झिलझिलेमा शिक्षालय बन्नु अभिशाप हो ?

७ चैत्र २०८०, बुधबार मा प्रकाशित

धर्म भनेको आध्यात्मिक आचरणमा धर्मानुयायीहरुलाई सत्मार्गमा डो¥याउनु हो । धार्मिक आचारसंहिता पालन गराउनु हो । तर, यहाँ धर्मलाई भजाएर रोटी सेक्नेहरु पछिल्लो समयमा सलबलाइरहेका छन् । व्यक्ति पछि समाज बन्छ, समाज समुदायको एउटा विकसित रुप हो । समाजले सिंगो देशको प्रतिनिधित्व गर्दछ । त्यो समाजसँग भाषा हुन्छ, जसले समाजलाई भाषिक सम्पर्कद्वारा मार्गनिर्देश गर्छ । यो आफैमा विशाल र विराट हुन्छ । भाषापछि लिपी हुन्छ, लिपीले समाजको विम्वलाई दस्तावेजीकरण गर्छ र समाजलाई इतिहास सिकाउँछ ।

समाज त्यतिले मात्र पूर्ण हुन सक्दैन, समाजमा सामुदायिक संस्कृति चलायमान रहन्छ जुन देशको राष्ट्रियता हो । दृष्टान्तस्वरुप नेपालीले बोल्ने भाषा राष्ट्रियता हो, नेपालीले लगाउने टोपी, बख्खु र धोती समेत राष्ट्रियता हो । त्यतिमात्र होइन, नेपालीले जन्मिनुभन्दा अगाडि आमाले बोल्ने भाषा राष्ट्रियता हो, यो आम समुदायले बुझ्न जरुरी छ । नेपालीको सभ्यतासँग जोडिएको तमाम विषयहरु खासमा एउटा सिङ्गो नेपाल हो । तर, धर्मभीरुहरुले नेपाललाई विचार विकेन्द्रीकरण गराएर स्वार्थपूर्ति गर्न अनेक हतकण्डा मच्चाइरहेका छन्, यो गम्भीर विषयमा सबै नेपाली सचेत हुन आवश्यक छ ।

आफ्नो अस्तित्व स्थापित गर्न खोज्दा अर्काको अस्तित्वलाई आँच पुग्छ भन्ने चेतना नभएका अहङ्कारी व्यक्तिवादी चरित्रका व्यक्तिहरुलाई आम सचेत नेपालीहरुले सबक सिकाउन सक्नु पर्छ । नेपालको हकमा इतिहासदेखि वर्तमानसम्म पाठ पढाइरहेका छन् । विश्व मानचित्रमा नेपाल मात्र यस्तो मुलुक हो, जसको सामाजिक संरचना मिश्रित रहेको छ । मिश्रित भएकैले नेपाल सुन्दर र मनमोहक छ । यो देशलाई धार्मिक युद्ध गराएर जसले आफ्नो दूनो सोझ्याउने दिवास्वप्न देखेको छ त्यो अहिलेसम्म प्रायः विफल मात्र भएको छैन कडा प्रतिरोध हुँदै आइरहेको छ ।
एउटा घरमा चार जना परिवारका सदस्य हुन्छन्, स्वभावैले चार जना मानिस चारै ध्रुवमा बाँडिन्छन्, तर मिलेर घर चलाउँछन् । मैले उठान गरेको विषयवस्तु एउटा सिङ्गो देशको हो, जहाँ तीन करोड नेपालीहरु भौगोलिक वस्तुस्थितिलाई सामाञ्जस्य गर्दै खुशीले बाँचेका छन् । यस्तो शान्तिपूर्ण अवस्थालाई धार्मिक आडमा कसैले गिजोल्नु हुदैन ।

एक सय आठ वर्षे राणाकालीन शासन तथा ३० वर्षे निरकुंश पञ्चायती व्यवस्थाको अवशेषले कथित उपल्लो जातपातको नाममा समाजलाई नराम्ररी गिजोल्यो । २०४६ सालमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्यसँगै बहुदलीय प्रजातन्त्रको प्रादुर्भाव भयो, प्रजातन्त्रमा केही हदसम्म विभेदमा परेका सीमान्तकृत जनताले टाउको उठाउने मौका प्राप्त गरे । २०५२ सालमा आमूल परिवर्तनको नाममा सशस्त्र जनयुद्धको घोषणा भयो, त्यसको उपलब्धी स्वरुप २०६२÷०६३ को आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापित ग¥यो र २०७२ सालमा नेपालको संविधान जारी भयो ।

