्व राजनीतिक दलकै हो ।

आफ्नो धारणालाई प्रभावशाली बनाउनका जनताले कस्तो र कुन प्रकारको सङ्गठन गर्ने जस्ता प्रश्नहरूको समाधानका नै राजनीतिक दलको उदय भएको हो । तसर्थ, राजनीतिक दललाई प्रजातन्त्रको आधारशिला भनिन्छ । दलगत शासन उत्तरदायी शासनको महत्त्वपूर्ण सिद्धान्त हो । राजनीतिक दल उत्तरदायी शासनको अविभाज्य अङ्ग हो । राजनीतिक ददबिना प्रजातन्त्रको कल्पनासम्म पनि गर्न नसकेका पश्चिमी विद्वान्हरू छन् । राजनीतिक दलको अभावमा स्वतन्त्रताको अभाव रहन्छ । राजनीतिक दललाई लोकतन्त्रको प्राण भनिएको छ । राजनीतिक दललाई सरकारको एक महत्त्वपूर्ण अङ्ग भनिएको छ । प्रतिनिधिमूलक र सहभागितात्मक प्रजातन्त्रको सफलता राजनीतिक दलहरूमाथि नै निर्भर छ । राजनीतिक दलहरूले अमूर्त मतदाताहरूलाई मूर्त रूप दिन्छन् । राजनीतिक दलबिना बहुदलीय संसदीय शासन व्यवस्था चल्न नसक्ने कुरा जगजाहेर छ ।

राजनीतिक दलको अर्को कार्य भनेको यसले असङ्ख्य मतदाताहरूको अव्यवस्थित भीडमा एउटा व्यवस्था कायम गर्छ । राजनीतिक दनहरूले नै मनुष्यका अस्पष्ट तथा परस्पर विरोधी विचारहरूलाई रूप र आकार प्रदान गर्दछन् । राजनीतिक दलले नै जनतालाई साधन र नेता प्रदान गर्छन् । यदि राजनीतिक दल नहुने हो भने सिद्धान्तको एकीकृत अभिव्यक्ति हुन सक्दैन, नीतिको नियमित विकास असम्भव हुन जान्छ, नियमितरूपले संसदीय निर्वाचनको वैधानिक उपाय प्रयोग गर्ने तरिका समाप्त हुन जान्छ र ती समस्त संस्थाहरूको अन्त्य हुन जानेछ जसको माध्यमबाट राजनीतिक दलले शक्ति ग्रहण गर्दछन् र तिनलाई जीवित राख्ने प्रयत्न गर्दछन् ।

मानिसहरू भन्छन्– राजनीतिक दलमा अनेकौं अवगुणहरू हुन्छन्, तसर्थ दलरहित शासन व्यवस्था नै राम्रो हुन्छ । तर, यो कुरा सही होइन । सुप्रसिद्ध निबन्धकार फ्रान्सिस बेकन आफ्नो सुप्रसिद्ध निबन्ध ‘अफ् म्यारिज’मा ब्रम्हचार्य र वैवाहिक जीवनको तुलना गर्दै भन्छन्– ‘विवाहमा दुःखैदुःख छ, तर ब्रम्हचार्यमा सुख छैन ।’ हो, दलहरूमा समस्या छन् । तर, दलहरू बिना लोकतन्त्रको परिकल्पना गर्न सकिन्न । संसारका सबै मानिस आफ्ना बालबच्चा हुन् भन्ने चाहन्छन्, तर बालबच्चा भएपछि धेरै समस्या हुन्छन् । घरगृहस्थीको सुख त्यसबाट सृजित दुःखभन्दा धेरै गुणा बढी हुन्छ ।

