झापा। 
झापा गाउँपालिकाले कृषकका लागि खेतखेतमै विद्युत् सेवा पु¥याउने अभियानलाई तीव्रता दिएको छ ।
सबै किसानलाई सिँचाइ पहुँच पु¥याउँदै उत्पादन बढाउने उद्देश्यले खेत–खेतमा बिजुली पु¥याउने अभियान शुरु गरिएको थियो । सो अभियान अन्तरगत एक सय कृषकका खेतमा गत वर्ष र यो वर्ष थप एक सय ५० कृषकका खेतमा विद्युत् सेवा पु¥याउन लागेको गाउँपालिका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।
पालिकाले सिँचाइ गर्दा खपत हुने बिजुलीको बिल र विद्युतीय उपकरणको आधा लागत रकम अनुदानमा उपलब्ध गराउँदै आएको अध्यक्ष साहले बताए । किसानलाई ट्युबवेल तथा मोटर खरिदका लागि ५० प्रतिशत अनुदान दिँदै आएका छौं –अध्यक्ष साहले भने । यस क्षेत्रका किसानले धान, मकै, तोरी, गहुँ र विभिन्न तरकारी खेती गर्दै आएका छन् । विगतमा आफूलाई खान पुग्ने मात्र अन्न उत्पादन गर्दै आएका स्थानीयवासी पालिकाले अनुदान दिन थालेपछि व्यावसायिक तरकारी खेतीमा जुटेका छन् ।
पालिकाले चालु आर्थिक वर्षमा किसानको खेत–खेतमा बिजुली पु¥याउने परियोजनाका लागि सात सयवटा बिजुलीका पोल खरिद गरिसकेको छ । अनुदान पाएपछि एकातिर पानी तान्ने ट्युबवेल र मोटर खरिदमा किसानको लागत कम भएको छ भने अर्कातिर उत्पादनमा वृद्धि भएको छ ।
पालिकाका अध्यक्ष साहका अनुसार कम्तीमा चार बिगाह जमिन बराबर एउटा ट्युबवेल र मोटर खरिदमा अनुदान दिइने व्यवस्था छ । बिजुलीको पोल पु¥याउन किसानले कुनै खर्च व्यहोर्नु पर्दैन । थोरै जमिन भएका चारदेखि छ जनासम्मको समूह बनाएर किसान यो सुविधा लिन पालिकामा आउने गरेका छन् ।
झापा गाउँपालिका वडा नं २ का ५५ वर्षीय किसान सहनी राजवंशीले खेतमा बिजुली पुगेपछि व्यावसायिक तरकारी खेती शुरु गरेको बताए । उनको खेतीमा अहिले भण्टा, काउलीलगायतको तरकारी बाली फस्टाइरहेको छ ।
हामी किसानलाई पनि सरकारले खेती गर्न अनुदान दिँदोरहेछ भन्ने यसअघि थाहा थिएन– उनले पालिकाले दिएको सुविधाको प्रशंसा गर्दै भने । ट्युबवेलबाट पानी निकालेर सिँचाइ गर्न पाएका छौँ । तरकारी खेती राम्रो भएको छ । पाँच वर्ष अघिसम्म घरमा बिजुली बाल्न नपाएका किसान खेतमै बिजुली पुगेपछि दङ्ग छन्– सहनीले भने ।
पालिकाको अध्यक्षमा साह दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पहिलो कार्यकालमै उनले किसानलाई अनुदान कार्यक्रमको थालनी गरेका थिए । उनले पालिकाभित्रका वास्तविक किसानको पहिचान गरी परिचयपत्र वितरणका लागि समेत तयारी पूरा भइसकेको जानकारी दिए ।






