समुदायको असन्तुष्टिका बीच जारी भएको नेपालको संविधान २०७२ अहिले संस्थागत उन्मुख छ । संविधानले मार्गप्रशस्त गरेको भुँइ टेकेर अग्रगामीतिर गइरहेको नेपाललाई धर्मको नाममा खेती गर्ने लालगद्धारहरु देशलाई धार्मिक द्वन्द्वमा फसाउनेतर्फ उद्दत देखिएका छन् । यो संविधानको ठाडो उल्लंघन हो । कानून र संविधानको विपक्षमा बोल्ने कुनै पनि छद्मभेषीहरुलाई छुट छैन । हेक्का रहोस्, अहिलेका नेपालीहरु विज्ञान प्रविधिको पहुँचमा रहेका नेपालीहरु हुन्, जसले धार्मिक, सांस्कृतिक तथा भाषिक गरिमा बुझेका छन् मात्र होइन बन्धुत्व, धार्मिक सहिष्णुतालाई कसरी अक्षुण्ण राख्न सकिन्छ कसैले सिकाउनु पर्दैन ।

नेपाल र भारतको सांस्कृतिक र भौगोलिक अवस्था मिल्छ । त्यसो भन्दैमा भारतबाट आएर धर्मपीठ रुँगेर बसेका धर्मभीरुहरुले नेपालको सामाजिक यथार्थता भत्काउने दुस्प्रयास गर्न खोज्नु घोर आपत्ती हो । यस्ता प्रवृत्तिका व्यक्तिहरुलाई नेपालीले जबसम्म चिन्न सक्दैनन् तबसम्म देशमा स्थायी शान्ति कायम हुन सक्दैन भन्ने हेक्का सबैमा हुन वाञ्छनीय छ । प्रसंग गणेशमानसिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालयले निर्माणाधीन अधुरो भौतिक संरचना पूरा गर्न आयोजना गरेको सप्ताहव्यापी श्रीमद् भागवत महापुराणको हो ।

सताक्षीधाम गोलोक गोवद्र्धन गौशालाका संस्थापक तथा संरक्षक नन्दकिशोर भारद्वाजले झिलझिलेमा चलिरहेको श्रीमद् भागवत महापुराणलाई इंगित गर्दै आयोजकबिरुद्ध सामाजिक सञ्जाल फेसबुकमा विचार पोस्ट्याएका छन् । उनको फेसबुक स्टाटसमा यस्तो लेखिएको छ– धर्म निरपेक्षताका अनुयायीहरुका अग्रतामा सञ्चालित विभिन्न प्रकारका सामाजिक तथा शैक्षिक संस्थानहरुमा केवल धनार्जनका निमित्त सनातन शास्त्र वेद, पुराण आदिको आयोजना हुनु बेइमानी हो । यस्ता कार्यक्रमहरुलाई बहिष्कार गर्दै श्रद्धेय कथा व्यासाचार्यहरुले यसबाट बच्नु पर्दछ । हाम्रा शास्त्रहरुको उपभोग मात्र गर्ने तर राष्ट्रधर्मप्रति बफादार नहुने, सर्वधर्म सद्भावको नारा लगाउँदै स्वधर्मप्रतिको निराशामा हिड्ने राजनीतिज्ञहरुले धनार्जनका निमित्त पुराण होइन कुरान पढाउन, वेद होइन बाइबल पढाउन केवल धनोपार्जनका लागि सनातन धर्मको सहारा लिने, पुराण लगाउने र सनातन धर्म सापेक्षताको विरोध गर्ने ठुटे नेताहरुले सजग हुनु परो ।

गुरुका यस्ता द्विविधायुक्त विचार पोस्ट्याइले सर्वसाधारणमा कस्तो असर पुग्न सक्छ भन्ने समेत हेक्का नराखी पुराण आयोजकहरुलाई गाली गरिएकोप्रति धेरैले असन्तुष्टि व्यक्त गरेका छन् । गुरुहरु भनेको गुरुहरुको पनि गुरु हो । शक्तिपीठमा बसेर धर्मको नाम जपिरहेका गुरुहरुले अरुको मानमर्दन गर्न सक्छन् र ? मानिसहरु राजनीतिक सिद्धान्त र विचारमा फरक हुनु अस्वाभाविक होइन, तर धर्म र आध्यात्मिक हिसाबले केही बाहेक धेरैले पुराणलाई स्वीकारेर अघि बढिरहेका थिए र अहिले पनि छन् । के झिलझिलेमा एउटा सुविधासम्पन्न गणेशमानसिंह अध्ययन प्रतिष्ठान प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापित हुनु अभिशाप हो ? प्रश्नका डङ्गुरहरु थुप्रै उठेका छन् ।

देशको मुहार फेर्न नचाहने पुरातात्विक मन, चिन्तनले ग्रस्त, अग्रगामी छलाङको विरोधी, संघीय लोकतान्त्रिक नेपालको वाधक केही पश्चगमनकारीहरु झिलझिले विकासको पथतर्फ हिडेको देख्न नसक्नेहरुको बुख्याँचा प्रवृत्ति हो । यस्ता नकावधारीहरुसँग सबै सचेत हुनु पर्दछ । यो देशको इतिहास रातो अक्षरले लेखेर वीर, वीरङ्गनाहरुले पुस्तान्तरण गरेर गएका हुन् । कसैको दाइजोमा प्राप्त भएको होइन, त्यसैले यस्ता संवेदनशील विचारहरुमा धर्म निरपेक्षताका समर्थक ठुटे नेताहरु गम्भीर हुनु आवश्यक छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here