
पूर्वाञ्चल दैनिकका तत्कालीन प्रधान सम्पदक, नेपाली पत्रकारिताका अग्रज व्यक्तित्व मदन ढकालको निधन भएको ६ बर्ष बितेको छ । ०७३ मंसीर २३ गते ढकालको निधन भएको थियो ।
मुलुकको पत्रकारिता विकासक्रम, संघर्षका देख्ने साक्षी थिए उनी । मोफसलको पत्रकारिताको धरोहर र प्रेरणाका स्रोत पनि थिए उनी । उनी मान्छेका मार्गदर्शक, उत्प्रेरणा र ऊर्जाका स्रोत थिए । कर्मठ, सत्यवादी र परोपकारी । विकास र पत्रकारिताका क्षेत्रमा अमूल्य योगदान दिएका झापा बिर्तामोड निवासी ढकालको हामीमाझ केवल सम्झना मात्र बाँकी छ ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य तथा नेपाली साहित्य विकास समिति मेचीका संस्थापक सचिव थिए– ढकाल । जीवनको झण्डै आधा शताब्दी पत्रकारिता क्षेत्रलाई समर्पण गरेका मदन ढकाल अन्तिम समयसम्म पनि पत्रकारिता क्षेत्रमा क्रियाशील नै रहिरहे । उनको संगत गरेका धेरैजसोले उनलाई आदर्शका स्रोतका रूपमा लिन्छन् ।
पत्रकारिताका विज्ञ भानुभक्त आचार्यले पत्रकारले पत्रकारिता क्षेत्रमै दत्तचित्त भएर लागीपर्नुपर्ने आदर्श भएका व्यक्तित्वका रुपमा मदनलाई लिएका छन् । झापाली पत्रकारितामा एउटा प्रेरणा पुञ्जका रुपमा उनले साढे चारदशक पु¥याएको योगदान अविस्मरणीय छ ।
तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रूपमा २००९ साल जेठ १९ गते आइतबार तत्कालीन अनारमनी–१ खोपवाडीमा जन्मिएका ढकालले बाँचुञ्जेल पत्रकारिता, साहित्य र शिक्षा क्षेत्रको सेवा गरिरहे ।
यसरी शुरु भयो पत्रकारिता
मदन ढकाल २०२४ सालबाट पत्रिकाको सम्पादनमा संलग्न रहे । शनिश्चरे माविको बार्षिक मुखपत्र उषा र अर्चनाको सह–सम्पादक र कार्यकारी सम्पादक भए । २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरी (१९ बर्षसम्म अध्यापन) गरे । २०२८ सालदेखि विवेचना अर्धसाप्ताहिक पत्रिकाको दार्जीलिङ प्रतिनिधि भई पत्रकारिता क्षेत्रमा संलग्न भए । प्रेस काउन्सिल नेपालबाट विषयविज्ञको प्रशिक्षक, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य, महासंघका केन्द्रीय पार्षद रहे उनी ।
साहित्य यात्रा
ढकालका गरिमा (काठमाडौं), बाडुली (शिलगढी भारत), विवेचना, विश्वदीप, जुही, शिरविन्दु, ध्वनि, साहित्यिक पत्रिकाहरुमा संलग्न रहे । त्यस्तै काठमाडौंका समीक्षा, स्वतन्त्रता, जनस्वतन्त्रता, नयाँ सडक, नेपाली, राष्ट्र पुकार, सुरुची, देशान्तर, नयाँ किरण, करेन्ट, हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेशटाइम्स, तरुण आदि र झापाका आलोक, युगज्ञान, विवेचना, सूर्योदय, जनध्वनि, पूर्वाञ्चल आदि पत्रपत्रिकामा उनका कथा, कविता, समीक्षा, निबन्ध व्यङ्ग्य, समसामयिक राजनीतिक तथा सामाजिक लेख रचना प्रकाशित भएका थिए ।
प्रकाशोन्मुख कृति
कविता संग्रह–१, कथा संग्रह– १, सिके प्रसाई (भरतबाबुको) स्मृति यात्रा रहेका थिए, जुन उनको निधनका कारणले प्रकाशित हुन सकेनन् ।
सम्मानित व्यक्तित्व
नवरंग प्रतिष्ठान धरमपुर झापाबाट अभिनन्दित, देवकोटा स्मृति भवन भद्रपुरबाट अभिनन्दन, शनिश्चरे माध्यमिक विद्यालयबाट स्वर्ण जयन्ती र हिरक जयन्तीको अवसरमा सम्मान, मोतीराम पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ झापाबाट, खिलेश्वरी पत्रकारिता पुरस्कार विराटनगर, श्यामकृष्ण उपाध्याय स्मृति पुरस्कार मेची, श्यामकृष्ण पत्रकारिता पुरस्कार नेपाल, पत्रकार संघ झापा, न्यू म्यान प्राइड अफ शिलगढी भारत, भारतीय नेपाली पत्रकारितामा विशिष्ठ योगदान पु¥याए वापत शिलगढी–बागडोगरा जुनियर च्याम्बर शिलगढी भारतबाट, देवीप्रसाद उप्रेती निजानन्द पत्रकारिता पुरस्कार, हेमसरिता पत्रकारिता पुरस्कार (अमेरिकाको टेक्ससबाट), डिकमान विरही पत्रकारिता पुरस्कार फोनिजबाट लगायत विभन्न संघ–संस्थाहरूबाट विभिन्न समयमा पुरस्कृत र अभिनन्दित तथा सम्मानित भएका थिए ।
भ्रमण
ढकालले भारत, बंगलादेश, भुटान, पाकिस्तान, टर्की, पोल्याण्ड, चेकोस्लाभिया, जर्मनी र चीनको स्वशासित क्षेत्र तिब्बत, थाइल्याण्ड, मलेशिया साहित्य, पत्रकारिता एवम् विभिन्न सामाजिक संघ–संस्थाको माध्यमबाट भ्रमण गरेका थिए ।
परिवार
आमा तुलसा, बुबा परशुराम, श्रीमती सावित्रा, छोरा सृजन, बुहारी एलिना, छोरीज्वाइँ सीमा–लीलाप्रसाद घिमिरे, उमा चन्द्रप्रकाश भट्टराई, सुस्मिता–भूपेन्द्र मैनाली, मनिषा–रोशन नेपाल, भाइ मोहन, लक्ष्मण, अरुण, सुरेश र बहिनी दुर्गा आचार्य रहेका छन् । आज उनको पुण्यतिथिको अवसरमा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।