झापाका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको उदाहरणीय काम

२४ मंसिर २०७९, शनिबार मा प्रकाशित

झापा, प्रायःजसो प्रशासनिक संयन्त्रसहित बजार अनुगमनमा निस्कने झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने शनिबार फरक ढंगले प्रस्तुत भए । सिनियर अनमी समेत रहेकी श्रीमती सीता मिश्रसहित सिनियर अहेव पवित्रा पौडेललाई लिएर उनी शिवसताक्षी नगरपालिकाको लक्ष्मीनारायण मन्दिर तथा जगत्गुरु योगीराज कमलनयनाचार्य आश्रम माईधाम पुगेर त्यहाँ रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गराउँदै उनीहरुलाई आवश्यक पर्ने निःशुल्क औषधि वितरण गर्नुका साथै खाद्यान्न समेत वितरण गरे ।
आश्रममा रहेका ज्येष्ठ नागरिकलाई जनही आर्थिक सहयोग प्रदान गर्दै स्वास्थ्य उपचारलाई समेत जोड दिए । श्रीमती नै सिनियर अनमी रहेको र कनकाईमा कार्यरत अर्की एक सिनियर अहेव पवित्रा
पौडेलले स्वास्थ्य जाँच गरेपछि न्यौपानेकै रोहवरमा त्यहाँ रहेका ज्येष्ठ नागरिकलाई पोषिलो खानेकुरासहितका सामग्री प्रदान गरिएको थियो ।
लक्ष्मीनारायण मन्दिरलाई आर्थिक सहयोग समेत गरेका न्यौपानेले आश्रमद्वारा सञ्चालित अनन्ता दर्श संस्कृत वेद विद्यालयमा अक्षयकोष स्थापनाका लागि ११ हजार एक सय रुपैयाँ प्रदान समेत गरे । सहायक प्रमुख जिल्ला अधिकारीले यो सबै रकम सरकारी संयन्त्रबाट नभई उनले आफ्नो व्यक्तिगत रुपमा खर्च गरेका थिए । यसो गर्नुको पछाडि आफ्नी दिवंगत माता कृष्णमाया न्यौपानेको वार्षिक पुण्यतिथि तथा सासूआमा विष्णुमाया मिश्रको सम्झना रहेको थियो ।
आमा जीवित रहँदाको २८ हजार सात सय ४५ दिनलाई रुपैयाँमा बदल्र्दै उनले प्रतिदिन एक रुपैयाँका दरले मन्दिरलाई रकम प्रदान गरेका थिए । आफ्नी आमा ७८ वर्ष नौ महिना पाँच दिन जीवित रहेको र हरेक दिनको एक–एक रुपैयाँ आमाको सम्झना स्वरुप मन्दिरलाई दान गरेको उनले बताए । ‘आमाको वार्षिक पुण्यतिथिमा हुने फजुल खर्चको सट्टा मन्दिरमा आश्रित जीवित मातापिताको सेवामा सहयोग गरेको हुँ’– सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले भने– ‘संयोगबस सासूआमाको समेत स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्ने सन्दर्भ मिल्यो, त्यसैमा हामी हर्षित छौं ।’
सहायक प्रमुख जिल्ला अधिकारी न्यौपाने, श्रीमती सीता, छोरा आयुष र छोरी आराध्या न्यौपानेसहित शनिवार विहानै मन्दिर पुगेका थिए । मन्दिरमा रहेका ज्येष्ठ नागरिकको विषयमा छोराछोरीलाई समेत जानकारी गराउँदै दीनदुःखीको सेवामा लाग्न अर्तीबुद्धि समेत दिएका थिए ।
मन्दिरमा रहेका ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँका दरले रकम प्रदान गर्दै मन लागेको चिज किनेर खानु हैं माताजी÷पिताजीभन्दा ज्येष्ठ नागरिक हर्षित मात्र भएनन्, उनीहरुका आँखा रसाएका थिए । यसअघि त्यहाँ रहेका ३५ जना नै ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
आफैंले औषधि खरिद गरेर मन्दिर पुगेका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले मन्दिरको स्तरोन्नति र त्यहाँ रहेका ज्येष्ठ नागरिकको सेवामा लाग्न आफू सदैव लागीपर्ने प्रतिबद्धता जनाए ।
२०२८ सालमा स्थापित मन्दिरले अहिले संस्कृत विद्यालय समेत सञ्चालन गरेको छ । पं. दामोदर गौतमका अनुसार २०२८ सालमा पं. धरणीधर निरौला र देवनायक अर्यालले स्थापना गरेको मन्दिरलाई जगत्गुरु अनन्तविभुषित नेपाल द्वेशीय आध्या जगत्गुरु १००८ दूग्धधारी श्री कमलनयनाचार्य स्वामीजी महाराजले मन्दिरलाई आठ विगाह जमिन उपलब्ध गराइएको छ ।
मन्दिरद्वारा सञ्चालित संस्कृत विद्यालयमा अहिले ३८ जना बिद्यार्थी
अध्ययनरत् रहेको सो अवसरमा जानकारी दिइयो । कक्षा ८ सम्म अध्ययन हुने विद्यालयमा संस्कृतका चार वटा र आधुनिक शिक्षाका चार वटा विषय अध्ययन हुने गरेको बताइएको छ ।
संस्कृततर्फ व्याकरण, वेद, कर्मकाण्ड र संस्कृत भाषा अध्ययन हुन्छ भने आधुनिक शिक्षातर्फ अंग्रेजी, गणित, सामाजिक र नेपाली विषय अध्ययन÷अध्यापन गर्ने गरिएको छ । पुरानो अवस्थामा रहेको मन्दिरको जीर्णोद्धार समेत भइरहेको छ ।
दक्षिणात्यशैलीको मन्दिर निर्माणका लागि १५ करोड रुपैयाँ लाग्ने सो अवसरमा जानकारी दिइयो । दुई कठ्ठा चार धुर जमिनमा मन्दिर निर्माण भइरहेको र दाताकै सहयोगमा १५ करोड रुपैयाँ जुटाइने बताइएको छ । मन्दिर २०७९ साल बैशाख २२ गतेबाट जीर्णोद्धारको काम भइरहेको त्यसअवसरमा जानकारी दिइयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here