होली : सबैको साझा पर्व बनाऔं

१२ चैत्र २०८०, सोमबार मा प्रकाशित

हामी नेपालीहरू संस्कृति, चाडपर्व र उत्सवहरूमा धनी छौँ । नेपाली संस्कृति चाडपर्व र उत्सवहरूको संस्कृति हो । धार्मिक विविधतामा सम्पन्न नेपाल विश्वका लागि उदाहरणीय र अध्ययन गर्न लायक मुलुक हो । किन यति धेरै भाषा, संस्कृति, जाति र धर्म एकआपसी सहिष्णुताका साथ मिलेर बसेका छन् भनेर विश्वका लागि खोजीको विषय पनि बनेको छ । असल संस्कृतिको महिमा मण्डित गर्दै होली पर्वको २०८० को संस्करण हाम्रोसामु आएको छ । हुन त फागु पर्व कहिलेदेखि शुरू भयो, किटेर भन्न सकिन्न । फागु पूर्णिमाको रूपमा पनि परिचित यो पर्वले नछुने थोरै नेपालीहरू छन् । लगभग एक हप्ताअघि देखि नै बालबच्चा र तरुनीतन्नेरीका लागि होली शुरु भएको थियो ।

अहिले अधबैंशे, पाका र बुढापाका सबैलाई होलीको खुशीयालीले लपेटेको छ । होलीको धार्मिक र सांस्कृतिक महत्व त छँदैछ, तर यसले सामाजिक एकतालाई पनि बढावा दिन्छ । बहुसांस्कृतिक, बहुधार्मिक, बहुभाषिक, बहुजातीय हाम्रो हाम्रो मुलुक विविधताका बीच एकताको मूलमन्त्रलाई आत्मसात गर्छ । नेपालको इतिहासले यही बोल्छ, हाम्रो मूल दस्तावेज नेपालको संविधान २०७२ ले यही बोल्छ र नेपालीहरूको परम्परा र संस्कारले फूलबारीरूपी मुलुकमा सयौं फूल फुल्न दिने भाव कलकल गर्दै सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णाली झैं बगिरहेको छ । विविधताका पाटाहरूलाई संयोजन गर्दै सांस्कृतिक घुलनशीलताको अनुपम उदाहरणको रूपमा देखापरेको छ होली नेपालमा ।

यो हिमाल, पहाड र तराई–मधेश सबै क्षेत्रमा बसोबासो गर्ने नेपालीबीचको एकतालाई बलियो बनाउने चाडको रूपमा विकास भइरहेको छ । मानवीय जीवनको अर्को महŒवपूर्ण पाटो खुशी र उत्साह पनि हो । उत्साह, उमँग र हर्षका साथ विविध रङ्गको प्रयोग गरेर खेलिने यो पर्व राष्ट्रिय एकताको पर्व भएको छ । महँगीको पीडामा भावविव्हल र संवेदित भए पनि र जातीय, भाषिक, आर्थिक र सामाजिक विभेदले थिल्थिलो भए पनि हृदयभरि पीडा बोकेर पनि मुस्कुराउनुपर्ने रहेछ । यस्तै अभाव, दुःख र अनिश्चयका बीच हामी २०८० सालको होलीको माहोलमा छौं । काँक्रा चिरेर झैँ चिरिने पो हो कि भनेर संविधान निर्माणका बखत त्रासमा बाँच्नु परेको आलो इतिहास हाम्रासामु अहिले पनि अनुभूत हुन्छ ।

संविधानसभाको दोस्रो निर्वाचन अघि एकल र बहुल जातीय पहिचानका नाराले गुञ्जायमान नेपाली आकाश संविधानसभा चुनाव सकिएपछि र खासगरी नेपालको संविधान २०७२ जारी भएपछि राष्ट्रिय एकताको भावना बढेर गएपछि एकताको नाराले माधुर्य छरिरहेको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकमा दुःखेको नेपाली राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता सारा नेपालीको साझा पीडा बनेको दृष्टान्त आलै छ । नेपाली माझ फागु पूर्णिमा साझा नेपाली पहिचानको, राष्ट्रिय पहिचानको सुन्दर झण्डा बोकेर उभिएको छ हाम्रोसामु । २०८० सालको यो होली समस्त नेपालीको होली बनिरहेको छ । नेपाली जनताको बलियो एकताको सन्देश दिन फागु पूर्णिमा अर्थात् होली सफल भएको छ ।