सरकारबाट गरिने प्रत्येक कार्यका लागि सङ्गठित सहयोगको आवश्यकता पर्छ । राजनीतिक दल भनेका सङ्गठित सहयोगको प्रतीक हो । राजनीतिक दल जनमत निर्माणको प्रमुख आधार हो । जनताको विचार अभिव्यक्तिको महत्त्वपूर्ण साधन राजनीतिक दल नै हो । दल वा सङ्गठनको अभावमा लोकमतको निर्माण गर्न अति नै अप्ठ्यारो हुन्छ । सङ्गठनमा शक्ति हुन्छ । यसको अभावमा समाजमा अव्यवस्था फैलिन्छ । कुनै पनि ठूलो स्वतन्त्र देश दलबिना रहन सकेको छैन । कुनै पनि व्यक्तिले राजनीतिक दलमार्फत विचार अभिव्यक्ति पाउँछ । प्रत्येक राजनीतिक दल वैचारिक आधारमा आधारित हुन्छ ।

प्रथमतः प्रत्येक व्यक्तिको आफ्नो धारणा मिल्दो राजनीतिक दलका माध्यमबाट सङ्गठित रूपले अभिव्यक्त गर्नका लागि तथा धारणा अनुरूपको राज्य व्यवस्था निर्माण गर्ने उद्देश्यले मनुष्य समान विचारधारा भएका राजनीतिक दल निर्माण गर्दछ । आधुनिक युगमा दल–पद्धति लोकतन्त्रको सफलताका लागि आवश्यक छ । दलले नै लोकतन्त्रलाई मूर्तता प्रदान गर्छ, दल नै राजनीतिक प्रजातन्त्रको मेरूदण्ड हो । राजनीतिक दल केही राजनीतिक उद्देश्य प्राप्त गर्न र सरकारको निर्माण गर्नका लागि सङ्गठित गरिन्छ । आफ्नो उद्देश्य पूर्ति गर्नका लागि राजनीतिक दलले अनेकौ कार्य गर्नुपर्छ । दलको मुख्य कार्य जनतामा राजनीतिक चेतनाको प्रचार गर्ने हो । राणा शासनको अन्त्यकालमा र पञ्चायतकालमा नेपालका राजनीतिक दलहरूले जनतालाई चेतनशील बनाउन अभियान सञ्चालन गरेका थिए ।

राजनीतिक दलहरूले समय–समयमा सार्वजनिक सभाहरू गर्छन्, पत्र–पत्रिका निकाल्छन् । सभामा सम्बन्धित राजनीतिक दलले आफ्नो दलको राजनीतिक विचार जनतालाई अवगत गराउँछन् । राजनीतिक दलहरूबाट प्रकाशित पत्र–पत्रिकामा राजनीतिका सम्बन्धमा चर्चा गरिएको हुन्छ । यसले जनतालाई राजनीतिक चेतना प्रदान गर्छ । निर्वाचनका समयमा प्रत्येक राजनीतिक दलले जनतासमक्ष आ–आफ्नो विचार र कार्यक्रम प्रस्तुत गर्छन् । जनतालाई शासन सम्बन्धी विषयमा भाग लिन उत्साहित पार्ने राजनीतिक दलहरू नै हुन्छन् । उदासीन र देशभक्ति नभएका जनसमूहलाई दल पद्धतिले राजनीतिक शिक्षा प्रदान गर्छ । दलको अर्को महत्त्वपूर्ण कार्य सार्वजनिक नीतिहरूको निर्माणमा जनताको नेतृत्त्व दिने हो । सर्वसाधारण जनता आधुनिक युगमा जटिल समस्याहरू बुझ्न सक्दैनन् ।

राजनीतिक दलहरूले त्यस्ता समस्याहरूलाई सजिलो रूपमा र समस्या समस्याको समाधान गर्ने उपाय समेत जनतासमक्ष राख्छन् । वाद–विवाद, जनसभा, आमसञ्चार आदिको माध्यमबाट राजनीतिक दलले समस्याका विभिन्न पक्षलाई जनताका समक्ष राख्छन् । यसर्थ राजनीतिक दलहरू विचारका संवाहक हुन् । राजनीतिले नै तोकिएका विधिविधान अनुरूप सरकारी पदाधिकारीहरुको छनौट गर्दछन् । राजनीतिक दलको प्रमुख कार्य सरकारको निर्माण गर्नु हो । प्रत्येक दलले आ–आफ्नो योजना र लक्ष्य जनसमक्ष प्रस्तुत गरी जनतालाई आकर्षित गरी मत माग्दछन् । जनताले आफ्नो इच्छा अनुसार उपयुक्त दलका उम्मेदवारलाई विजयी बनाउँछन् ।

