झापा भाग्यमानी र नेतृत्वदायी जिल्लाकै रुपमा गनिन्छ । विकासका सबै पूर्वाधारहरुको उपलब्धता र पहुँचका दृष्टिले मात्र होइन शिक्षा र राजनीतिको समेत केन्द्रमा रहँदै आएको झापा यसपटकको आमनिर्वाचनमा पनि चर्चाको शिखरमै रह्यो । सात वटा राष्ट्रिय राजनीतिक दलहरुमध्ये दुई वटाका अध्यक्षको समेत निर्वाचन क्षेत्र रहेको झापामा नेपाली कांग्रेसका वर्तमान तथा पूर्व महामन्त्री गरी दुई जनाले चुनावमा प्रतिष्पर्धा गरेका थिए । ती मध्ये नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचन क्षेत्र नं. ५ र ३ बाट निर्वाचित भए । त्यस्तै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा क्षेत्र नं. १ बाट निर्वाचित हुँदा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष लिङ्देनसँग पराजीत भए ।

झापाको निर्वाचन क्षेत्र नं. ३ यसपटक झनै भाग्यशाली बनिएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लिङ्देनसँगै समानुपातिक तर्फ एमालेबाट कालुराम राई (के आर खम्बू), राष्ट्रिय स्वतन्त्र पार्टीबाट निशा डाँगी र जनता समाजवादी पार्टीबाट सहनाज रहमान संघीय सांसद बनेका छन् । त्यस्तै प्रदेशसभा प्रत्यक्षतर्फ निर्वाचित नेकाका भूमिप्रसाद राजवंशी र एमालेका छविलाल चुडाल बाहेक समानुपातिकतर्फ कांग्रेसका मोहन महर्जन, राप्रपाकी निमसरी राजवंशी सांसद बनेका छन् । यसरी एउटै निर्वाचन क्षेत्रबाट आठ जनाले प्रतिनिधित्व गर्ने झापा क्षेत्र नं. ३ सम्भवतः पहिलो भाग्यशाली क्षेत्र हुनसक्छ । संसदको भूमिका, जिम्मेवारी र क्षेत्राधिकार भनेकै नीति–निर्माण गर्ने भएकाले भिन्न विचार, सिद्धान्त र दल भएर पनि क्षेत्रको समृद्धिका लागि सहकार्य हुन सक्यो भने विकासमा पछि परेको क्षेत्रले काँचुली फेर्न सक्छ ।
हुन त ‘बिरालो धेरै भए भने मुसा मार्दैनन्’ भन्ने भनाइ पनि नेपाली जीवन व्यावहारिकसिद्ध तथ्य हो । त्यसअर्थमा एउटै क्षेत्रको प्रतिनिधित्व गर्ने यो ठूलो संख्याले पनि निरन्तरको प्रक्रियाभन्दा भिन्न उपलब्धी दिन सक्दैन भन्ने नै बुझ्नुपर्छ । यो बुझाइ र भनाइलाई असत्य साबित गर्ने दायित्व यिनै सांसदहरुको हुनेछ । यसलाई ठूलो अवसरका रुपमा उपयोग गर्न सकियो भने, दलीय स्वार्थभन्दा माथि उठेर सामाजिक स्वार्थलाई आत्मसात गर्न सकियो भने त्यही क्षेत्रका लागि वरदान हुनेछ । वास्तवमा राजनीति भनेकै समाजसेवा हो, पेशा वा व्यवसाय होइन, त्यसैले क्षेत्र नं. ३ का तर्फबाट सांसद भएका सबै ‘मुसा मार्न’ सफल हुनुपर्छ । त्यहाँका सबै समस्याको समाधानमा उनीहरुको सद्भावपूर्ण सहकार्य हुनुपर्छ ।



