होलीको माहौलबीचमा अभाव, दुःख र विपन्नताको मारमा परेका नेपालीको पीडा हामीले सम्झनै पर्छ । आर्थिक, जातीय, भाषिक, धार्मिक, लैङ्गिक विभेदमा परी विकासको मूलधारबाट सीमान्तकृत भएका र राज्यका सेवासुविधाबाट वञ्चितिमा परेर बाँचिरहेका नेपालीका लागि धरती आकाश गुञ्जने गरी आवाजबुलन्द गर्ने र नेपालमा शोषण र विभेदका शिकार बनेर अति कठिन जीवन बाँच्न बाध्य नेपालीको दुर्दशा र दुःखलाई बेवास्ता गर्ने उपल्लो वर्ग दुवैका लागि र स्वयम् पीडित जनताका लागि पनि राष्ट्रिय एकताको सन्देश सम्प्रेषण गर्ने होली एक प्रत्युत्तर भएको छ । यो होली पूर्व राजाको पनिहो, पूर्व राष्ट्रपतिको पनि हो, वर्तमान राष्ट्रपतिको पनि हो, वर्तमान प्रधानमन्त्रीको पनिहो र मधेस आन्दोलनको नेतृत्व गर्ने नेताहरूको पनि हो । यो होलीमा विभेदीकरण, अन्याय, अत्याचार र शोषणका कहर शहेर आँखामा आँशु साँचेर बाँच्न बाध्य हिमालवासी, पहाडवासी र तराईवासीका लागि ओठमा होलीको खुशीको मुस्कान छचल्किएको छ भने शरीरमा हर्ष र उमँगका उत्ताल तरङ्गहरू लहरिएका छन् ।

होलीमा दलिने रङ्ग एकताको प्रतीक हो, यो विजयको प्रतीक हो । यसले प्रष्ट पार्छ जस्तासुकै दुःखकष्टका बेला पनि नेपालीहरू दुःखलाई बिर्सेर खुशीयालीको माहोलमा सरिक भएर मनका पीडाहरूलाई निकास दिन सक्छन् र भोलिको स्वर्णिम सपना आँखामा सजाएर आशा बोकेर बाँच्न सक्छन् । प्रचलित नेपाली उखान छ– दुःख बाँडे दुःख घट्छ । ऋणका बोझले थिचिएका छन् नेपाली, गरिबीका रापले सेकिएका छन् नेपाली, आकासिएको महँगीरूपी सुरसाले निलिएका छन् नेपाली, वातावरणीय ह्रास र प्रदुषणका पहाडले किचिएका छन् नेपाली, तर पनिहोलीमा सारा दुःखलाई बिर्सेर नाचिरहेका छन्, उमँग र उत्साहले उत्ताउलिएर परम्परा धान्दै होली गीत जोगिरा सरर…सरर…गाइरहेछन् नेपाली ।

अनेकतामा एकता र एकतामा अनेकता एकआपसी रूपमा अन्योन्याश्रित भएका छन् । इन्द्रेणीका रङ्ग जस्तै रङ्ग खेलेर मनाइने यो पर्व आफैमा विविधताबीचको एकता कायम गर्न सफल भएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, समावेशिता, समानुपातिकता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रात्मक समृद्ध नेपाल निर्माण गर्ने अभियानको सार्थकता स्थापित गर्ने जनताको चाहना छ । जनता चाहन्छन् शान्ति, सुशासन, सुव्यवस्था र समुन्नति । नेपाली माझ रिसरागको अन्तहोस् ।

सङ्कीर्णता, कठोरता, क्षेत्रीयता र जातीयताले हाम्रा मन टुक्रा–टुक्रा भएका पनि छन् । अमानवताको अन्तहोस् । आपसी घृणाको नाशहोस् र मायाप्रेम, सद्भाव र समभावको विकास होस् । छलफल, बहस र सहकार्यबाट विमति र विरोधलाई न्यूनीकरण गर्दै जाने हो, तर देशका लागि, राष्ट्रिय एकताका लागि होलीले प्रवाह गरेको सन्देश मनका रिसराग धोऔं, पखालौं र राष्ट्रियतालाई मजबुत बनाउँदै नेपालीमाझका धुस्यान, कुँडाकर्कट र कसिङ्गरलाई होलीका दहन गरे झैं दहन गरौं भन्ने छ । शान्त, एकताबद्ध र समृद्ध नेपालको निर्माण गर्न सकौं । होली २०८० ले स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा राष्ट्रप्रेम, समृद्धि र शान्तिको भाव सञ्चार हुन सकोस् । यही सबैमा होली पर्वको हार्दिक शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here