शासन सञ्चालन गर्नु तथा आलोचना गर्नु दलहरूको काम हो । यथार्थमा भन्ने हो भने राजनीतिक दलले नै सरकारको कार्य गर्छ । आम निर्वाचनमा जुन दलको बहुमत संसदमा हुन्छ त्यही दलले नै सरकारको गठन गर्छ । सत्तारूढ दलको नै सरकारमाथि नियन्त्रण रहन्छ र समस्त शासनकार्यको भार त्यही दलमाथि रहन्छ । जुन दलको बहुमत हुँदैन तिनने सत्तारूढ दलको विरोध गर्छन् । सरकार तथा सत्तारूढ दलको आलोचना गरी स्वेच्छाचारिता उपर विपक्षले नियन्त्रण राख्तछन् । सत्तारूढ दललाई जहिले पनि अविश्वासको प्रस्तावको डर हुने हुँदा विरोधी दलको आलोचना माथि ध्यान दिँदै उसले कार्य गर्दछ । यसप्रकारले सत्तारूढ दलले शासनको सञ्चालन गर्दछ ।

राजनीतिक दलले सरकार र जनताबीच मध्यस्थता र पुलको कार्य गर्छ । सरकार र जनताबीचको कडी हो दल । राजनीतिक दलहरूले नै जनताका विचार, आशा, धारणा एवम् इच्छाहरू सरकारका समक्ष पु¥याउँछन् । सरकारको नीति, कार्यक्रम, सफलता एवम् विफलताको सूचना राजनीतिक दलले नै जनतालाई दिन्छन् । राजनीतिक दलको सङ्गठनको आधारमा नै सरकारले देशमा लागू गरिने कार्यक्रमहरूको घोषणा गर्दछ । दलहरूले आफ्नो दल सम्बन्धी कार्य गरी आफ्नो राजनीतिक सङ्गठनलाई सर्वश्रेष्ठ बनाउन प्रयत्न गर्दछन् । सरकार र प्रशासन चलाउने मात्र होइन, समग्र मुलुक आन्तरिक र बाह्य नीति–निर्माण गर्ने र तिनका कार्यान्वयन गर्ने कार्य गर्दछन् । सरकारका तीनै अङ्गहरू–व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले बेग्लाबेग्लै कार्य गर्छन । यी तीनै अङ्गलाई मिलाएर नै सरकार बन्दछ । तिनीहरू सामञ्जस्य स्थापित नगर्ने हो भने शासनयन्त्र नै असफल हुन जान्छ ।

राजनीतिक दलहरू सरकारका विभिन्न अङ्गहरूका बीच सामञ्जस्य स्थापित गर्ने सर्वोत्तम साधन हुन् । संसदीय व्यवस्थामा व्यवस्थापिका र कार्यपालिका एउटै दलको अनुशासनबाट बाँधिएका हुन्छन् । लोकतन्त्रमा राजनीतिक दल र दलीय स्वतन्त्रताको वकालत गर्दै दासप्रथा अन्त्यका सूत्रधार संयुक्त राज्य अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिङ्कन भन्छन्– ‘जसले अरुको लागि स्वतन्त्रताको ग्यारेन्टी अस्विकार गर्दछ, उसले स्वतन्त्रता उपभोग गर्न पाउँदैन । त्यो मानिसलाई कसैमाथि शासन गर्ने अधिकार हुँदैन, शासन गर्नका लागि जबसम्म उसले विधिसम्मत तरिकाले शासन गरिनेको सहमति लिँदैन ।’ लिङ्कनको यो भनाइबाट पनि राजनीतिक सङ्गठनको अपरिहार्यता र भूमिकालाई पुष्टि गर्दछ । दलको भूमिका कमजोर भएमा लोकतन्त्र धरापमा पर्दछ र जनताले पनि दुःख र भुक्तमान पाउँछन् । निष्कर्षमा भन्दा, राजनीतिक दलले आफ्नो कर्तव्य र गरिमालाई बुझ्न जरुरी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here